"आफ्नो पहिचानको बारेमा, हिंसाहरूको बारेमा, सकारात्मक मूल्य मान्यताहरूको बारेमा खुलेर भन्न सक्ने भएको छु । यसका साथै अहिले छोराको पढाई लेखाई खानपिन सङै प्रशस्त रूपमा छोरालाई समय पनि दिन भ्याउँछु र निकै खुसी छु मैले हिंसा गर्दिन सहँदिन भन्नेमा पनि प्रतिबद्ध छु" - बसन्ता मगर
दश वर्ष लामो वैवाहिक सम्बन्धलाई बिट मार्नु चानचुने कुरा होइन त्यसमाथि सम्बन्ध विच्छेद पछिको एक्लिएको जीवन, एकल आमा भएर थपिएको जिम्मेवारी असाध्यै बोझिलो हुन्छ नै । अझ, छरछिमेक आफन्तहरूबाट आएका विभिन्न किसिमको सवाल, तर्क, वितर्क, कुतर्क र लाञ्छना सुन्दै, सहँदै आफ्नो जिन्दगी र सन्तानलाई सम्हाल्नु जोकसैको लागि पनि चानचुने कुरा होइन ।
सुरुमा त आफ्नो विषयमा फरक-फरक व्यक्तिहरूको फरक-फरक धारणाले घोच्न थाल्यो ।, सामाजिक सञ्जालहरूमा आउने म्यासेजहरूले वाक्क दिक्क लागेपछि सबै सामाजिक सञ्जाल र आफन्तहरूबाट टाढा रहने बाध्यता आयो । सबै फेसबुक, म्यासेन्जर मात्रै परिवर्तन गर्नपरेन कि मोबाइल नम्बर समेत परिवर्तन गरेर आफूलाई एउटा कोठामा सीमित बनाउनु बाध्यता भयो ।
आफ्नो जिम्मेवारी त परको कुरा १० वर्षको छोरा छ भन्ने समेत बिर्सने अवस्था आयो । आफूमाथि आएका आरोपहरू आफन्तले भन्ने गरेका कुराहरू सही नै हो त? मेरो आफ्नो कदम वा निर्णय गलत हो त? के म नै गलत हो त ? जस्ता विभिन्न प्रश्नले मनमा आँधी ल्याइरह्यो। यस्तै धेरै कुराहरू को विस्तार गर्नै असमर्थ छु जसले गर्दा बिस्तारै डिप्रेसनले सिकार बनाउन थाल्यो । तर, घरपरिवारको साथ चिकित्सकको सल्लाह र उपचारबाट बिस्तारै आफूलाई बाहिर निकाल्दै थिएँ मलाई परिवर्तन घरैबाट परियोजनाले आत्मीय साथ दियो ।
ईक्वेल एक्सेस ईन्टरनेशनल नेपाल र विजय विकास श्रोत केन्द्रको साझेदारीमा हुप्सेकोट गाउँपालिकामा "परिवर्तन घरैबाट" परियोजना सञ्चालनमा आउन लागेको जानकारी पाएदेखि नै म खुसी भएँ। खाली समय एक्लै बस्नुभन्दा केही गरौँ र अन्तरङ्ग सम्बन्धमा हिंसा हुनुहुन्न हिंसा हुने अन्तरङ्ग सम्बन्ध समाप्त पार्नुपर्छ भन्ने सोचले यो अवसरलाई गुमाउन चाहिन । यो अभियानमा सहभागी भएपछि सामुदायिक सहजकर्ता को रूपमा पहिलो तालिम लिने अवसर प्राप्त भयो ।
तालिममा हाम्रो समाजमा भएको नकारात्मक मूल्य मान्यताहरूसँगै श्रीमान् श्रीमतीको बिच हुने हिंसाको बारेमा बुझ्ने मौका मिल्यो । उदाहरणीय तथा मिलनसार जोडी मनरुपा र सूर्य सिंहको कथा रेडियो कार्यक्रम समझदारी सुन्ने मौका मिल्यो । तालिमले आफूलाई अझ मजबुत, सकारात्मक सोच र समाज रूपान्तरणमा सहभागी हुने उत्साह मिल्यो । यो उत्साहले आफूलाई पनि बिस्तारै परिवर्तन गर्दै लग्यो ।
रेडियोका पात्रहरूसँग आफूलाई पनि दाँज्न थालेँ । विगतका आफ्ना दिनहरू सम्झिँदै धेरै पटक भावुक हुन पुगेँ । मेरो पनि जोडी जिम्मेवार भएको भए जीवन सुखमय हुन्थ्यो भन्ने त लाग्ने नै भयो रेडियो नाटकमा हुने घटना साथै छलफलमा आउने कुराहरू आफ्नै जीवन थाहा पाएर लेखिएको जस्तो लाग्थ्यो । तालिम पश्चात् समुदायका जोडीहरू मध्ये महिला दिदी बहिनी हरूसँगको साप्ताहिक भेटघाट, छलफल सत्र र विभिन्न चरणका तालिमहरूले मलाई अमूल्य ऊर्जा दियो । खुलेर बोल्न सक्ने भएँ र आफ्नो जिम्मेवारी प्रति अझ सचेत र सक्षम भएको छु ।
आफ्नो पहिचानको बारेमा, हिंसाहरूको बारेमा, सकारात्मक मूल्य मान्यताहरूको बारेमा खुलेर भन्न सक्ने भएको छु । यसका साथै अहिले छोराको पढाई लेखाई खानपिन सङै प्रशस्त रूपमा छोरालाई समय पनि दिन भ्याउँछु र निकै खुसी छु मैले हिंसा गर्दिन सहँदिन भन्नेमा पनि प्रतिबद्ध छु ।
अब समुदायबाट आउने नकारात्मक कुराहरूलाई बेवास्ता गर्दै हिंसारहित जीवन जिउन र हिंसा मुक्त समुदाय अभियानमा सहभागी हुने यो आफ्नो निर्णय सही हो भन्ने पुष्टि हुँदै गएको छ । कुनै समय अन्तरङ्ग सम्बन्धमा आएको खराबीले निराशा छाएको अनुहारमा अहिले मिठो मुस्कान आएको छ । जिन्दगीमा खुसी छाएको छ । अब विगतको अत्यासलाग्दो जिन्दगी अब कहिले फर्किएर आउने छैन भन्ने विश्वास छ ।
आफ्नो जिन्दगीमा अरूले के भन्लान्, के सोच्लान् होइन की आफू र छोराको लागि हाम्रो खुसी र सुखी परिवार को लागि ध्यान दिने र हिंसा विरुद्धको अभियानमा साथ दिने प्रण लिएको छु । सङै विगतमा कति हिंसा आफूबाट भयो होला कति हिंसा आफूले सहे हुला, अब आउने दिनमा म हिंसा गर्दिन र म हिंसा सहँदिन भनेर प्रतिबद्धता व्यक्त पनि गरेको छु ।
जेसुकै होस् म धन्यवाद दिन चाहन्छु मेरो छोराको बाबालाई मलाई सङ्घर्ष र आत्मनिर्भर बन्न सिकाउनुभयो । रेडियो समझदारीले परिस्थितिसँग जुधेर जीवनमा अगाडि बढ्न सिकायो । विषेशत मलाई हाँस्न सिकायो । हराएको हाँसो खोज्न सिकायो । धेरै धेरै धन्यवाद परिवर्तन घरैबाट ।
- परिवर्तन घरैबाट, हुम्सेकोट नवलपरासी