युवा उद्यमीलाई नगरले सहुलियत ऋण दिने

Nov 11, 2020

दिपक खत्री

सिन्धुपाल्चोक, कार्तिक २६ । कोभिड–१९ का कारण रोजगारी गुमाएका तथा विदेशबाट फर्केका युवालाई गाँउमै स्वरोजगार बन्नका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले नेपाल बैंकमार्फत सहुलियत ऋण दिने भएको छ । लगानी अभावमा नयाँ व्यवसाय गर्न नसकेका युवालाई लक्षित गरी नगरले यस्तो योजना ल्याएको हो ।

नगरपालिकाले यसको लागि कार्यविधि समेत निर्माण गरिसकेको छ । कार्यविधि अनुसार नगरमै रहेर उद्यम गरी आत्मनिर्भर हुन चाहने युवाहरुलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याइएको हो । नगरका दलित, अल्पसंख्यक, महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवा तथा नयाँ व्यवसाय गर्न चाहने अन्य युवालाई समेत बिना धितो व्यक्तिगत पाँच लाख रुपैंयासम्म र समुहगत दश लाख रुपैंयासम्म सहुलियत कर्जा वितरण गरिने चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिंह तामाङले बताउनुभयो । अनुदान दिँदा त्यसको प्रभावकारी उपलब्धी नदेखिएकोले यस्तो योजना बनाइएको तामाङले बताउनुभयो ।

आफुहरुले यसअघि पनि यस्तो सहुलियतपूर्ण कर्जा वितरण गरिरहेको भएपनि नगरपालिका नै जमानी बसेर कर्जा वितरण गर्न लागिएको यो पहिलो भएको नेपाल बैंक लिमिटेड, चौतारा शाखाका प्रबन्धक समिक कुमार दाहालले बताउनुभयो । नगरपालिकाकाले एक करोड रुपैंया जमानीको रुपमा बैंकमा जम्मा गरेपछि दुई करोड रुपैंयासम्म ऋण प्रवाह गरिने बैंकको नीति छ । बैंकले कृषि उद्यम गर्न चाहने महिलालाई पहिलो प्राथमिकतामा राखी कर्जा प्रवाह गर्नेछ ।

परम्परागत पेशामा रहेका दलित युवाले सोही पेशा गर्नको लागि समेत कर्जा प्रवाह गर्न सकिनेछ । बैंकले आफ्नो कार्यविधि अनुसार नगरको सिफारिसको आधारमा सो कर्जा प्रवाहको लागि प्रकृया अगाडि बढाउने र उद्यम गर्न चाहने वास्तविक युवा छनौट गरी उनीहरुलाई मात्र कर्जा प्रवाह गरिने दाहालले बताउनुभयो ।

नगरले यस्तो योजना ल्याएकोमा त्यसलाई सकारात्मक रुपला लिदैं स्थानीय युवा दिपेन्द्र घलेले त्यसलाई हामी युवाहरुले स्वागत गर्नुपर्ने बताउनुभयो । यसले विदेशिन खोजेका युवालाई गाँउमै स्वरोजगार बन्न सहयोग गर्ने उहाँको भनाइ छ । नगरले आकर्षक योजना ल्याएपनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने चुनौति रहेको अर्का स्थानीय युवा प्रविण चौलागाँइको भनाइ छ । यसअघिका अनुदानका रकमहरुको दुरुपयोग भएको नजिरहरु समेत रहेकाले यो कर्जाको पनि दुरुपयोग हुन नदिन नगरपालिका चनाखो हुनुपर्ने उहाँले बताउनुभयो । अनुगमनलाई प्राथमिकतामा राखी यसको दुरुपयोग हुन नदिनु नगरपालिकाको मुख्य चुनौति रहेको उहाँको भनाई छ ।

यस्ता रकमहरुको सही सदुपयोग भए नभएको अनुगमन गर्नको लागि एउटा छुटै संयन्त्र बनाउनुपर्ने प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति नेत्र धिताल बताउनुहुन्छ । यस्ता योजनाहरु युवाको हितमा भएपनि योजना छनौट गर्दा तथा कर्जा प्रवाहपछि पनि समयसमयमा अनुगमन गरिएन भने त्यसले कर्जाको दुरुपयोग बढाउन सक्ने उहाँको त्रास छ । यसले युवापुस्तालाई गाँउमै केही गर्न सकिन्छ भन्ने मान्यताको भने विकास गराउन धिताल बताउनुहुन्छ ।

नगरपालिकाले युवाहरुलाई गाँउमै स्वरोजगार बनाउन यस्ता योजना अगाडी बढाउनु अत्यन्तै सुखद कुरा हो तर यसको प्रभावकारी कार्यान्वयन गराउनु नगरको चुनौतीको रुपमा रहेको छ । नगरले हाम्रा मान्छे भन्दा पनि राम्रा मान्छेलाई छनौट गरी कर्जा प्रवाह गर्नुपर्ने देखिन्छ ।