कैलालीको घोडाघोडीमा रिफ्रेस सेन्टरको उद्घाटन

कैलालीको घोडाघोडीमा रिफ्रेस सेन्टरको उद्घाटन

२९ पुस,सुखड । कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानिमा रिफ्रेस सेन्टरको उद्घाटन गरिएको छ । सुदूर पश्चिम प्रदेशका प्रहरी प्रमुख  प्रहरी नायव महानिरीक्षक (डिआईजी) पुरुषोत्तम कँडेल एक कार्यक्रमका बिच रिफ्रेस सेन्टरको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै उनले लगातार गाडी हाँक्नाले चालकको स्वास्थ्यमा असर पर्ने र यसले दुर्घटना पनि बढाउन सकिने भएकाले यी दुबैलाई यो सेन्टरले घटाउने विश्वास व्यक्त गरेका छन् ।

जिल्ला बाहिर जाने लामो तथा छोटो दुरीका सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न निर्माण गरिएको रिफ्रेस सेन्टरको उद्घाटन गरिएको हो ।  लामो दूरीका गाडी केही बेर रोक्न लगाई पानी र चिया खुवाएर रिफ्रेस बनाउने उद्देश्यका साथ यो सेन्टरको स्थापना गरिएको सुदूर पश्चिम प्रदेशका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक(एसपी) वामदेव गौतमले जानकारी दिए ।

भौगोलिक अवस्था र सडक साँघुरो भएका कारण सवारी चालकलाई बढी थकान लाग्ने र उक्त क्षेत्रमा धेरै पटक सवारी दुर्घटना हुने भएकाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत साडेपानीमा रिफ्रेस सेन्टर स्थापना गरेको जनाएको छ । बसका चालकसहित यात्रुहरूका लागि पनि दिशा, पिसाब गर्ने व्यवस्था मिलाइएको छ । घोडाघोडी नगरपालिका तथा वडा नं.२ का वडा अध्यक्ष हरिराज बिस्टको सक्रियता तथा सुदूर पश्चिम प्रदेशका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक(एसपी) वामदेव गौतमको पहलमा रिफ्रेस सेन्टर निर्माण गरिएको हो ।  

घोडाघोडी नगरपालिका वडा नं.२ का वडा अध्यक्ष हरिराज बिस्टको सभाध्यक्षमा भएको कार्यक्रममा सुदूर पश्चिम प्रदेशका प्रहरी प्रमुख  प्रहरी नायव महानिरीक्षक (डिआईजी) पुरुषोत्तम कँडेल रहेका थिए । कार्यक्रममा सुदूर पश्चिम प्रदेशका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक(एसपी) वामदेव गौतम र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।