डुडुवामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण शुरु

डुडुवामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण शुरु

रजनी योगी

बाँके ३०, पुस

 बाँके डुडुवा गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा कम्बल (व्लान्केट) र च्यवनप्राश वितरण गर्न शुरु गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गर्नुभयो । 

अध्यक्ष चौधरीले अहिले चिसो मौसममा उक्त न्यानो कपडाले मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको भन्दै अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो । गाउँपालिकाले अहिले जेष्ठ नागरिकका लागि छुट्टै १५ सैययाको अस्पताल संचालनको तयारी गरेकाले स्वास्थ्य सम्वन्धी सम्पूर्ण उपचारको व्यवस्था गरिने बताउनुभयो । 

गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई न्यानो कपडा कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो । 

१ सय ५० जनालाई उक्त कम्बल वितरण गरिएको छ । हिडडुल गर्न नसक्ने जेष्ठ नागरिकहरुलाई गाउँपालिकाले सवारी साधनको प्रयोग गरि घरबाटै ल्याउने लैजाने समेत व्यवस्था गरेको छ ।  

 चिसो र शितलहरका बेला अहिले बालबालिका, जेष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन । चिसोलाई मध्यनजर गर्दै डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको हो ।