नाम मात्रका प्रसुति सेवा

Avg.Rating: 0

धनवीर दाहाल

रुकुम भदौ २०


   प्रसुति सेवा भनेपछि सुरक्षित सुत्केरी गराउने सेवा हो । सरकारले सुरक्षित प्रसुती सेवाका लागी धेरै लगानी गरेको बतारहेको छ । तर रुकुमका कतिपय प्रसुति सेवा नाम मात्रका हुनाले गर्भवति महिलाहरु प्रसुति सेवा प्रभावकारी बनाउनुपर्ने माग राख्दै स्थानीय तहलाई ध्यानआर्कषण गराइरहेका छन् । प्रसुती सेवाको प्रभावकारी व्यवस्थापन हुनुपर्ने माग गर्दैै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका आमा, गर्भवती महिला तथा सरोकारवालाहरुले सामुहिक रुपमा गाउँपालिका समक्ष माग पत्र पेश गरेका छन् । 

रुकुम पश्चिमको त्रिपेणी गाउँपालिका वडा नं. २ मा रहेको सिम्रुतु स्वास्थ्य चौकीमा रहेको प्रसुती गृहमा सुत्केरी हुन आउने महिलाहरुले उक्त गृहबाट प्रदान हुने सुविधा स्रोत साधनको अभावका कारण प्रभावकारी हुन नसकेको भन्दै सेवालाई प्रभावकारी बनाउनका लागी बिभिन्न मागहरु राखेर स्वास्थ्य चौकी सिम्रुतु मार्फत गाउँपालिका कार्यालयमा माग पत्र पेश गरेका स्थानिय सुत्केरी आमा गंगा चन्दले बताउनुभयो । चन्दका अनुसार, दक्ष र प्रर्याप्त जनशक्ति व्यवस्था गर्नुपर्ने, सुत्केरीलाई मौसम अनुसार एसीको को व्यवस्था गर्नुपर्ने, बच्चा जन्मिसकेपछि न्यानो कपडाको व्यवस्था गर्नुपर्ने, प्रत्येक टोलमा स्टेचरको व्यवस्था गर्नुपर्ने, गाउँपालिकामा एउटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने र सुत्केरी महिलाका लागि भनेर आएको बजेट रकमान्तर नगरी उल्लेखित शीर्षकमै खर्च गर्नुपर्ने भनेर छ बुदाँमा आफ्ना मागहरु पेश गरिएको छ । सिम्रूतु स्वास्थ्य चौकीका प्रमुख भिमबहादुर चन्दले् महिलाहरुले राखेका मागहरु यहाँका जायज मागहरु भएको बताउदै यस बिषयमा गाउँपालिका संग आवश्यक छलफल गर्न आफु तयार रहेको बताउनुभयो । प्रसुती गृहको प्रभावकारिताका लागि आवश्यक प्राविधिक दक्ष जनशक्ति र भौतिक पुर्वाधार नहुदाँ आफुहरुले सधै गाह्रो तरिकाबाट जसोतसो सेवा दिईरहेको प्रमुख चन्दको भनाई छ । त्रिवेणीका महिलाहरुले राखेको मागबारे सिम्रुतु स्वास्थ्य चौकी माफत स्थानिय सरकारलाई जानकारी भएको बताउदै त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले आमा र बच्चाको सुरक्षाका लागी भनेर सरोकारवालाहरुले राखेको मागमा आफु गम्भिर भएको र यसको परिपुर्ती गर्दै प्रसुती सेवालाई र सिंगो स्वास्थ्य क्षेत्रलाई नै प्रभावकारी बनाउन स्थानिय सरकारले आवश्यक निति नियम बनाई चाडै कार्यन्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ  । प्रसुती सेवा प्रभावकारी हुन नसक्दा रुकुमका बिभिन्न भागमा र त्रिवोणीकै धेरै महिलाहरुले बर्षेणी ज्यान गुमाउने गरेका छन् । मान अधिकार सरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपालले प्रसुती गृहको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक पैरवी गर्न सहजिकरण गरिरहेको छ । त्रिवेणी गाउँपालिाका संगै जिल्लाका अन्य बिभिन्न स्थानमा रहेका सामाजिक मुद्धाहरुमा आफ्नो संस्थाले सुधारका लगि पहल गर्ने बताइएको छ । 

यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा नम्वर ७ मा निर्माणाधिन दश बेडको प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र अवस्थामा रहेको छ । भवन निर्माणको जिम्मा लिएको ठेकेदारको ढिला सुस्तीका कारण वर्थिङ्ग सेन्टर सहितको प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र बनेको हो । निर्माणाधिन भवनको काम शतप्रतिशत सकिएको तर मापदण्ड अनुसार प्रयोगमा नआउँदा उक्त भवन अझै संचालनमा आउन सकेको छैन । २०७१ साल असार दोस्रो सातामा भवन निर्माणको काम सम्पन्न गर्नेगरी प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा भवनको काम सुरु गरिएको थियो । तर चार वर्ष बितिसक्दा समेत प्राथमिक स्वास्थ्य केन्द्रको भवन प्रयोग विहिन बनेको छ । साविकको कोटजहारी गाविसमा भवन निर्माणका लागि सहरी विकास तथा निर्माण विभाग भवन डिभिजन कार्यालय रोल्पाले २ करोड ८६ लाख अनुदान प्रदान गरेको थियो । तरपनि ठेकेदारको ढिलासुस्ती र लापर्वाहीले गर्दा हालसम्म भवन निर्माणको कामले पूर्णता पाएको छैन । मापदण्ड अनुरुप भवन संचालनमा नआउँदा चौरजहारी नगरपालिकाको वडा नम्वर ६, ७, ८ र ९ का स्थानीयलाई उपचारमा समस्या भएको छ । भवन प्रयोगविहिन बनेपछि प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा उपचारका लागि आउने बिरामीहरुको संख्या समेत घट्न थालेको छ