दुप्चेश्वर गाउँपालिकास्थित कौकेश्वरी माध्यामिक विद्यालयमा इ–क्लासको सुरु

Jan 12, 2019


दुप्चेश्वर गाउँपालिकास्थित कौकेश्वरी माध्यामिक विद्यालयमा इ–क्लासको सुरु

जमुना गजुरेल
नुवाकोट,२८ पुस

दुप्चेश्वर गाउँपालिकास्थित कौकेश्वरी माध्यामिक विद्यालयमा इ–क्लासको सुरु भएको छ ।
रुडेक नेपाल सनराइज चिल्डे«न्स एशोसिएसन इन्क, अष्ट्रेलिया र दुप्चेश्वर गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको सहयोगमा मंगलबारबाट औपचारिक रुपमा इ–क्लास सुरुवात भएको हो ।
कक्षा सात, आठ, नौ मा मिदास इ–क्लास सफ्टवेयर मार्फत इ–क्लास सुरुवात भएको रुडेक नेपालका कार्यक्रम व्यवस्थापक जीवन पुडासैनीले जानकारी दिनुभएको छ । इ–क्लासको उद्घाटन सनराइज चिल्ड्रेन्स एशोसिएसन इन्क, अष्ट्रेलियाकी देशीय निर्देशक एम्मा टेलरले गर्नुभएको थियो ।
निर्देशक टेलरले इ–क्लासमार्फत् बालबालिकाको पठन तथा सिकाईमा प्रभावकारी असर पर्ने अध्ययनले देखाएकाले कौकेश्वरी माविमा हाम्रो संस्थाले सहयोग प्रदान गरेको बताउनुभएको छ । यसको सहि सदुपयोग गर्दै विद्यालयलाई प्रविधिमैत्री कक्षा सञ्चालन गर्न जोड दिनुभएको छ ।
कार्यक्रममा रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी, सनराइजका कार्यक्रम व्यवस्थापक राजकुमार लामा, प्रध्यानाध्यापक वासुदेव खनालले बालबालिकाको पठनपाठनमा इ–क्लासले देखिने परिवर्तन ल्याउन सबैले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
इ–क्लास सञ्चालनका लागि रुडेक नेपाल र सनराइज चिल्ड्रेन्स एशोसिएसन इन्कर्पोरेशन, अष्ट्रेलियाले दुईवटा ४० इन्चको स्मार्ट टेलिभिजन, तीनवटा कम्प्युटर, सफ्टवेयर र अन्य सामग्री सहयोग गरेको थियो । गाउँपालिका तथा विद्यालयमार्फत् एउटा ४० इन्चको टेलिभिजन उपलब्ध भएको छ ।
रुडेक नेपालले दुप्चेश्वर गाउँपालिकामा चार सय जना बालबालिकालाई छात्रबृत्ति, जिविकोपार्जन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।