दिपावलीमा गाउँमा सरसफाईको चेतना

13 Nov 2018
Avg.Rating: 0

प्रेमबहादुर राम्जा 
दाङ, २७ कात्तिक ।

दिपावलीको अबसरमा कतिले देउसी भैलो खेलेर अहिले पनि पिक्नीकमा ब्यस्त छन् । कतिपयले सामाजिक कार्यमा रकम खर्च गरेका छन् । बर्षभरी भेट नभएकाहरुले रमाइलो पनि गरे । तर, बबईमा सरसफाई गरेर दिपावली मनाइएको छ ।

वडास्तरमा रहेका बुद्धिजीबी, कर्मचारी तथा जनप्रतिनीधिको सहभागीतामा बबई गाउँपालिका—७ मा सरसफाई गरिनुका साथै चेतना समेत फैलाउने काम भयो । राजधानी बसेर चक्रपथ सरसफाई अभियानमा संलग्न रहनुभएका जितबहादुर हमालको पहलमा गाउँपालिकाको मठेउरी र चरकमटिया क्षेत्रमा सरसफाई गरिएको हो ।

देउसी भैलो खेलेर रमाइलो गर्नेहरुलाई सडकमा जथाभावी फालेका प्लाष्टिकका टुक्रा संकलन गरेर सरसफाई गरिएको थियो । वडास्तरमा रहेका बालकदेखि बृद्धसम्मको सहभागीता रहेको सरसफाई कार्यक्रमले गाउँमा चेतनाको बिकास गर्ने चक्रपथ सरसफाई अभियानका अभियान्त हमालले अपेक्षा गर्नुभयो ।

हामीहरु पर्ब मनाउन मात्रै बर्षमा गाउँ फर्किने होइन नयाँ बिषय लिएर पनि आउने गरेको यो एउटा उदाहरण भएको अभियान्ता हमालले बताउनुभयो । सबैले आफ्नो गाउँका लागि केही सोच्नै पर्छ आज हामीले सरसफाई गरेका छौँ अर्को बर्ष आउँदा प्लाष्टिक संकलन गरिएको त्यसको ब्यबस्थापन गर्न स्थानीय सरकारले ध्यान दिएको देख्न पाइयोस्—हमालले भन्नुभयो ।

सरसफाई अभियानमा सहभागी हुनुभएका वडाध्यक्ष महाबीर चौधरीले वडास्तरमा सरफाई गर्न र चेतना फैलाउनका लागि समिति गठन गरेको भन्दै उक्त समितिलाई क्रियासिल गराउने प्रतिबद्धता जनाउनुभयो । शहर बजारमा मात्रै सरसफाईको आबश्यकता नभएको भन्दै वडाध्यक्ष चौधरीले प्रत्येक महिनाको एक दिन सरसफाई गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ ।

यस्तै सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश नम्बर पाँचका उपाध्यक्ष तिलकराम भण्डारीले बाताबरण संरक्षणका लागि सरसफाई अनिबार्य रहेको बताउनुभएको थियो । सरसफाई मानिसको सभ्यतासंग जोडिने भन्दै आफ्नो परिचयलाई उच्च राख्न पनि बजारदेखि ग्रामीण क्षेत्रसम्म सरसफाईलाई प्रभावकारी गराउनुपर्ने बताउनुभएको थियो ।

त्यस अबसरमा आफ्नो घर आसपासमा सरसफाई गरिएको भन्दै चरकमटियाका टुल्कबहादुर शाह र मनकामना बजारका निमबहादुर बस्नेतलाई सम्मान गरिएको थियो । यस्तै स्वर्गीय शिक्षक केवल बस्नेतका छोराछोरीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । सरसफाई अभियानले वडा कार्यालयदेखि चरकमटियासम्म गरेको थियो । साथै आगामी दिनमा वडा कार्यालयका तर्फ सरसफाई कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गरिएको थियो ।