जिल्ला अस्पताल सिन्धुलीमा विरामीको चाप बढ्दो

Avg.Rating: 0

सिन्धुली, ११ भदौं-जिल्ला अस्पताल सिन्धुलीमा अत्यधिक मात्रामा विरामीको चाप बढेको छ । विशेष गरि २ वर्ष मुनिका बालबालिकाहरु बढि रहेको अस्पतालले जनाएको छ ।

विरामीको चाप बढेसंगै शैयाको समेत अभाव हुदा एउटै वेडमा २ जना सम्म विरामी बस्न बाध्य छन् । कमलामाई नगरपालिका ६ की सलिसा लम्साल आफ्नो २ वर्षको छोरालाई रुगा खोकि लागेको र छाति ध्यार–ध्यार गरेकाले अस्पताल ल्याएको बताउनुहुन्छ । सुरुमा रुगाखोकि मात्र लागेकोमा पछि ज्वरो पनि आएको उहाँको भनाई छ । त्यस्तै कमलामाई नगरपालिका २ भद्रकालीकी उमावेदि श्रेष्ठको पनि छोरालाई रुगा मर्कि र ज्वरो आयो । उपचारका लागि अस्पताल ल्याउदा भर्ना गर्नुपर्छ भने पनि बेडको अभावका कारण दुई वटा विरामी एउटै बेडमा राख्दा निकै नै समस्या भएको उहाँको भनाई छ ।  कमलामाई नगरपालिका ५ आलेका कल्पना आछामेको पनि ९ महिनाको छोरालाई ज्वरो र रुगाखोकिले ग्रस्त बनाएको छ । तर बेड अभावका कारण छोरालाई अर्को विरामीसंग राख्नु पर्दा झनै समस्या परेको उहाँ सुनाउनुहन्छ ।


जिल्ला अस्पताल सिन्धुलीकी सुपरिटेन्डेण्ड डाक्टर सुमित्रा गौतम पनि १० दिनदेखि यस्ता विरामीहरुको संख्या अत्यधिक मात्रामा बढेको बताउनुहुन्छ । बेडको अभाव हुदाँ एउटै बेडमा २ वटा सम्म बच्चालाई राखेर उपचार गर्न बाध्य भएको उहाँ सुनाउनुहुन्छ । हिला र पुरुष राख्ने वाडमा एक जना पनि ठूलो मान्छेलाई राख्न नसकेको उहाँको भनाई छ । बच्चा बाहेकका कतिपय विरामीहरुलाई अस्पतालमै राखेर डाक्टरको निगरानीमा उपचार गर्नुपर्ने भए पनि घरबाटै आउनुस् र सुइ लगाएर जानुस भन्नु पर्ने बाध्यता रहेको उहाँलेले बताउनुभयो । मौसमका कारण बालबालिकाहरु बढि मात्रामा प्रभावित भएको हुन सक्ने उहाँले आशंक गनुभयो । एकै छिनमा पानी पर्ने र एकै छिनमा घाम लाग्ने हुुदाँ बच्चालाई मौसममा अनुकुलन लवाई खुवाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो। तर पनि के कारणले बालबालिकाहरु बढि मात्रमा विरामी भएका हुन् भन्ने एकिन नभएकाले अनुसन्धान नै गर्नु आवश्यक रहेकाले केन्द्रलाई जानकारी गराएको उहाँको भनाई छ । यद्यपि उहाँले बालबालिकाहरुलाई रुगा खोकि लागेमा सामान्य त हो नी भनेर नबस्न र अस्पताल ल्याइहाल्न आग्रह गर्नुभयो ।


जिल्ला अस्पताल सिन्धुलीमा दैनिक ४० देखि ५० जना विरामी आउने गरेकोमा आजभोली झण्डै ३ सय जना विरामी आउने गरेको अस्पतालले जनाएको छ । त्यसमा पनि अधिकांश २ वर्ष मुनिका बालबालिका रहेको अस्पतालको तथ्याङमा उल्लेख छ । जिल्ल्ला अस्पताल सिन्धुलीमा ५१ शैया रहेको छ । तर विरामीको चाप बढेसंगै शैयाको अभाव हुदा अस्पतालमै रहेर उपचार गर्नुपर्ने कतिपय विरामीहरु जचाएर घर फर्कन बाध्य छन् । भने कतिपय एउटा वेडमा २ जना सम्म बस्न बाध्य छन् । जिल्ला अस्पतालमा प्रत्येक वर्ष वर्षादको समयमा विरामीको चाप बढ्छ । तर अस्पतालको भौतिक संरचना पर्याप्त नहुदा सेवाग्राहि समस्या भोग्न बाध्य छन् ।