सिद्धकुमाख गाउँपालिकाद्वारा किसानहरुलाई कृषि सामग्री वितरण

Jul 2, 2018

सल्यान १८, असार । कृषि क्षेत्रलाई आधुनिकिकरण र व्यवसायिक रुपमा सञ्चालन गर्न सल्यानको सिद्धकुमाख गाउँपालिकाले किसानहरुलाई कृषि सामाग्री उपलब्ध गराएको छ । पछिल्लो समयमा कृषि पेशा छाडेर अन्य पेशा अंगाल्नेहरुको संख्या बढ्दै गएको समयमा सिद्धकुमाख गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका किसानहरुलाई व्यवसायिक कृषि पेशामा आकृषित गर्न ५० प्रतिशत अनुदानमा कृषि सामाग्री उपलब्ध गराएको छ ।

‘सिद्ध कुमाख गाउँवासीको आर्थिक समृद्धिको आधार, आधुनिक र व्यवसायिक कृषि प्रणालीको बिस्तार’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनि ट्रिलर ३ वटा, उन्नत भकारी ४० वटा, कृषि चुन ६.५ मेट्रिक टन, स्प्रे ८ सेट र फुट स्प्रे २ सेट कृषि समुहहरुलाई उपलब्ध गराईएको हो । यस्तै ४० सेट प्लास्टिक घर शतप्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराईएको थियो । त्यस्तै कृषि ईन्जिनियरिङ निर्देशनालय काठमाडौंको ५० प्रतिशत अनुदानमा ५ वटा किसान मिनी ट्रिलर पनि उपलब्ध गराईएको थियो ।

कृषि सामाग्री किसानहरुलाई हस्तान्त्ररण गर्दै गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले अहिलेको युगमा कृषिलाई यान्त्रिकरण गर्दै लैजानुपर्नेमा जोड दिईन् । उनले भनिन्-'गाउँपालिकाले आगामी दिनहरुमा पनि किसानहरुलाई प्रत्यक्ष रुपमा फाईदा पुग्ने खालका कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्छ ।' उनले निर्बाहमुखी कृषि पेशा छोडेर व्यवसायिक रुपमा नै कृषि पेशालाई अंगाल्न आग्रह गरिन् ।

यस्तै जिल्ला कृषि बिकास कार्यालय सल्यानका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरे कृषिमा यान्त्रिकरण नगरी कृषि उत्पादनमा वृद्धि गर्न नसकिने बताए । उनले परम्परागत तरिकाले खेती गर्दा सोचे जस्तो आम्दानी गर्न नसकिने हुँदा आधुनिक र नयाँ प्रबिधिको प्रयोग गरेर खेती किसानहरुलाई सुझाव दिए ।

सिद्धकुमाख गाउँपालिका कृषि शाखाको आयोजनामा ५० अनुदानमा कृषकहरूलाई कृषि सामाग्री हस्तान्तरण गरिएको हो । अनुदानमा कृषि सामाग्री पाएपछि कृषकहरू खुसी भएको कृषि शाखा प्रमुख भिमसेन विश्वकर्माले जानकारी दिए ।