गाँउपालिकाद्वारा आधुनिक कृषि पाठशाला सञ्चालन

Sep 11, 2018

बैतडी, भदौ २६
जिल्लाकोे पञ्चेश्वर गाँउपालिकाले कृषि पाठशाला सञ्चालनमा ल्याएको छ । गाँउपालिकाको वडा न. ६ रोडिदेवलमा एकसय रोपनी जग्गा लिजमा लिई कृषि पाठशाला सुरु गरिएको हो ।

कृषि पाठशालामा ब्यवसायिक खेती र पशुपालन गरी कृषकहरुलाई आधुनिक तरिकाले कृषि तथा पशुपालन गर्न सिकाईने गाँउपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । कृषि पाठशालाका लागि लिजमा लिइएको जमिनमा अहिले खनजोत गरी बेर्नाहरु राख्ने तयारी भैरहेको उहाँले बताउनुभयो ।

उक्त कृषि पाठशालामा ब्यवसायिक तरकारी खेती, फलफुल खेतीका साथै माटो परीक्षा०ा समेत गरिने छ । यस्तै बाख्रापालन, कुखुरा पालन तथा माछापालन गरी किसानहरुलाई आधुनिक तवरले पशुपालन गर्न सिकाइने गाँउपालिकाका कृषि शाखा प्रमुख राज साँउदले बताउनुभयो । सिकाई केन्द्रका रुपमा स्थापना गरिएको कृषि पाठशालामा पशुपालनका लागि खोर निर्माण तथा अन्य संरचना निर्माणको काम छिट्टै सुरु गरिने उहाँले बताउनुभयो ।

अहिले गाँउपालिका भित्र रहेको ७ जना कृषि तथा पशु प्राविधिकको निगरानीमा काम सुरु भएको र आगामी दिनमा अझै प्राबिधिकको आवश्यकता परेमा थप गरिने गाँउपालिकाले जनाएको छ । पञ्चेश्वर गाँउपालिकाले चालु आर्थिक बर्ष २०७५/०७६को बजेटमा ५० लाख रुपँया कृषि पाठशाला स्थापनाका लागि छुट्याएको थियो ।

कृषि पाठशालाका लागि लिजमा लिएको जमिनको प्रतिरोपनि ३ हजार (बर्षेनी ३लाख)का दरले भाडा तिर्नु पर्नेछ । कृषि पाठसालाका लागि अहिले १० बर्षका लागी लिजमा लिइएको उक्त जमिनमा पर्याप्त पानिको ब्यवस्था रहेको गाँउपालिकाले बताएको छ ।