प्रेम गर्दा समझदारी, बिहेपछि हिंसा किन ?

प्रेम गर्दा समझदारी, बिहेपछि हिंसा किन ?

 

"परिवारका सदस्य, आफन्त, छिमेकी, साथीबाट नव विवाहित जोडीसँग भिन्न-भिन्न अपेक्षा राखिनु स्वाभाविक हो । तर अरूका अपेक्षाहरू पुरा गरेर सबैलाई खुसी पार्न लागिपर्दा आफ्नो वैवाहिक जीवनको रङ्ग उड्ने मात्र होइन,  हिंसाको सुरुवात हुँदोरहेछ । अधिकांश घटनामा पुरुषहरूले बिहे अघिको बाचा बिर्सिएर बेइमानी गरेको देखिन्छ, तर कतिपय महिला पनि कम हुँदैनन् !" 

 

रोशनी र शिशिर लामो समयदेखि प्रेममा थिए । ऊनीहरूबिच दृढ विश्वासका साथ सहमति पनि भएको थियो । एक अर्काको हात समातेर, अँगालो मारेर उनीहरूले कसम खाएका थिए । हुन पनि रोशनी र शिशिरको प्रेम देख्दा धेरैलाई डाहा नै लाग्थ्यो । बैङ्कमा काम गर्ने ह्याण्डसम केटो शिशिर र सीएमए पढेकी राम्री केटी रोशनीको प्रेम देखेर उनीहरूका साथीभाइदेखि छिमेकीसम्मलाई डाहा लाग्थ्यो ।

बिहे गरेको ७ वर्षपछि सन्तान जन्माउने । रोशनीलाई घरबाहिरको काम गर्न दिने । शिशिरले भान्साको काममा सघाउने किनकि रोशनीलाई काँचो मासु छुन पटक्कै मन पर्दैन । ७ वर्ष भित्रमा रोशनीले लोकसेवामा नाम निकालेर सरकारी जागिर खाइसक्ने । शिशिरले पार्टी भोजहरूमा परिवारसँग बसेर बाहेक बेलुका रक्सी नपिउने । चुरोट त तान्दै नतान्ने । यस्तै यस्तै ।

बिहेपछि त आफूले शोचे अनुसारको व्यवहार गर्न सकिहालिन्छ नि भन्ने सोचेर रोशनी र शिशिरले यस्ता अनेकौँ योजना बनाएका थिए । बिहेपछि सुखी, खुसी र उदाहरणीय जीवन बाँच्ने उनीहरूको अपेक्षा थियो र प्रेममा परेका जोडीहरूले यस्तो अपेक्षा राख्नु स्वाभाविक पनि थियो ।

माया गर्दै एक अर्कालाई सम्हाल्दै पार्कहरू घुम्दा वा फिल्म हेर्न जाँदा उनीहरूले आफ्नो इच्छा अनुसारको वैवाहिक जीवनको योजना बनाएका थिए । प्रेम गरुन्जेल उनीहरू हरेक कुरामा आफैँ निर्णय गर्थे अथवा  निर्णय गर्न सक्थे । यस्तैमा परिवारको सहमतिमा झ्याइँ झ्याइँ बाजा बजाएर रोशनी र शिशिरको बिहे भयो ।

तर विवाहपछि रोशनी र शिशिरबाट अरूले धेरै अपेक्षाहरु राख्न थाले । रोशनीले श्रीमानको खुट्टा ढोग्नुपर्ने, चाँडै उठ्नुपर्ने, राति बाहिर निस्कन नहुने, खाना रोशनीले नै पकाउनुपर्ने, उसैले भान्सा सफा गर्नेदेखि भाँडा माझ्नेसम्मका काम गर्नुपर्ने । पढाइ नगर्ने र बिहेपछि रोशनीले चाँडै नै बच्चा जन्माउने । यसरी परिवार र छिमेकबाट अपेक्षाको वर्षा हुन थालेपछि रोशनी उकुसमुकुस भइन् ।

शिशिरबाट पनि धेरैले फरक खालको अपेक्षा गर्न थाले । काम सकेर बेलुका रक्सी पिउनु तथा मर्द भएर श्रीमतीलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने साथीहरूको अपेक्षा थियो । बिहेपछि चाँडै सन्तान जन्माउनु पर्छ बल प्रयोग गरेरै भए पनि बुहारीलाई तह लगाउनुपर्छ र बुहारीले छोराले जे भन्यो त्यही मान्नुपर्छ भन्ने आमाको अपेक्षा थियो ।

विवाह गरेपछि, रोशनी र शिशिरका अपेक्षाहरूलाई अरूका अपेक्षाहरूले धक्का दिए । बिहेपछि सुरुमा उनीहरू सबैलाई रिझाउन लागिपरे । अरूले भने जस्तै गरेन भने के के न होला भन्ने डरले उनीहरूले आफ्नो दैनिकीअरूको अपेक्षामा आधारित भएर चलाउन थाले । आफ्नी आमा र साथीहरूलाई खुसी पार्ने गरी शोचे। छिमेकीको दबाबले आमाको अपेक्षामा अझै बल दियो ।

अरूका अपेक्षाहरू पछ्याउँदा पछ्याउँदै शिशिर रोशनी दुवै जना वैवाहिक जीवनमा दुखी हुनपुगे । हुँदा हुँदा शिशिर रोशनीलाई नियन्त्रणमा राखेन भने छाडेर जान्छे कि भनेर चिन्तित हुनथाल्यो । रोशनी श्रीमान् शिशिरले आफूलाई प्रेम गर्दा दिएको बचनभन्दा फरक व्यवहार गरिरहेकोमा दुखी थिइन् ।

आफ्नो इच्छा भन्दा परिवार, छिमेकी र साथीभाइको अपेक्षा पछ्याउँदा पछ्याउँदै एक दिन यस्तो भयो कि रक्सी चुरोटको नसामा आफ्नी श्रीमतीलाई आफ्नै सुत्ने कोठामा शिशिरले वैवाहिक बलात्कार गर्‍यो । पशुले त सम्भोगको इच्छा वा ऋतु काल नभएको पोथीलाई जबरजस्ती गर्दैन, तर शिशिर पढेलेखेको मान्छेले आफ्नी श्रीमतीलाई अमानवीय व्यवहार गर्‍यो ।

यो लिंकमा गएर फिल्म हेर्न सकिन्छ -  https://youtu.be/4JxhhX5YkmM 

फिल्म यतिसम्म पुगेर रोकिएपछि समुदायका महिला पुरुषको अनुहारमा बदलिएको भाव देखियो। यस्तो लाग्थ्यो फिल्ममा भएका कुनै न कुनै व्यवहार वा घटना उनीहरूले पनि जीवनमा धेरै पटक देखे भोगेका थिए । कतिपयले आफ्नै घरमा आफुमाथि कुनैबेला भएका घटना सम्झिएको भान हुन्थ्यो ।

"लौन अब शिशिर रोशनीको सम्बन्ध के हुन्छ ? हाम्रै गाउँ घरमा हुने घटना जस्तै रहेछ फिल्म ! हामीले भोग्ने पनि यस्तै नै हो, अझै हेरौँ न !" किन भयो शिशिर र रोशनीबिच असमझदारी भनेर सोध्न नपाउँदै सहभागीहरूले आग्रह गर्न थाले ।

श्रीमान् श्रीमती बिचमा किन असमझदारी हुन्छ त्यो सबैलाई थाहा छ । सानो सानो कुरामा बेमेल हुँदा, सरसल्लाह नहुँदा , एकले अर्कोको कुरा नबुझ्दा, माया तथा समान व्यवहार नगर्दा, एक अर्कालाई वा एकले अर्कोको अवस्थालाई सम्मान नगर्दा, दैनिक आफ्नो काममा खुसी नहुँदा वा श्रीमान् श्रीमतीमा अरूका अपेक्षाहरू जबरजस्ती थोपरिँदा पनि असमझदारी हुन्छ ।

फिल्म असमझदारीको शुरुको अंश हेरेपछि साथी, छिमेकी, आफन्त, मान्यजन वा तेस्रो व्यक्तिले आफ्ना अपेक्षाहरु मार्फत् श्रीमान श्रीमती वा परिवारमा तनाव बढाउन अदृष्य तर असाध्यै खराव भूमिका खेलिरहेको हुन्छ भन्ने बुझिन्छ । अरुका अपेक्षाको पछि लाग्दा आफ्नो सम्बन्ध विग्रनै मात्रै होइन अरुसँगको दुरी बढ्दै जाने र अन्त्यमा कुलतमा फस्ने तथा यौन हिंसासमेत हुनसक्ने समुदायका धेरैलाई लाग्यो ।

फिल्मको दोस्रो अंशमा बिहेपछि अरूको अपेक्षा पुरा गर्न खोज्दा ध्वस्त भएको शिशिर र रोशनीको जिन्दगीमा यदि बिहे भएको दिनदेखि नै व्यवहार परिवर्तन भएको भए के हुन्थ्यो भन्ने अर्को पक्ष पनि अभिनय गरिएको छ । फिल्मको समझदार व्यवहार गरिएको भागमा रोशनी र शिशिरले अरूको अपेक्षालाई आफ्ना इच्छा तथा योजना सुहाउँदो बनाएर मात्रै बुझ्छन् र आपसमा सकारात्मक व्यवहार गर्छन् । त्यसपछि उनीहरूको सम्बन्ध सुखमय हुँदै जान्छ ।

"परिवारका सदस्यहरू, आफन्तहरू, छिमेकीहरू वा साथीभाइहरूबाट नव विवाहित जोडीसँग भिन्न भिन्न अपेक्षाहरू राखिनु स्वाभाविक हो । अरूका अपेक्षाहरू पुरा गरेर सबैलाई खुसी पार्न लागिपर्दा आफ्नो वैवाहिक जीवनको रूप रङ्ग मात्रै उड्दैन कि हिंसाको सुरुवात हुन थाल्छ । अधिकांश घटनामा बिहेपछि पुरुषहरूले बिहे अघिको बाचा बिर्सने गरेका कारण पनि समस्या छ । तर कतिपय महिला पनि कम हुँदैनन् !"  असमझदारी फिल्म हेर्नेहरु सवैले यस्तै निचोड निकालेका थिए । 

महिलामाथि अन्तरङ्ग साथीबाट अर्थात् श्रीमान् श्रीमतीबाट हुने हिंसा रोकथामका लागी सञ्चालित परिवर्तन घरैबाट कार्यक्रम अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकाको १० वटा वडाका २० ठाउँमा असमझदारी शीर्षकको यो फिल्म देखाईसकिएको छ । फिल्ममा के गर्दा असमझदारी हुन्छ र के गर्‍यो भने समझदारी हुन्छ भनेर अभिनय प्रस्तुत छ ।

विजय विकास स्रोत केन्द्र भीडीआरसी र इक्वेल एक्सेस इण्टरनेसनलको साझेदारीमा सञ्चालित “परिवर्तन घरैबाट” अन्तर्गत समुदाय स्तरमा प्रदर्शन गरिएको असमझदारी छोटो फिल्म अहिलेसम्म हजार जना भन्दा बढिले हेरेका छन् ।

- कृष्णा कुमारी आले

परिवर्तन घरैबाट, विनयी त्रिवेणी

- Mero Report