संस्थागत सुत्केरी गराउनेलाई २ क्रेट अण्डा र थप पाँच सय प्रोत्साहन भत्ता दिने

Jul 24, 2019

रसुवा- नौकुण्ड गाउँपालिकाले संस्थागत रूपमा सुत्केरी गराउनेका लागि दुई क्रेट अण्डा तथा थप पाँच सय रुपयाँ दिने भएको छ । गाउँपालिकाले गर्भवती महिला तथा सुत्केरी आमाको पोषण सुधार गर्नका लागि कार्यक्रम लागू गरेको हो ।

यो कार्यक्रमले पोषणमा सुधार आउनुको साथै संस्थागत रूपमा सुत्केरी गराउने दर बढ्ने स्वास्थ्य शाखाले जनाएको छ । यो गाउँपालिका भित्र आर्थिक वर्ष २०७५÷७६ मा २१.२९ प्रतिशतले मात्र संस्थागत सुत्केरी गराएका छन् । शाखाका अनुसार ३ सय १० जनामध्ये ६६ जनाले मात्रै स्वास्थ्य संस्थामा सुत्केरी गराएका थिए ।

संस्थागत रूपमा सुत्केरी गराउने दर बढ्न नसकेपछि गाउँपालिकाले अण्डा वितरण तथा प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । दोस्रो पटक गर्भजाँच गराउँदा एक क्रेट र सुत्केरी हुँदा एक क्रेट अण्डा तथा थप पाँच सय प्रोत्साहन भत्ता उपलब्ध गराउने गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन् ।

स्वास्थ्य कार्यालय रसुवाको आव ०७४÷०७५ को तथ्याङ्क अनुसार २४.२६ प्रतिशत गर्भवती महिलाले मात्र स्वास्थ्य संस्थामा सुरक्षित ढंगले सुत्केरी हुने गरेका छन् । आव ०७३÷०७४ मा २७.३७ र ०७२÷०७३ मा २४.८ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराएको तथ्याङ्क छ ।

स्वास्थ्यकर्मीले संस्थागत सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने सम्भावना नरहने र सुरक्षित हुने भएकाले स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनु पर्छ । हिमाली जिल्लामा चार पटकसम्म स्वास्थ्य संस्था पुगेर नियमित गर्भजाँच गराउने महिलालाई थप ८ सय रुपैयाँ दिने गरिएको छ ।

संस्थागत रूपमा सुत्केरी हुनेले ३ हजार प्रोत्साहन भत्ता पाउँछन् । यो गाउँपालिकामा चार पटक गर्भजाँच गरेर स्वास्थ्य संस्थामा सुत्केरी भएमा ४ हजार ३ सय रुपयाँ रकम पाउने छन् । जिल्लामा २० ओटा स्वास्थ्य संस्था छ ।

ती मध्ये १५ ओटामा वर्थिङ सेन्टर रहेको छ । बाँकी रहेका थुमन, बृद्धिम, रसुवा, लाङटाङ र हाकुमा वर्थिङ सेन्टर स्थापनाको प्रक्रियामा रहेको स्वास्थ्य कार्यालयका प्रमुख शिवप्रसाद बडालले बताए ।

स्वास्थ्य संस्था गएर सुत्केरी भएबापत हिमाली जिल्लामा ३ हजार, पहाडी जिल्लामा २ हजार र तराईका जिल्लाका १ हजार रुपैयाँ सरकारले यातायात खर्च दिने व्यवस्था गरेको छ ।