छत्रेश्वरी गाउँपालिकाद्वारा घरमै पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा

Jun 5, 2020

सरिता चलाउने

सल्यान, जेठ २३

सल्यानको छत्रेश्वरी गाउपालिकाले जेष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा दिएको छ । पालिकाले ८० बर्ष माथिका जेष्ठ नागरिकलाई घरमै गएर उपचार तथा परामर्श कार्यक्रम संचालन गरेको हो । अस्सी वर्ष माथिका जेष्ठ नागरिकहरुलाई विभिन्न रोगको संक्रमण हुने र हिंडडुल गर्न समस्या हुने भएपछी उनिहरुको घरमै गएर उपचार तथा परामर्श सेवा दिइएको प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताए । उनले भने, 'गाउँपालिकाको आर्थिक बर्ष २०७६/०७७ को वार्षिक कार्यक्रम र कोरोना भाइरसका कारण स्वास्थ्य संस्थासम्म पुग्न समस्या भएपछि घरदैलो कार्यक्रम संचालन गरिएको छ ।'

गाउँपालिकाका सातै वडामा संचालन गरिएको कार्यक्रमबाट ८७ जना जेष्ठ नागरिकहरुलाई सेवा दिइएको छ । वडा नम्बर एकमा २७, दुईमा ८, तिनमा ८, चारमा ८, पाँचमा १३, छमा १५ र सातमा ८ जना जेष्ठ नागरिकलाई उपचार गरिएको अधिकृत खड्काको भनाई छ । जेष्ठ नागरिकहरुको घरमा पुगेका स्वास्थ्यकर्मीहरुले उनीहरुको स्वास्थ्यजाँच, परामर्श र औषधिसमेत वितरण गरेको गाउँ स्वास्थ्य शाखा प्रमुख केशरी देवि भट्टराईले बताइन । उनका अनुसार जेष्ठ नागरिकहरुको रोगको पहिचान गरि आवस्यकता अनुसार विभिन्न १५ प्रकारका औषधि र भिटामिनहरु वितरण गरिएको छ । घरमै स्वास्थ्य चेकजाँच तथा औषधि पाएपछी जेष्ठ नागरिकहरु खुशी भएका छन । हिंडडुल गर्न तथा स्वास्थ्य संस्थासम्म जान समस्या भएको बेला आफुहरुलाई स्वास्थ्य जाँच गर्न घरमै स्वास्थ्यकर्मी आएको भन्दै उनिहरुले खुशी व्यक्त गरेका हुन ।