घोडाघोडी नगरपालिका द्वारा सुखड बजार अनुगमन

घोडाघोडी नगरपालिका द्वारा सुखड बजार अनुगमन

असोज १९ सुखड । कैलालीको  घोडाघोडी नगरपालिकाले सुखड बजारमा अनुगमन गरिएको छ । बजार भित्रका किराना पसल र दूध डेरी पसलहरूको अनुगमन गरिएको हो । नगरपालिकाका उप प्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक प्रेम कुमारी थापा नेतृत्वको अनुगमन टोलीले मङ्गलवार सुखड बजारको अनुगमन गरेको छ ।

नगरपालिका भित्र रहेका विभिन्न निकायका प्रतिनिधिहरू सहितको अनुगमन टोलीले सुखड बजारमा सञ्चालनमा रहेका पसलहरु अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा दर्ता भए नभएको दर्ता भए हाल सम्म कर तिरेको वा नतिरेको र दैनिक उपभोग्य बस्तुहरूको मिति गुज्रेका कुराहरू मापदण्ड बनाएर बजार अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । अनुगमनको क्रममा एक पसल बाट दुई वटा म्याद नाघेको चाउँ चाउँ भेटिएको उद्योग विकाश शाखाका प्रमुख उत्तम कुँवरले बताए । अन्य १५ वटा पसलहरूमा अनुगमन गर्दा त्यस्तो कुनै चिज नभेटिएको बताईएको छ । 

उक्त सामान बरामद गर्नुको साथै पहिलो पटक सम्झाई बुझाई चेतावनी स्वरूप छोडिएको र पसलहरूमा फेरि पनि अनुगमन गर्दा पुन गल्ती दोहोरेको पाइएमा कारबाही गरिने संयोजक प्रेम कुमारी थापाले बताउनु भयो । कोरोनाका कारण लामो समय देखी बन्द रहेका बजारहरू बिस्तारै खुल्न थालेको र चार्ड पर्वमा सामानहरूको किनबेच बढी हुने भएकाले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर बजार क्षेत्रमा रहेका पसलहरूमा अनुगमन सुरु गरिएको उनले बताए । 

घोडाघोडी नगरपालिका उप प्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक प्रेम कुमारी थापाले नगरपालिका वाट नियमित अनुगमन गर्ने योजना बनाए पनि विविध कारणले हुन नसकेको बताउनु भयो । उनले कोरोना कहरका कारण लामो समय देखी पसल बन्द हुँदा समस्यामा रहेका व्यापारीहरूलाई यो बेला सुझाव सल्लाह सहित आफू पनि ताजा खाने कुराहरू प्रयोग गरौँ र आम उपभोक्ताहरूलाई पनि ताजा खानेकुराहरू बिक्री वितरण गरौँ भन्ने सन्देश सहित बजारमा अनुगमन गरिएको जानकारी दिनु भयो ।

चार्ड पर्वको बेला मात्रै अनुगमन हुन्छ भन्ने नभई अन्य समयमा अनुगमन गरिने ती गल्तीहरू फेरि पनि भेटिएमा कानुन अनुसार कारबाही गरिने उनको भनाई छ । अनुगमनमा घोडाघोडी उद्योग संघका अध्यक्ष जिया लाल आचार्य, इलाका प्रहरी कार्यालय सुखडका प्रतिनिधि, कृषि शाखा प्रमुख जनक सिंह धामी, पशु शाखा प्रमुख छत्रा न्यूरे लगायतको सहभागिता रहेको थियो । बजार अनुगमनलाई  निरन्तरता दिने बताईएको छ ।