जोखिममा पशु बिमाको साथले किसान ढुक्क

जोखिममा पशु बिमाको साथले किसान ढुक्क

गोठका गाई भैँसी बाख्रा कुखुरा मर्दा किसानको मनभरि पीडा त हुन्थ्यो नै साथमा घाटा, रिन र पिरले परिवारै थिलथिलो हुन्थ्यो । अझ जग्गा धितो राखेर रिन काढेको छ भने त परिवारको सडकमा बास हुन बेर लाग्दैन । सास वा ज्यान भएको गाईबस्तु पाल्दाको जोखिम वा घाटामा किसानलाई साथ दिने बिमा सबैले मन पराउँछन् तर रकम भुक्तानीको झन्झटिलो प्रक्रियामा सुधार आवश्यक छ ।

थोपाल खोला किनारको गाउँ, धादिङको सिद्धलेक गाउँपालिकाका किसान समय घले कहिले खोरका बाख्रा मर्ने त कहिले गोठका भैँसी मर्ने अनि घाटा सहनु पर्ने समस्याबाट वर्षौँदेखि आजित हुनुहुन्थ्यो । मरेका भैँसी बाख्रा कुखुरा खाल्डो खनेर गाड्नुपर्दा रिन गरेको पैसाको साउँ समेत नासिन्थ्यो र त्यस्तो घाटा पूर्ति गर्न धेरै महिना कहिले त वर्षौँ पनि लाग्थ्यो । तर अहिले समय घले ढुक्क हुनुहुन्छ किनकि आफूले पालेका पशुपन्छी मर्‍यो भने अब उहाँले बिमा रकम पाउनुहुनेछ ।

सङ्करवीर घले पशुपालन फार्मका सञ्चालक सुनिता घले भन्नुहुन्छ “बिमा नगरेको बेला ६० हजारको एउटा भैँसी मर्‍यो, परिवारको आर्थिक जग एक्कासि भत्कियो, सबै कुरा गुमाएको महसुस भयो, भैँसीको दूध बेचेर आउने कमाई, परिवारको सहारा सबै सिद्धियो, अहिले पशु बिमाले राहत र सन्तुष्टि दुवै दिइरहेको छ ।”

लाख रुपैयाँ रिन गरेर किसानले किनेको भैँसी अचानक रोग लागेर मर्‍यो वा दशौँ हजार रुपैयाँका खसी, बाख्रा, कुखुरा रोग लागेर मरे वा जङ्गली जनावरले खाइदियो भने किसान एकै रातमा घर खेत विहीन हुने जोखिम थियो । किसानको यस्तो समस्या समाधानको एउटा उपायको रूपमा रेडियो कार्यक्रम साझा बोलीले कृषि तथा पशुपन्छी बिमाको विषय उठान गर्‍यो । रेडियो धादिङबाट प्रसारण भएको साझा बोलीमा उठेको कृषि बिमाको विषयमा गाउँघरमा चर्चा हुन थाल्यो । 

घरपालुवा पशु मर्दाको घाटा बेहोरेका किसान नेपालका हरेक गाउँमा छन् । साझा बोलीमा छलफल भएको पशुपन्छी बिमाको विषयले धादिङको सिद्धलेकका सबैको ध्यान खिच्यो । साझा बोलीमा छलफल भएका विषयमा समुदाय स्तरमा थप छलफल गर्न सिद्धलेकको जलेश्वरी श्रोता समूह अघि सर्‍यो । कृषि तथा पशुपन्छी बिमाको आवश्यकताको विषयमा गाउँका सबैको एकमत भयो ।

रेडियो कार्यक्रम र श्रोता समूहको सक्रियता 

पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गतका सामुदायिक सञ्चारकर्मीले कृषि, स्वास्थ्य, शिक्षा र प्रकोप व्यवस्थापनको बारेमा समुदायमा के अप्ठ्यारो छ भनेर विषयहरू खोजी गरी रहन्छन् । यस्तैमा धादिङ जिल्लामा कार्यरत सामुदायिक सञ्चारकर्मी पत्रकार सरिता श्रेष्ठले कृषि बिमाको महत्त्व र आवश्यकताको विषयमा रेडियो कार्यक्रममा विषय उठान गर्नुभयो ।  

सामुदायिक सञ्चारकर्मी सरिता भन्नुहुन्छ “कृषि बिमा पशुपन्छी बिमाको बारेमा रेडियोबाट सुनेपछि श्रोता समूहले समुदायमा छलफल गर्‍यो र समुदायका सबैलाई समेटेर गाउँपालिकामा बिमाको माग गर्न जानुभयो । किनकि वर्षको एक दुई वटा पशु मरेर घाटा नसहेका किसान गाउँमा पाउनै गारो छ । अर्थात् यो विषयलाई किसानले आफ्नो विषय सम्झेर तुरुन्तै सक्रिय भइहाले ।” सरिता भन्नुहुन्छ समुदायले कृषि बिमाको माग गरेको विषयमा जिल्लाका अन्य सञ्चारमाध्यमले पनि समाचार तथा रेडियो कार्यक्रमका लागि विषय बनाए ।

हुन पनि श्रोताको सक्रियता चाहलाग्दो नै थियो किनकि रेडियोमा विषय उठाएको ६ महिना पनि नहुँदै सिद्धलेक गाउँपालिकामा कृषि तथा पशु बिमा कार्यक्रम लागु भयो । निर्वाचित जनप्रतिनिधि, किसान र समुदायका अगुवा सबैले कृषि बिमा लागु गर्न राम्रो भूमिका खेले । 

जलेश्वरी श्रोता समूह सहजकर्ता ज्ञानु घले उतिखेरको समूहको सक्रियता सम्झँदै भन्नुहुन्छ “कार्यक्रमको त्यो भाग सुनेपछि, हामीले खुसी हुँदै छलफल गर्‍यौँ, त्यसपछि गाउँपालिकासँग छलफल भयो र गाउँपालिकाले बिमा कार्यान्वयन गर्न सजिलै स्वीकार गर्‍यो। बिमा लागु भएपछि हाम्रो श्रोता समूह र मलाई पनि सबैले धन्यवाद दिए । सबै खुसी भए ।”

किसान पशु पालकको लगानी सुरक्षित गर्न र विभिन्न रोग वा दुर्घटनाबाट पशुपक्षीको मृत्यु वा सम्भावित नोक्सान रोक्नका लागि बिमा निकै उपयोगी मानिन्छ । तीन वर्ष भयो सिद्धलेकमा पशु बिमा कार्यक्रम लागु भएको । यो बिमाका लागि गाउँपालिकाले ५० प्रतिशत भुक्तानीमा अनुदान दिइरहेको सिद्धलेक गाउँपालिकाका कार्यकारी अधिकृत नन्दलाल शर्मा बताउनुहुन्छ । 

बिमाले जोखिम कम कृषि कर्ममा उत्साह

कुनै बेला एउटा भैँसी मर्दा रिनमा डुब्नुपर्ने अवस्थाकी सुनिता घलेले अहिले पशुपालन फार्म नै सञ्चालन गर्नुभएको छ । ३ वटा गाई र १ भैँसी प्रत्येकको रु १३०० तिरेर बिमा गर्नुभएको सुनिताले अहिले दैनिक २२ लिटर दूध बेच्नुहुन्छ र महिनाको लगभग ४५ हजार रुपैयाँ कमाउनुहुन्छ । 

सिद्धलेककै ४५ बर्सिया लक्ष्मीमाया घलेको गएको वर्ष बाख्रा हरायो । लक्ष्मीमायाको बाख्रा र पाठोलाई जङ्गली जनावरले बेपत्ता पारेपछि रु ५००० क्षतिपूर्ति पाएर उहाँ खुसी हुनुहुन्छ । अहिले लक्ष्मीमायाले सात वटा बाख्राको बिमा गर्नुभएको छ र प्रत्येक बाख्राको रु १४५ बिमा प्रिमियम तिर्दै आउनुभएको छ ।

“चार वर्षअघि एउटा बाख्रा र त्यसको पाठोलाई जङ्गलमा चरिरहँदा बाघले तानेको थियो । बिमा कम्पनीले बाख्राको स्पष्ट ट्याग नम्बर सहितको फोटो र भिडियो ल्याउन भन्यो । हामीले सबै कागजातहरू बनायौँ, र उनीहरूले क्षतिपूर्ति रकम उपलब्ध गराए ।” लक्ष्मीमाया भन्नुहुन्छ बिमाले गाई, भैँसी बाख्रा पाल्ने साना किसानलाई प्रोत्साहन मिलिरहेको छ । 

सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा ३५ लाख रुपैयाँ पशुपक्षी बिमामा खर्च गर्‍यो भने आर्थिक वर्ष २०७७/७८ मा २५ लाख रुपैयाँ खर्च गरेको छ । सिद्धलेक गाउँपालिकाका कार्यकारी अधिकृत नन्दलाल शर्मा भन्नुहुन्छ  “रेडियो श्रोता समूहको आग्रहमा सुरु भएको पशु बिमा कार्यक्रम अन्तर्गत हाल पालिकाका अधिकांश कृषकले बिमाका लागि आफ्ना पशुहरू दर्ता गराएका छन् । पालिकाले किसानका लागि गरेका राम्रा कामहरू मध्ये यो पनि एक हो”

नेपालमा पशुपक्षी बिमाको अवस्था

नेपालमा बिमा ऐन आएको २०४९ सालमै हो  तर बिमा ऐन आएको २० वर्ष पनि अर्थात् २०६९ सालमा बिमा बोर्डले बाली तथा पशुपक्षी बिमा निर्देशन जारी गरेपछि पशुपक्षी बिमाको अवधारणाले मान्यता पाएको हो । बिमा निर्देशनमा सहकारी र लघुवित्त मार्फत पशुपक्षी ऋण र साना किसानलाई ऋण ग्यारेन्टीको प्रावधान गरिएको छ । 

बिमा बोर्डले २०७७ सालमा कृषि तथा पशुपन्छी बिमा निर्देशिका जारी गरेसँगै बिमा थप व्यवस्थित हुँदै गएको छ । बिमा बोर्डको दुई वर्ष अघिको प्रतिवेदनका अनुसार पशुपक्षी क्षेत्रले कृषि बिमा बजारको ७५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ। 

पशुपक्षी बिमामा त्यसको मूल्याङ्कन महत्त्वपूर्ण चरण हो जसलाई बजार मूल्यको आधारमा निर्धारण गरिन्छ । हाल दुई दर्जन निर्जीवन बिमा कम्पनीले पशुपक्षी बिमा गरिरहेका छन् ।

पशुपालन नेपाली गाउँघरका मानिसको जीविकोपार्जनको आधार हो । साना किसानका लागि पशुपालन अनिवार्य हुन्छ । बिमाले पशु पालक साना किसानको जोखिम कम गर्छ सम्भावित घाटाको आपूर्तिमा योगदान दिन्छ । सिद्धलेक गाउँपालिकाका अधिकांश कृषक पशु बिमाको महत्त्वबारे जानकार छन् र अधिकांशले आफ्नो गाईबस्तुको बिमा पनि गरेका छन् । तर अझै पनि पशुपन्छी बिमाका विषयमा सुदूर नेपालका गाउँहरूमा चेतना जगाउने काम बाँकी नै छ । बिमालाई अपनाउन, बिमाको अर्थ र यससँग सम्बन्धित प्रक्रियाबारे सबै नेपाली कृषकमा चेतना पुग्न जरुरी छ ।

- सीएसम्याप, धादिङ

- Mero Report