कोपिलाको काखमा टोपबहादुरको साथ

कोपिलाको काखमा टोपबहादुरको साथ

जगतदल जनाला विक सुर्खेत

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार। बाक्लो बस्ती, सवारी साधनको चहलपहल पनि उत्तिकै। २० मिनेटको मोटरसाइकल यात्रापछि पुगिन्छ, वीरेन्द्रनगर १, त्रिपुरेश्वर स्थित धारापानी। हरियाली, सुनसान मनै लोभ्याउने बाँस, माटो र ढुङ्गाबाट बनेका आकर्षक घरहरूले त्यहाँ जाने सबैको मन लोभ्याउँछ। यस्तो मन लोभ्याउने ठाउँमा छ कोपिला भ्याली स्कुल। कोपिला भ्यालीमा आमा–बुबा दुवै नभएका र दुईमध्ये एक नभएका बालबालिका अध्ययन गर्छन्। 

यो विद्यालयमा आमा–बुबा नभएका ३४ जना बालबालिकाले अध्ययन गरिरहेका छन्। जसमध्ये १२ जना बालक र २२ जना बालिका छन्।

विदेशी विज्ञहरूबाट डिजाइन गरी स्थानीय माटो, ग्राभेल बालुवा, ढुङ्गा र २ प्रतिशत सिमेन्टको प्रयोगमा भूकम्प प्रतिरोधात्मक भवनमा स्कुल रहेका छन्। चितवनबाट ६० वर्षसम्म टिक्न सक्ने बाँसको प्रयोगले भवनहरूलाई आकर्षक देखाएको छ। मौसम अनुसार फरक–फरक विशेषताले पढाइमा सहजता हुन्छ।

नेपाल र अमेरिकामामा दर्ता संस्था विलिन्कनाओ फाउण्डेसनमार्फत विदेशका विभिन्न सङ्घसंस्थाबाट सहयोग संकलन गरेर विद्यालयको व्यवस्थापन कोपिला भ्याली सेवा समाजले गरेको समाजका अध्यक्ष टोपबहादुर मल्लले बताए। 

‘३४ जना बालबालिका त यतै बसेर पढ्ने गरेका छन्। घरबाट आउने विद्यार्थीका लागि पनि बिहानको खाना र दिउँसोको खाजा खुवाउँछौँ’, अध्यक्ष मल्लले भने, ‘बालगृहमै बसेर अध्ययन गर्ने बालबालिकालाई सबै खर्च विद्यालयले नै गर्छ।’

सोलारबाट खाना र तीन लाख लिटर रिसाइक्लिन पिउने पानीको व्यवस्था, बालमैत्री, अपाङ्गमैत्री  संरचना, चारैतिर हरियाली वातावरणको व्यवस्था गरिएको छ।

यहाँ पढ्ने हरेक विद्यार्थीको बैङ्क खाता अनिवार्य खोल्नुपर्ने नियम छ। त्यो खातामा विद्यालयले १० हजार जम्मा गरिदिन्छ। कक्षा १२ पास गरेपछि सर्टिफिकेट देखाएर बैङ्कले ब्याज–सावाँसहित रकम भुक्तानी गरिदिन्छ। यदि उसलाई पहिल्यै आवश्यक परे विद्यालय र अभिभावकको सिफारिसमा रकम झिक्न पाउने व्यवस्था गरिएको छ।

विद्यार्थीका लागि उच्च शिक्षा, वैदेशिक शिक्षामा छात्रवृत्ति पाउने व्यवस्था,  समस्यामा परेका किशोरीहरू केन्द्रित कार्यक्रम, निम्न आय–आर्जन भएका अभिभावकलाई आय–आर्जनका कार्यक्रम, आत्मनिर्भर सम्बन्धी कार्यक्रम विद्यालयमा लागू छन्। 

विद्यार्थीले एसइई पास गरेपछि रुचि र प्राप्त अङ्कको आधारमा उसलाई विषयहरू पढ्न लगाइन्छ। 

यो विद्यालयमा अध्ययन गर्नका लागि प्रत्येक वर्ष आमा–बुबा या कुनै एक नभएका पाँच वर्षमुनिका ३० जना बालबालिकालाई भर्ना लिइन्छ। धेरै छोरी भएर वा गरिबीका कारण पढ्न नपाएका बालिकाहरूलाई पनि यस स्कुलमा पढ्नलाई प्रोत्साहन गरिन्छ। अहिले कक्षा नर्सरीदेखि १२ कक्षासम्म चार सय १२ जना विद्यार्थी छन्।

ती बालबालिका पढाउन ३५ जना शिक्षक–शिक्षिका छन् भने अन्य कर्मचारी पनि ३५ जना छन्।

यसरी अभिभावकविहीन बालबालिकालाई कोपिला भ्याली सेवा समाजको काख त छँदै छ, टोपबहादुर मल्लको पनि साथ पनि त्यत्तिकै छ। 

२०५१ सालमा टोपबहादुर भारतको ऋषीकेशमा सामान्य मजदुरी गर्न गएका थिए। काम गर्दै जाँदा २०५२ सालमा सडकमा गिट्टी कुट्ने, घरेलु काम गर्ने, बुबा–आमा नभएका अनाथ नेपाली बालबालिका शिक्षा सम्बन्धी काम गर्ने संस्था रमन गार्डमा म्यानेजरको रूपमा काम गर्ने अवसर पाए।

रमन गार्डले ऋषिकेशका १७ वटा विद्यालयमा सहयोग गर्‍थ्यो। त्यो बेला अमेरिकाबाट म्यागी डोइनले रमजागरण संस्थामा स्वयंसेवकका रूपमा दुई वर्षसम्म काम गरिन्। एक दिन मल्ललाई म्यागीले सोधिन्, ‘नेपाली बालबालिका यस्तो अवस्थामा किन छाड्नु उनीहरुको खास समस्या के हो र?’

मल्लले नेपालमा गरिबी र अशिक्षा धेरै भएका कारण बालबालिका समस्यामा परेको बताए। नेपाल गएपछि अझ ठुलो सङ्ख्यामा यस्ता बालबालिका देखेर उनले  म्यागीलाई भ्रमणका लागि निम्तो गरे।

उनको निम्तोलाई स्वीकार गरेर म्यागी पनि नेपाल आएर कर्णालीका बालबालिकाको विषयमा अध्ययन गरिन्। अवस्था एकदमै दयनीय देखिन्।  त्यसपछि म्यागी र मल्ले २०६४ सालमा कोपिला भ्याली सेवा समाज नामक संस्था दर्ता गराए। 

त्यस बेला मल्लको सुर्खेतमा एक कट्टा जग्गा थियो। त्यही जग्गामा बाँसले बारेर कोपिला भ्याली समाजको कार्यालय र त्यसअन्तर्गतको विद्यालय, बालगृह स्थापना गरेर चलाएका थिए। त्यस बेला मल्लले १२ लाख रुपैयाँ लगानी गरेका थिए। केही रकम म्यागीले पनि लगानी गरेकी थिइन्। अहिले विद्यालयको आफ्नै जग्गामा भवन र संरचना बनेका छन्।

संस्थाले आमा–बुबा नभएका, गरिब, असहाय, अपाङ्ग, धेरै छोरीहरू भएर पढ्न नसकेका बालिका र सडक बालबालिका गरी ३५ जनालाई भर्ना गराएर विद्यालयको सुरुवात गर्‍यो।

विद्यालयमा आवश्यक स्रोत सामग्रीहरूको अभाव थियो। बाँसले बारिएको विद्यालयमा अध्ययन गराइन्थ्यो। विद्यालयसँग आफ्नो स्रोत–साधन थिएन।

सन् २०१५ म्यागी सिएन एन हिरो घोषणा भएपछि त्यसबाट पाएको रकमले उनले विकट ठाउँका बालबालिकालाई शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यले कालिकोटमा विद्यालय खोल्ने योजना थियो। यातायात, विद्युत् र सुरक्षाका हिसाबले त्यहाँ बनाउन नसकिने भएपछि त्यो रकम सुर्खेतको कोपिला भ्यालीमा नै लगानी गरियो। अहिले म्यागी र मल्ल दुवै जना कोपिला भ्यालीका फाउन्डर छन्। यही स्कुलबाट पाँच वटा ब्याचले एसइई दिइसकेको छ। ६ जना विद्यार्थी छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकामा छन् भने करिब सयको हाराहारीमा विद्यार्थी स्वदेशका विभिन्न सहरमा अध्ययन गरिरहेका छन्।

- Mero Report