ककनी गाउँपालिकामा जेष्ठ नागरिक सम्मान अभियान सुरु

Nov 5, 2019

नुवाकोट, कार्तिक १९

ककनी गाउँपालिकाले ९० वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरिएकाे छ ।
विसं २०७५ चैत्र मसान्तसम्म ९० वर्ष उमेर पार गर्नुभएका वडा नम्बर १, २ र ३ का १० जना जेष्ठ नागरिकलाई मंगलबार उनीहरुको घरमा नै पुगि सम्मान गरिएको हो ।

सम्मानित हुने जेष्ठ नागरिकलाई २ हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभएको छ । उहाँको अनुसार सम्मानित हुने व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर न्यानो कपडा समेत प्रदान गरिएको छ ।

सन्तानलाई हुर्काउन र समाजलाई सकरात्मक रुपमा अघि बढाउन पुराएको योगदानलाई कदर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकको अभिभाकत्व ग्रहण गरी सम्मान गर्ने अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभएको छ । मंगलबार वडा नम्बर १ का ४ जना, वडा नम्बर २ का २ जना र वडा नम्बर ३ का ४ जनालाई सम्मान गरिएको छ । गाउँपालिकामा विसं २०७५ चैत्र मसान्तसम्म ९० वर्ष पार भएका ४५ जना रहेका छन् । बाँकीलाई सम्मान गर्दै जाने अध्यक्ष लामाले बताउनुभएको छ ।

यस्तै गाउँपालिकाले सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत रहेर स्वास्थ्य सस्थामा सुत्केरी हुनेलाई लाई ३ हजार रुपैयाँ र १५ सय रुपैयाँ बरावरको पोषणयुक्त खाना उपलव्ध गराउन थालेको  छ । आज वडा नम्बर ३ को ३ जना सुत्केरीलाई गाउँपालिकाले उपलव्ध गराउने सुविधा उपलव्ध गराएको गाउँपालिकाका उपाध्यक्ष सीता लामा खतिवडाले जानकारी दिनुभएको छ । सुनौलो हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दै श्रावणदेखि यो कार्यक्रम सुरु भएको उपाध्यक्ष खतिवडाले  जानकारी दिनुभएको छ । सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम मार्फत नियमित गर्भ जाँच सँगै स्वास्थ्य सस्थामा सुत्केरी गराउने महिलाहरुको दर बढाउनु रहेको उपाध्यक्ष खतिवडाले  जानकारी दिनुभएको छ ।