कोभिड विरुद्ध खोपः डडेल्धुरामा सरकारी लक्ष्य पुरा, लक्षित सम्म पुगेन

कोभिड विरुद्ध खोपः डडेल्धुरामा सरकारी लक्ष्य पुरा, लक्षित सम्म पुगेन

डडेल्धुरा । कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम अन्तरगत डडेल्धुरामा सरकारले लिएको लक्ष्य पुरा भएको छ । विश्वव्यापी रुपमा फैलिईरहेको महामारी कोभिड–१९ बिरुद्ध गत वर्ष माघ १४ गते देखि शुरु गरिएको खोप अभियानमा चालु आर्थिक वर्षको पौष अन्तिम साता सम्म ६७ प्रतिशत जनताले खोप लगाएका छन ।

शुरुमा कोरोना महामारी नियन्त्रण रोकथाम तथा उद्दार राहत तथा व्यवस्थापन सहयोग र उपचारको लागि अग्रपंक्तिमा खटिने, प्राथमिकताका आधारमा बिभिन्न नागरिकलाई खोप लगाईएको थियो । त्यस पछि १८ वर्ष माथी उमेर अनुसार खोप लगाए पछि जम्मा खोप लगाउनु पर्ने जनसंख्या १ लाख ५ हजार २ सय ९० थियो । यस मध्ये ७० हजार ५३ जनाले अर्थात ६७ प्रतिशत नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

जसमध्ये डडेल्धुराको लक्षित जनसंख्या सम्ममा खोप नपुगे पनि ६० प्रतिशत अथवा ५२ हजार ५ सय ७५जनाले पूर्ण खोप र बाँकी एकल डोज मात्र खोप लगाएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर विमला ज्ञवालीले जानकारी दिए ।

सरकारले पौष मसान्त सम्म ६६ प्रतिशत मात्रामा खोप लगाई सक्ने लक्ष्य रहेकोमा डडेल्धुरामा ६७ प्रतिशत पुगेको छ । तर कोरोनाको तेस्रो लहर ओमिक्रोन फैलिईरहेका बेला अझै सबै नागरिक खोपको पहुँचमा पुग्न सकिरहेका छैनन् ।
खोप लगाउनै नमान्ने प्रवृतिका कारण लक्षित जनसंख्या अनुसार खोपको मात्रा नपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।