त्रिपुरासुन्दरी गाउँपालिकाको सबै विद्यालयहरुमा पुगे पाठ्यपुस्तक, अबको कार्यक्रम : कृषि तथा पशुपालनमा जोड

May 14, 2020

दीपक खत्री 

सिन्धुपाल्चोक, जेष्ठ १

त्रिपुरासुन्दरी गाउँपालिका भित्र रहेका सबै विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पूर्याउने गाउँपालिकाको योजना अनुरूप सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराएको हो । लकडाउनका कारण देशका सबै शैक्षिक संस्था बन्द रहेको अवस्थामा गाउँपालिकाले आफ्नो विद्यालयहरुलाई आवश्यक पर्ने पाठ्यपुस्तकको व्यवस्था आफ्नो पूर्व योजना अनुसार नै गरेको गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । अब केही दिन भित्र सबै विद्यार्थीको हातमा पुस्तक पुगी सक्ने गरी सहयोग गर्न विद्यालय संग पालिकाले अनुरोध समेत गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयोे । विद्यालयले निशुल्क घरघरमा पाठ्यपुस्तक र्पुयाईदिने छन् । यस अघि त्रिपुरासुन्दरी गाउँपालिका ३ ले पनि आफ्नो वडाभित्रका विद्यार्थीलाई गाउँ गाउँ पुगेर किताब वितरण गरेको छ ।

यस्तै गाउँपालिकाले कृषि नै आर्थिक उपार्जनको प्रमुख आधारस्तम्भ भएकाले किसानलाई थप प्रोत्साहन गर्न सहकारी मार्फत मलमा सहुलियत कार्यक्रम ल्याउने प्रमुख प्रशासकीय अधिकृत गणेश राम पोखरेलको भनाई छ । यसैगरी इच्छुक फर्म, समुह ,सहकारीले जेष्ठ मसान्त भित्र कृषि तथा पशु शाखामा सम्पर्क गर्न गाउँपालिकाले सुचना समेत जारी गरेको छ । उनिहरुलाई आगामि वर्षको कार्यक्रममा यसकै आधारमा अनुदान ब्यवस्थापन गर्ने गाउँपालिकाले जनाएको छ ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाले रोकथाम र नियन्त्रको लागि कार्यक्रमहरु संचालन गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार चुल्हो बल्ननै गाह्रो भएका प्रत्यक वडाका विपन्न परिवारलाई  राहत वितरण गरेको थियो ।