महोत्सवमै आयोजना गरियो सुचनाको हक सम्बन्धि परामर्श शिविर

Avg.Rating: 0

बाँकेको नेपालगञ्जमा संचालनमा रहेको प्रादेशिक महोत्सव २०७४ मा सुशासन तथा सुचनाको हक सम्बन्धी परामर्श शिविर संचालन गरिएको छ । माघ ११ गतेदेखि २२ गतेसम्म संचालनमा रहेको उक्त महोत्सवमा प्रत्यक्ष रुपमा १००० जनालाई विविध विषयमा सुचना प्रवाह गरियो भने अप्रत्यक्ष रुपमा १५०० भन्दा बढीले अवलोकन गरी सुशासन, सुचनाको हकको महत्व लगायतका विषयमा सुसुचित भएका छन् ।  

रमाईलोका लागि आयोजना गरिएको मेला भएपनि सुशासनका बिषयमा जानकारी दिने उद्धेश्यले सुचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेले पारस्परिक जवाफदेहिता परियोजनाको सहकार्यमा शिविर सञ्चालन गरेको हो । मेला अवलोकन गर्दै नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष रुद्र सुवेदीले मेलामै स्टल राखेर सुचनाको हक र सुशासनको बारेमा आम नागरिकलाई जानकारी दिने उदेश्य लिएको र सो अनुरुप काम समेत गरेकोमा प्रसंसा गर्नुभयो । साथै अर्का पुर्व अध्यक्ष शुक्रऋषि चौलागाईले समेत मेलामै आम नागरिकलाई यस्ता महत्वपुर्ण सुचनाहरु दिँदा गाउँघरसम्म सुचनाको हकको महत्वबारे सचेतना पुग्ने विश्वास ब्यक्त गर्नुभयो । 

मेलामा राष्ट्रिय सूचना आयोग, ईन्सेक, बास, हरप्लेस, नेपालगञ्ज उद्योग बाणिज्य संघ, गैरसरकारी सस्था महासंघ लगायतका संघसंस्थासंग समन्वय गरी सुचनाको हक, स्थानीय तहको काम कर्तब्य, महिला तथा बालबालिका सम्बन्धि कानुनी किताब, मानव अधिकार बर्ष पुुस्तक र अन्य सुचनामुलक सामग्रीहरु वितरण गरिएको थियो । 

स्थानीय तहको काम कर्तब्य नौलो भएको सन्दर्भमा आयोजित सुचनाको हक सम्बन्धी उक्त शिविरले आम नागरिकलाई थोरै भएपनि पछिल्लो सन्दर्भको सुचना सम्प्रेषण गरेको सुचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले जानकारी दिनुुभयो । साथै संस्थाका जवाफदेहिता अधिकृत सोम गुुरुङ्गले सुचनाको हक सम्बन्धी यस्ता शिविरहरु विद्यालय तथा र समुदायस्तरमा समेत संचालन गर्न जरुरी रहेको बताउनुभयो । 

सामुदायिक संचारकर्मी कल्पना आचार्यबाट