गाँउपालिकाद्वारा बेरोजगार युवाको लागि ड्राइभिङ्ग तालिम

ममता भट्ट
श्रावण ११, डडेलधुरा 

गन्यापधुरा गाउँपालिका डडेल्धुराले ‘सिप सिकौ, स्वरोजगार बनौ’ भन्ने मुल नाराका साथ दुई महिने युवा स्वारोजगार ड्राइभिङ्ग ट्रेनिङ्ग तालिम सुरू गरेको छ । शनिबार उग्रतारा ड्राइभिङ्गको ट्राइल सेन्टरमा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय लक्षीत युवा, पत्रकार लगायतको उपस्थितिमा तालिमको उद्घाटन गरिएको हो । तालिममा गाउँपालिका भित्रका १७ जना वेरोजगार युवाहरुको सहभागिता रहेको गाउँपालिका अध्यक्ष नवल बहादुर मल्लले जानकारी दिनु भयो ।

गाउँपालिकाका प्रत्येक पाँचवटा वडा बाट तिन/तिन जना र थप दुइजना गरि १७ जना तालिममा छनौट गरिएको अध्यक्ष मल्लले बताउनु भयो । दुइ महिने ड्राइभिङ्ग टेनिङ्गमा गाउँपालिकाको दश लाख रुपैयाँ लगानी रहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयाे ।

सिप नभए केहि पनि गर्न नसकिने भन्दै उनले प्रत्येक युवाले अनुशासीत भइ तालिममा सिकेका कुरा व्यवहारमा लागु गरि व्यवसायीक बन्न आग्रह गरेका छन । गाउँपालिका अध्यक्ष मल्लले तालिममा सहभागि युवाहरुलाइ पूर्ण रुपमा सिप सिकाइ दक्ष ड्राइभर बनाएर पठाउने अठोट गर्नु भयो ।

कार्यक्रमको उद्घाटनमा बोल्दै प्रदेश साँसद तथा नेपाली काँग्रेस डडेल्धुराका जिल्ला सभापति कर्ण बहादुर मल्लले डडेल्धुराबाट नै सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ वितरणको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएकाे छ । 
कार्यक्रमले आफुलाइ रोजगारी संग निकट बनाउने तालिममा सहभागि एकजना युवा लोकेन्द्र पनेरुले बताउनुभयाे । गाउँपालिकाले गरेको यो काम सराहनिय भएको उनको भनाइ छ ।