चेतनाको स्तरले गर्दा मद बदर हुने समस्या छ: निर्वाचन अधिकारी अवस्थी

चेतनाको स्तरले गर्दा मद बदर हुने समस्या छ: निर्वाचन अधिकारी अवस्थी 

रेडियो अमरगढी डडेलधुराले उत्पादन गर्दै आएको साझा बोली रेडियो बहस कार्यक्रमको उन्नाइसौँ अङ्कमा डडेलधुरा जिल्लाका निर्वाचन अधिकारी करुणाकर अवस्था, महिला अधिकारकर्मी आरती जोशी र पत्रकार राकेश दयालसँग आसन्न निर्वाचनका लागि मतदाता शिक्षा र समावेशी सहभागीताका विषयमा छलफल भयो । 

सरकारले वैशाख ३० गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै अहिले चुनावी चहलपहल बढ्दो छ । कतिपय स्थानमा चुनावमा जान बहालबाला जनप्रतिनिधिलाई नै अघि सारिएको छ भने कतिपय ठाउँमा उम्मेद्धारको ठुँगो लगाउने काम भइरहेको छ । 

तर अझै पनि नागरिकहरू भने आफ्नो मताधिकारको प्रयोग गर्न नै गर्न नजान्ने अवस्थामा छन् विशेष गरी सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकहरूले यो समस्या झेली रहेका छन् । मतदाता शिक्षाको बारेमा जानकारी नहुँदा उनीहरू यो समस्या खेपिरहेका छन् । जसले उनीहरूबाट मत बदर हुने गर्छ ।  

उता डडेलधुरा जिल्लाका निर्वाचन अधिकारी करुणाकर अवस्थीले भने अशिक्षित र चेतनाको स्तरले गर्दा यस्ता समस्या देखिएको बताए । उनले विगतको तुलनामा यो समयमा मत बदर हुने क्रम घट्दै गएको जानकारी दिए । उमेर पुगेकाहरूबाट यो समस्या बढी आउने गरेको उनको भनाई छ । 

कार्यक्रममै महिला अधिकारकर्मी आरती जोशीले निर्वाचनमा समावेशितालाई पनि प्राथमिकतामा राख्नु पर्ने बताइन । पत्रकार राकेश दयालले यो समयमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने भएकाले सञ्चार जगतबाट सक्दो सही सूचना दिन पहल गर्ने बताए ।  

कार्यक्रमको निचोडमा पुग्दै सहभागीहरूले निर्वाचनको समयमा मतहरू बदर हुन नदिन मतदाता शिक्षालाई प्रभावकारी बनाएर लैजाने निष्कर्ष निकालेका छन् । भने समावेशी सहभागितालाई सँगसँगै लैजानु पर्ने बताए । 

- Mero Report