आत्मनिर्भर पुर्वकम्लरी - सिक्दै पनि, सिकाउँदै पनि

आत्मनिर्भर पुर्वकम्लरी - सिक्दै पनि, सिकाउँदै पनि

कमलरी बस्दाको दुःख जितेपछि परिवार, समाजलाई सघाउने उनको दिनचर्या बनेको छ । अर्काको घरमा कमलरी बस्दा गरेका अनुभव नै अहिले उनको सिक्ने र सिकाउने पाठ बन्यो । 

प्रेम विश्वकर्मा, बढैयाताल, बर्दिया
पन्ध्र वर्षअघि सुष्माकुमारी थारु कमलरी थिइन् । ‘एक जोर कपडा, एक बोरा धान र त्यस्तै अलिकति खर्चबर्च’ जुटाउन कखरा सिक्ने उमेरमा पूरा वर्षभर मालिकको घरमा कठिन पूर्ण दिन बिताउनु पर्थ्यो । यो थारु युवतीको रहर नभएर बाध्यता थियो ।
प्रत्येक वर्ष मोल–तोल साथ कमलरी पठाइने पश्चिम नेपालका ५ जिल्ला बर्दिया, बाँके, दाङ, कैलाली र कञ्चनपुरका थारु बालिका किशोरीहरूजस्तै सुष्मा पनि एक हुन् । कमलरी मुक्तिको लहरसँगै सुष्माले पनि त्यो नारकीय जीवनबाट मुक्ति पाइन् र स्वतन्त्र भइन् । अब उनी स्वतन्त्र छिन् । पिँजडाबाट निस्केकी चरीजस्तै उनी कावा खान सकिन । अनि जीवन र जीविकोपार्जन मात्रै होइन, पढ्ने अवसर पनि पाइन् ।
यिनै सुष्मा अहिले बर्दिया जिल्लाको बढैया ताल गाउँपालिका वडा नम्बर ९ (शक्तिनगर सम्झना टोल) मा बस्छिन् । त्यही उनले जीवन र दैनिकी, जिउने शैलीमा परिवर्तन ल्याएकी छन् । अब उनी आत्मनिर्भरताका लागि आफू सिक्ने मात्रै होइन पुरै समुदायलाई सिकाउँदै हिँडेकी छन् ।
घरको आँगनमा राखिएको डोरीको खटियामा बसेर, निर्धक्क साथ आफ्नो कुरा सुनाउँदै सुष्मा भन्छिन्, ‘त्यति बेला धेरै दुःख थियो, मेरो जीवन भन्न पाइन्थ्यो । अर्काको घरमा ३ वर्ष कमलरी बसेँ, सानै थिएँ, राम्ररी केही कुरा जान्दिनथेँ । जानिहाले पनि बोल्न पनि त पाउँन्थे।’
सुष्मा थारु २७ वर्षकी भइन । तर अहिले पनि उनको हाउभाउ, लवाइखुवाई सामान्य छ । गहुँगोरो वर्णकी, पातलो सर्लक्क जीउडाल, झट्ट हेर्दा, स्कुल कलेज जाने नवयौवना छात्र जस्ती । कलेज पोसाकमा ठाँटिएर हिँड्ने हो भने कम्ता राम्री देखिन्न सुष्मा । यिनै सुष्मा अहिले गाउँभरिकी प्यारी छोरी बनेकी छन् । सबैले उनको प्रशंसा गर्छन् ।
सुष्माको घरपरिवार पहिले तत्कालीन बदालपुर, ८ बसन्ता (हाल) राजापुर नगरपालिका क्षेत्रमा बस्थ्यो । त्यही बेला उनी राजापुरकै एक जमिनदारको घरमा कमलरी बसिन् । विगतका दिन सम्झिँदै सुष्मा भावुक हुन्छिन्, ‘मेरा मालिक बाहुन थिए, खाना बनाउन पर्थेन, भाँडा माझ्ने, गोबर फाल्ने, घर आँगन बडालकुडार गर्ने, घाँस काट्ने ।’ यिनै थिए मेरा दैनिकी ।
त्यो समय धनी, जमिनदारहरूले थारु समुदायका बालिकालाई कमलरीका रूपमा लिने चलनै थियो । हामी अवोध बालिकाहरू साहुबाट थोरै अन्नपात र दैनिक गुजाराका लागि चुपचाप कमलरी बस्नु पर्थ्यो ।  
‘गरिब दुःखीका कोही नभए भगवान् हुन्छन्, एक दिन अवश्य राम्रा दिन फर्किन्छन्’ भन्ने गाउँघरमा एक किसिमको भनाइ छ । नभन्दै दुःखमा, बालश्रम, शोषणमा परेकी सुष्माका पनि दिन फर्किए । उनले मालिकको घरबाट उद्धार हुने मौका पाइन् । कमलरी मुक्त भएपछि उनले आफ्नो ठूली आमाको घरमा बसेर भेरी मावि ललिता (धोविनपुर) राजापुर, बर्दियामा कक्षा १० सम्म पढिन् ।
त्यति बेलासम्म उनको परिवार भने अर्काको घरमा काम गरी दैनिक गुजारा चलाउँदै आएको थियो । गरिबीकै कारण बसिरहेको ठाउँ छोडेर सुष्माका बुवाआमाले बढैया ताल गाउँपालिका वडा नं. ९ (शक्तिनगर सम्झना टोल) बसाइँ सर्ने निर्णय गरे । जहाँ प्रशस्त मात्रामा सरकारी खाली जमिन थियो । जग्गा नभएकाहरूले त्यही सरकारी जमिन कब्जा गरी बसे । सुष्माका बुवाआमाले पनि अरूले जस्तो गरे त्यसै गरी बसोबास गर्न थाले ।
जोतभोगको आधारमा पछि बसोबास गरिरहेकै ठाउँमा सुष्माका बुवाआमाले मुक्त कमैयाका नाममा ५ कठ्ठा जग्गा सरकारबाट पाए । जग्गा पाएपछि सुष्माको परिवार खुसीले गदगद भयो । जे जसो होस, अब सबै परिवार एकै ठाउँमा दुःख–सुख गरी खाने, बस्ने सल्लाह गरे । घरकी जेठी छोरी सुष्मा नै थिइन् । त्यसै कारण पनि परिवारले सुष्मालाई राजापुरबाट बढैयातालमा बोलाउने निधो ग¥यो । अनि सुष्माले राजापुर छोड्नु पर्यो । बुवा आमा सँगै बस्ने सुष्माको इच्छा त पूरा भयो । तर गरिबीका कारण पढाइले निरन्तरता पाउन सकेन ।
सुष्माको परिवार कृषिमा निर्भर थियो । थोरै जग्गाको उब्जनीले घरका सबै खर्च टार्नुपर्ने अवस्थाले धेरथोर पारिवारिक बोझ सुष्माको काँधमा आइपर्‍यो । बुवा आमा माथि परेको आर्थिक भार कम गरी परिवारलाई आवश्यक दैनिकी पूर्तिकै लागी सुष्माले विकल्पको बाटो खोजिन् । तर उनसँग धेरै पढाइ थिएन । 
त्यसै कारण पनि सुष्माले बुवाआमाले गरिरहेकै कृषि पेसा अङ्गालिन् । तरकारी खेतीमा जोड दिइन् । खेतबारीमा फलेका तरकारी बिक्री गर्न सुष्माका बुवाले पनि सघाए । आफ्नो खेतबारीले मात्र नपुगेपछि डेढ विगाह जग्गा (खेत) अधियाँ (उत्पादनमा बराबर हक लाग्ने) खेत सुष्माको जोड बलले नै लगाउन थाले । यसमा थोरै भए पनि घर व्यवहार चलाउन सजिलो हुँदै गयो ।
सुष्माले तरकारी खेतीमात्रै गरिनन् । प्रायः पुरुषले मात्रै गरिरहेको देखिने विद्युतीय वायरिङको काम गर्न २ महिने तालिम लिइन् । भन्छिन्, ‘काम त ठिकै चलेको थियो, सदरमुकाम गुलरियासम्म जानुपर्ने, एक्लै आउजाउ गर्न अप्ठेरो लाग्यो । त्यसैले टाढा जान छोडेँ, आफ्नै घर वरिपरि पाए भने काम गर्छु ।’
विद्युतीय वायरिङको कामसँगै अलि सजिलो लागेर सिलाई कटाइमा पनि उनले हात हालिन् । यता पनि सुष्माले ३ महिने कोर्स पूरा गरेकी छन् । यो अवसर स्थानीय वडा कार्यालयले जुराइदिएको हो । 
‘लडिजका कपडा सिलाउन सक्छु, जेन्सको सर्टमात्र आउँछ,’ सुष्मा भन्छिन्, ‘अब सबै कपडा सिलाउन सक्ने गरी थप तालिम लिने इच्छा छ, तर त्यस्तो अवसर पाएकी छैन ।’ त्यसो त उनका छिमेकी भने भनेजस्तो कपडा सिलाइदिने मान्छे गाउँमै पाउँदा खुसी छन् ।
थारु समुदायमा एउटा घरमूली हुन्छ, उनले जे जस्तो भन्छ, त्यसैअनुसार परिवारका सदस्य चल्ने गर्छन् । यो अवस्था पहिले सुष्माको परिवारभित्र पनि थियो । अहिले त्यस्तो छैन । सबैको इच्छा, सरसल्लाहअनुसार काम हुन्छ । थारु समुदायले पनि पहिलेका परम्परा धेरै छोडिसके । सुष्मालाई पनि कुनै रोकटोक, छेकबार छैन । आफूखुसी काम गर्न सक्छिन् ।
बिहान सबेरै उठेदेखि राति अबेरसम्म उनी व्यस्तै हुन्छिन् । आफ्नो र परिवारको खर्च आफैँ जुटाउने प्रयास गर्छिन् उनी । ‘पढ्छु भन्दाभन्दै छोड्न बाध्य भएँ, अब सिलाइकै काम बढाउने ठूलो इच्छा छ, साथी पाएँ भने सटर भाँडामा लिन्छु,’ सुष्माले भनिन् ।
आफ्नो खुट्टामा उभिने प्रयास गरिरहेकी सुष्माको इमानदारिता, कामप्रतिको लगाव हेरी गाउँ समाजका विभिन्न ठाउँमा उनीले आबद्धता हुने अवसर पाएकी छन् । उनी मुक्त कमलरीको पालिका स्तरीय समिति, बढैयातालका सचिव पनि हुन् ।
स्थानीयस्तरमै सञ्चालित पृथक् महिला कृषि सहकारी संस्था लिमिटेडको शेयर सदस्यता र ऋण समिति सदस्यको जिम्मेवारी पनि सुष्माले पाएकी छन् । यहाँ उनी आफूजस्तै दिदीबहिनीसँग मिलेर काम गर्छिन् ।
अहिले सुष्माको मासिक आम्दानी करिब १०–१५ हजार रुपैयाँ छ । परिवारमा अन्य आम्दानीका स्रोत कम भएकाले त्यति बचत गर्न भने नसकिएको उनले सुनाइन । ‘आफूले गरेको कमाइबाट चार्ड पर्वका बेला परिवारका लागि लुगा–कपडा, मीठो मसिनो खानेकुरा किन्न सकेको छु, आफ्ना लागि चाहिने ससानो समान किन्न सकेकी छु,’ सुष्माले भनिन् ।
त्यसो त कुराकै क्रममा आफ्ना गुनासाहरू पनि सुनाउन भुलिनन् । आफूहरूलाई कमलरी परिचयपत्र सरकारले दिएर पनि खासै सुविधा दिएको छ । मालिकको घरबाट उद्धार गरिदिए, त्यसपछि के छ, के खाएका छन्, कसरी जीवन चलाए सोध्ने कष्टसम्म नगरिएको सुष्माको भनाइ छ ।
सुष्माकुमारी थारुको नाममा नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय, भूमिसुधार/मालपोत कार्यालय बर्दियाले २०७४/०७/०१ मा मुक्त कमलरी परिचयपत्र जारी गरेको छ । यस्तै मुक्त कमलरी विकास मञ्च केन्द्रीय कार्यालय दाङले २०६३/१२/२७ मा सुष्माको नाममा मुक्त कमलरी परिचयपत्र जारी गरेको छ । यी परिचयपत्र प्रयोग गर्न नपाएकोमा भने सुष्मा दुःखी छन् ।
बर्दियाको बढैया ताल गाउँपालिकाअन्तर्गत पर्ने ९ वटा बडाका थारु बाहुल्य टोल बस्तीहरूमा ज्ञान, सीप सिकेर, पनि आर्थिक समस्याले गर्दा सदुपयोग गर्न नसकेका धेरै कमलरी भएको भन्दै सुष्माले राज्यका निकायबाट सहयोगको अपेक्षा गरिन् ।
अहिले सुष्माको ७ जनाको परिवारमध्ये बाबुआमा र बुहारीले खेतीपाती गर्छन्, भाइ ज्याला मजदुरीको काम गर्छन् भने एउटा बहिनी अपाङ्गता छन् । अर्को एउटा सानो नानी छ । सुष्मा पनि आफ्नै ठाउँमा केही गर्नुपर्छ, भनेर निरन्तर खटिरहन्छिन् । 
लगातारको कमलरी आन्दोलनपछि सुष्मासँगै अन्य दुई साथीले पनि मालिकको घरबाट उद्धार हुने अवसर पाएका थिए । तीमध्ये एकले ल्याब र अर्कीले एएनएमको कोर्स गरिसकेका छन् । कति साथीसंगीको बिहे भई बालबच्चा हुर्काउन थालिसके । सुष्मा भने अहिलेसम्म सुखद भविष्यको खोजीमै छन् । बिहे गर्न परिवार कतैबाट दबाब नआएको, आफूखुसीले बिहे नगरी कुमारी नै बसेको सुष्मा बताउँछिन् । 

- Mero Report