इँटा बोक्ने हातमा किताब

इँटा बोक्ने हातमा किताब

पाँच वर्षभित्र बालश्रममुक्त बनाउने गाउँपालिकाको रणनीतिक योजना करिब सफल
महेश न्यौपाने, रोल्पा
सोह्र वर्षीया मनीषा पुन जनजागृति माध्यमिक विद्यालय जुगार रोल्पाको कक्षा ७ मा पढ्छिन । अधिकांश  दौतरी प्लस टु अध्ययन गरिरहँदा मनीषालाई भने प्लस टु पुग्न अझै ४ वर्ष कुर्नुपर्ने छ । घरको गरिबीले मनीषाको  निरन्तर पढाइमा साथ दिएन ।  कक्षा ४ मा पढ्दापढ्दै ४ वर्षअघि पैसा कमाउन  काठमाडौं गइन् उनी । काठमाडौंमा उनले बच्चा बोकेर पानी आसार्ने, कपडा धुने, खाना पकाउने र समय समयमा इँटा बोक्नु गर्थिन् । इँटाभट्टा सञ्चालनको समयमा उनले ६ महिना काम गरेर कमाएको ८ हजार रुपैयाँ लिएर घर फर्किइन् । पुनः  सिजन सुरु भएपछि काममा फर्कने गरी घर फर्किएकी मनीषा त्यसपछि काम गर्नकै लागि पुनः काठमाडौं जान नपाउने भइन् । इँटा भट्टा गएका बालबालिकालाई  गाउँपालिकाले फर्काउन सुरु गरेपछि मनीषाको काठमाडौं यात्रा पनि रोकिएको हो । 
काठमाडौं जान नपाएपछि उनले रोल्पाको निगालपानीस्थित एक  होटेलमा काम गर्न थालिन् । होटेलमा भाडा माझ्नु पथ्र्यो । काठमाडौं जान रोकेको गाउँपालिकाले तत्काल जीविकोपार्जनको व्यवस्था नगरिदिपछि परिवारका लागि साँझ–बिहानको जोहो टार्न उनी होटलमा काम गर्न बाध्य भइन् । त्यहाँ उनले ६ महिना काम गरिन् । साथीभाइ किताब बोकेर स्कुल  गएको देख्दा उनको मन भकानिन्थ्यो । मेरा कैयौं रात रोएरै बिते, विगत सम्झँदै मनीषाले भनिन् ।
इँटा भट्टाबाट फर्किएका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने अभियान नै चलेपछि उनी पनि जनजागृति मावि जुँगारको कक्षा ५ मा  भर्ना भइन् । फुपूको घर बसेर पढ्दै गरेकी उनी अहिले निकै खुसी छिन् । अन्धकारबाट उज्यालोतर्फ आएको महसुस भएको छ उनलाई । नेपाल प्रहरीको असई बन्ने धोको छ मनीषाको । पढेर ठूलो मान्छो बन्छु भन्ने साहस आएको उनले बताइन् । विद्यालयले दिने छात्रवृत्तिले जसोतसो खर्च चल्छ, इच्छा लागेको खाने लगाउने त सपना न हो कलम, कापी किन्न  पुगिहाल्छ मनीषाले भनिन् । आमा अपांग, बुवाको २ वर्षअघि मृत्यु भइसकेको मनीषाको दाइ भने रोजगारीमा विदेश गएको लामो समय भए पनि घर फर्केका पनि छैनन् पैसा पनि पठाएका छैनन् ।
मनीषामात्र होइन, त्रिवेणी गाउँपालिकाबाट काठमाडौंका इँटा भट्टाबाट फर्किएका २०५ बालश्रमिकमध्ये १७३ जनालाई विद्यालय भर्ना भएका छन् ।  बालबालिका किन बालश्रममा जान बाध्य छन् भन्ने कुराको सत्यतथ्य पत्ता लगाउन घरधुरी सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा विद्यालय उमेरका २२७ बालबालिका काठमाडौंका विभिन्न इँटाभट्टा र होटेलहरुमा बालश्रमिकका रुपमा रहेको तथ्यांकले देखियो । सर्वेक्षणले अभिभावकको गरिबी  र साथीभाइको देखासिकीका कारण बालश्रममा जाने गरेको परिणामसमेत देखाएको  थियो ।  

काठमाडौं इँटाभट्टामा श्रम गरिरहेका बालबालिकालाई फिर्ता गर्नु फलामको चिउरा चपाउनुजस्तै थियो त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भने । विद्यालय उमेरका ती  बालबालिका फिर्ता गरेर विद्यालय भर्ना गर्ने  मेरो चुनावी प्रतिबद्धता  पनि  थियो अध्यक्ष वली भन्छन् । गाउँपालिकालाई  ५ वर्षभित्र बालश्रममुक्त बनाउने रणनीतिक योजनासमेत तय गरियो । पञ्चवर्षीय रणनीतिक योजनाका साथै गाउँपालिकाले बालबालिकासम्बन्धी विभिन्न ५ वटा कानुनसमेत तर्जुमा गरेको छ । रणनीतिक योजनाबमोजिम सघन कार्यक्रम सञ्चालन गरी गाउँपालिकाले ती बालबालिका फिर्ता गरी विद्यालय भर्ना गर्न सफल  भएको हो  । 
गरिबी र देखासिकीका कारण पढाइ छोडेर इँटाभट्टा जाने प्रवृत्ति बढ्दै गएको थियो । बावुआमा सँगै बालबालिका पनि काठमाडौंका जाने र बालश्रमिकका रुपमा त्यतै काम गर्ने क्रमले निरन्तरता  पाइरहेको थियो । समुदायमा अभिभावक  शिक्षा  कार्यक्रम र  विद्यालयमा बालक्लबहरु गठन गरेर उनीहरुकै अगुवाइमा बालश्रम जान नदिन विभिन्न अभियान सञ्चालन गरिए । समुदायमा  बालश्रममा जान लागेको थाहा पाउने बित्तिकै नजिकको प्रहरीलाई खबर गर्ने संयन्त्रसमेत बन्यो । 
यसरी फर्किएका बालबालिकालाई विद्यालयमा टिकाई राख्न गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थासँग समन्वय गरी शैक्षिक सामग्री, विद्यालय पोशाक सहयोग गरेको थियो । जीविकोपार्जनको  समस्या भोगेर छोराछोरी इँटाभट्टा पठाउन बाध्य परिवारका लागि बाख्रा, कुखुरापालन, तरकारी खेती जस्ता आयआर्जनका काममा  सहयोग ग¥यौं गाउँपालिका अध्यक्ष वलीले भने । गाउँपालिकाले २९ घरधुरीलाई बंगुरपालन, ७४ घरधुरीलाई कुखुरापालन र १२६ घरधुरीलाई बाख्रापालनमा सहयोग  गरेको थियो । 
सीप विकासअन्तर्गत १० जनालाई कपाल काट्ने तालिम, २३ जनालाई हाउस वायरिङ, १५ जनलाई डकर्मी, १० जनालाई सिकर्मी, ९ जनालाई खाजा नास्ता, ९ जनालाई ब्युटीपार्लर, १६ जनालाई सिलाइकटाइ र ४ जनालाई मोटरसाइकल  मर्मत तालिम दिएको थियो । 
त्रिवेणी गाउँपालिका  रोल्पा बालश्रममा गएकामध्ये ८५ प्रतिशत बालबालिका फर्किसकेको त्रिवेणी गाउँपालिका शिक्षा शाखा अधिकृत अमृता बुढाथोकीले जानकारी दिइन् । उनका अनुसार फर्किएकामध्ये अधिकांश विद्यालय भर्नासमेत भएका छन् । शतप्रतिशत उपलब्धि हासिल गर्न गाँउपालिका योजनासहित अघि बढेको बुढाथोकीको भनाइ छ । 
विद्यालय छोडेर बालश्रममा गएकालाई फर्काउने अभियानमा गाउँपालिकाभित्रका विद्यालयले समेत  महत्वपूर्ण योगदान गरेका छन्, जनजागृति मावि जुगारका प्रधानाध्यापक जीवराज भण्डारीको भनाइ छ । अभिभावक सचेतीकरणमा विद्यालयका शिक्षकहरुको भूमिका महत्वपूर्ण रह्यो, प्रअ भण्डारीले भने । बालश्रमबाट फर्किएर विद्यालय भर्ना भएका बालबालिकाका लागी गरिएको शैक्षिक सहयोग र उनीहरुका अभिभावकलाई दिएको आयआर्जन सहयोगले पठनपाठनमा सहयोग गरेको भण्डारीले भने ।
अभियानलाई सफल पार्न गाउँपालिकाभित्रको बालक्लबले समेत महत्वपूर्ण भूमिका खेलेका छन् ।  आफूसँगै पढिरहेका साथी पढाइ छाडेर इँटाभट्टामा गएको सुन्दा नमज्जा लागेपछि  त्यसको रोकथाममा हामीले पनि भूमिका खेल्यौं, पालिकास्तरीय बालक्लबका अध्यक्ष भरत बुढाथोकीले आफ्नो कामबारे सुनाए ।  सबै विद्यालय र गाउँहरुमा बालक्लब गठन गरी बालश्रममा जानेलाई रोक्ने अभियान चलाएको भरतले बताए ।  स्कुले केटाकेटी गाउँ छाड्दै गरेको थाहा पाउनेबित्तिकै नजिकका स्थानीय सरकार र प्रहरी यूनिटलाई खबर गरेर फिर्ता गरेका थियौं, उनी भन्छन् । स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा यसको रोकथाममा धेरै हदसम्म सफल भएको भरतको दाबी छ । पछिल्ला दिनमा भने उनीहरुले इँटाभट्टा जाने साथी रोक्नु परेको छैन । 
फेरि फर्कने चिन्ता
विद्यालय छोडेर इँटाभट्टा जाने त्यहाँको पुरानो चलन हो  । केही विद्यार्थी सधैँका लागि पढाइ त्योगेर काठमाडौं वा  भारततिरै लागे । केही  भने परीक्षा दिनसम्म फर्कन्छन् । इँटाभट्टा  जाने परम्पराजस्तै भएकाले गाउँपालिकाले फिर्ता गरेका फेरि फर्कने हुन् कि भन्ने चिन्ता गर्छन् जनजागृती माविका शिक्षक खुसीराम केसी ।
गाउँपालिका भने पुनः इँटाभट्टा फर्कने अवस्था नआउने दाबी गर्छ । हामीले गाउँपालिकालाई बालश्रम मुक्त बनाउने तयारी गरिहेका छौं, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख हीरा बुढामगरले भनिन् ।
तीन वर्षभित्र कम्तीमा ९० प्रतिशत बालश्रम अन्त्य गर्ने र ५ वर्षभित्र शतप्रतिशत गर्दै गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्ने गाउँपालिकाले रणनीतिक योजनाबमोजिम आगामी मंसिर ४ गते गाउँपालिकालाई बालश्रममुक्त  घोषणा गर्ने तयारी गरिरहेको उनले सुनाइन् । चालू वर्ष देशभरका २०  वटा स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्ने मन्त्रालयको कार्यक्रमभित्र त्रिवेणी पनि परेको छ । जसअनुसार असोजभित्र गाउँपालिकाका ७ वटै वडा र मंसिर ४ गते अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका नै बालश्रममुक्त हुने बुढामगरले जानकारी दिइन् । 
यसरी  फर्किएका  बालबालिकाको  सहयोगका  लागि पालिकाले बालकोषसमेत स्थापना गरेको छ । सो कोषमा ३९ लाख रकम रहेको महिला बालवालिका तथा जेष्ठ  नागरिक शाखाले जनाएको छ । कोषमा हरेक वर्ष गाउँपालिकाले बजेट थप्ने गरेको बुढामगरको भनाइ छ । सो कोषबाट बालबालिकाले अध्ययन गरिरहरेको सम्बन्धित विद्यालय र वडाको सिफारिसका आधारमा प्रतिबालबालिका १० हजार रुपैयाँका दरले सहयोग गरिन्छ । 

- Mero Report

Popular Blogs

All