काभ्रेको बेथानचोकमा पहिरोले घर पुरिँदा दुईनाको मृत्यु

काभ्रेको बेथानचोकमा पहिरोले घर पुरिँदा दुईनाको मृत्यु

ढुंगाखानीबाट झरेको पहिरोमा घर पुरिँदा काभ्रेको बेथानचोकमा दुई जनाले ज्यान गुमाएका छन् । घटनामा परी अर्का एक जना घाइते भएका छन् । आज बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा बेथानचोक गाउँपालिका वडा नं. ४ चलाल गणेशस्थानका ४४ वर्षका निरबहादुर तामाङ र उनकी ४० वर्षकी बहिनी सावित्री तामाङको ज्यान गएको हो ।

घटनामा परी निरवहादुर र साबित्रीकी आमा ६५ वर्षकी ठूलीमाया भनिने ला ढोल्मा तामाङ घाइते भएकी छन् । उनलाई उपचारका लागि बनेपा ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । घरमाथि रहेको ढुंगा खानी हालैमात्र सञ्चालनमा आएको स्थानीयले बताएका छन् । ढुंगाखानी अवैध हो या वैधानिक हो भन्नेबारे अहिलेसम्म केही खुलिसकेको छैन । पहिरोले कच्ची घर पूर्णरुपमा नष्ट भएको छ । घरभित्र रहेका बाख्रा, कुखुरा पनि पुरिएको स्थानीयले बताएका छन् ।