गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न


रामेछाप, माघ २७

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले गत आर्थिक बर्ष र चालु आर्थिक वर्षको ६ महिनामा गाउँपालिकाले प्रवाह गरेका सेवा तथा खर्च विवरण सार्बजनिक गरेको छ ।

गत आर्थिक वर्ष देखि गाउँपालिकाले संचालन गरिरहेका योजनाको यथार्थ आम्दानी र खर्च तथा चालु आर्थिक बर्षको ६ महिनाको यथार्थ योजना सहितको आय–ब्यय बिवरणको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सार्बजनिक सुनुवाई गरिएको हो ।

गत आर्थिक बर्षमा बिनियोजित २१ करोेड २२ लाख ५९ हजार २ सय ४१ रुपैयाँ मध्ये १८ करोड ९३ लाख २७ हजार ४९ रुपैया खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभएको छ । उहाँले चालु आर्थिक बर्षका लागि विनियोजित ३४ करोड ८५ लाख २ सय ४५ रुपैया मध्ये ६ महिनाको अबधिमा ७ करोड ४२ लाख ८६ हजार ८ सय ४६ रुपैया मात्र खर्च भएको जानकारी गराउदै ६ महिनामा २१ दशमलव ३१ प्रतिशत मात्रै खर्च भएको बताउनुभयो । बाँकी ७६ दशमलब ६८ प्रतिशत रकम आगामी ६ महिनाभित्र खर्च गरिने उनले दावी गर्नुभएको छ।

गत आर्थिक बर्षमा ९ लाख ५० हजार आन्तरिक राजस्व उठाउने लक्ष्य गाउँपालिकाले राखे पनि २ लाख ६५ हजार ४ सय ७ रुपैया मात्रै राजस्व उठेको छ । त्यसैगरी चालु आर्थिक वर्षमा १५ लाख आन्तरिक राजस्व संकलन गर्ने अनुमान राखिएकोमा ६ महिनाको आवधिमा २ लाख ६२ हजार ४ सय १३ रुपैया मात्र संकलन भएको आर्थिक प्रतिबेदन सर्वाजनिक भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले सुशासन कायम गराउन सबै स्थानीय तहहरुले सार्वजनिक सुनुवाई गर्नु पर्ने बताउनुभएको छ । उहाँले रामेछापका ८ ओटै स्थानीय तहहरुले अनिबार्य रुपमा नियमित सार्वजनिक सुनुवाई गर्दा जनप्रतिनिधिमाथि जनताको विश्वास बढ्नेमा जोड दिनुभयो ।