किसानलाई धानको बिउ राख्ने चटारो...

किसानलाई धानको बिउ राख्ने चटारो...

वीरेन्द्र शाह, जेठ १०, सुखड
कैलालीका कृषकहरूलाई धानको बिउ (ब्याड) राख्ने चटारो सुरु भएको छ । बर्खा सिजन सुरु भएकाले अहिले कृषकहरूलाई धानको बिउ (ब्याड) राख्ने चटारो सुरु भएको हो । कतिपय किसानले आकाशे पानी, नहरको पानी र नहर नलाग्ने ठाउँमा स्थानीयले आफ्नै बोरिङबाट पानी लगाएर धानको ब्याड राख्ने काम गरी रहेका छन् ।

जेठ महिनाको पहिलो साता भित्रमा कति पय किसानहरू धानको बिउ (ब्याड) राखी सकेका छन् भने कतिपय राख्ने तयारी गर्दे गरेको घोडाघोडीका–५ का किसान केशव बोहराले बताए । बोरिङको पानी बाट धानको बिउ (ब्याड) आफूले केही दिन अगाडी मात्र राखेको उनले बताए । खडेरी पर्ने महिना भनेर चिनिने जेठमा यो वर्ष भने केही दिन देखी वर्षाले साथ दिएको छ । कतिखेर पानी पर्ला र धानको  ब्याड राख्न पाइएला भनेर प्रतीक्षामा बसेका कृषकहरूले वर्षा भए देखी धमाधम धानको बिउ (ब्याड) राख्न सुरु गरेका छन् ।

नहर र बोरिङको भूमिगत पानी प्रयोग गरेर धानको बिउ (ब्याड) राख्नु पर्ने बाध्यता किसानहरूको रहेको छ । कतिपय भने वर्षाको पानीले नै धानको बीउ राख्ने गरेको उनीहरू बताउँछन् । जेठको पहिलो साता धानको बीउ राखेका किसानहरू असार महिना देखी रोपाइमा व्यस्त हुने गर्दछन् । यता कृषि ज्ञान केन्द्र कैलालीले भने सिफारिस गरिएका धानका जातहरू मात्र लगाउन आग्रह गरेको छ ।

सरकारले विभिन्न जातहरू धानका बीउहरू सिफारिस गरेको हुँदा पालिकाको कृषि शाखा सँग परामर्श लिएर मात्र धानको बीउहरू राख्न कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माले बताए । ग्रामीण क्षेत्रका अधिकांश भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै जोतेर धानको बिउ (ब्याड) राख्ने,रोपाइँ गर्छन् भने कतिपयले आधुनिक कृषि यन्त्रको पनि प्रयोग पनि गर्ने गरेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रका साबिक भजनी, टीकापुर, नारायणपुर ,धनसिंपुर, जानकी नगर, जोशीपुर, बसौटी, पवेरा, हसुलिया लगायत क्षेत्रमा धानको उत्पादन बढी हुने गरेको छ । कृषक आफूलाई आवश्यक पर्ने धान घरमा भण्डार गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्छन् । धान उत्पादनका लागि उर्वर जग्गा रहेको कैलाली जिल्लामा झन्डै ७२ हजार पाँच हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । कैलाली जिल्लामा उत्पादन हुने धान पहाडी जिल्लामा समेत आपूर्ति हुने गरेको छ ।

- Mero Report