चौरी देउरालीमा ५० प्रतिशत अनुदानमा पशु बिमा कार्यक्रम संचालन हुने

Jan 22, 2021

काभ्रेको चौरी देउराली गाँउपालिकामा अनुदानमा पशु बिमा कार्यक्रम संञ्चालन हुने भएको छ । अर्थिक वर्ष २०७७÷७८ को वार्षिक स्किृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा प्रिमियम बिमा कार्यक्रम संञ्चालन गर्न लागीएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत महान दास लामाले जानकारी दिनुभयो ।

किसानले व्यवसायिक उत्पादनका लागि पालेका पशु चौपाया मरेमा वा अन्य समस्या भएमा अनुदान मार्फत क्षतिपूर्ति पाउने व्यवस्था भएकाले यो कार्यक्रम संञ्चालन गर्न लागीएको बताईएको छ । बीमा गर्दा पशुधनको सुरक्षाको दृष्टीले राम्रो हुने भएकाले पछिल्लो समय यस्ता कार्यक्रम प्रति किसान आकर्षित हुन थालेका छन् ।

पशु बिमा कार्यक्रममा सहगागी हुन गाँउपालिका क्षेत्रका किसान तथा फर्महरुले आफ्नो गाई,भैंसी बाख्राको बिवरण वडा कार्यालय मार्फत पालिकाको पशु सेवा शाखामा पेश गर्न सक्ने प्रमुख प्रशासकिय अधिकृत लामाले बताउनुभयो । साथै यो कार्यक्रममा सहजिकरण गर्न सबै वडा कार्यालयहरुलाई गाँउपालिकाले आग्रह समेत गरेको छ ।

यो सँगै गाँउपालिकाले प्रत्येक वडामा उन्नत जातका बोयर बोक किसानलाई वितरण गरेको छ । गाँउपालिकाको आर्थिक वर्ष २०७५÷७६,२०७६÷७७, र २०७७÷७८ को वार्षिक स्किृत कार्यक्रम अनुसार सबै वडामा उन्नत जातको बोयर बोका बितरणको कार्य सम्पन्न गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महान दास लामाले बताउनुभयो ।

पालिकाको पशु सेवा शाखाले उपलब्ध गराएको बोका प्राप्त गर्ने किसानहमा वडा नम्बर १ का तेज कुमार खरेल, वडा नम्बर २ का कान्छी तामाङ, वडा नम्बर ३ का माईली तामाङ, वडा नम्बर ४ का टेक प्रसाद गौतम, वडा नम्बर ५ का प्रमिला चौलागाई, वडा नम्बर ६ का रामाशरण चौलागाई, वडा नम्बर ७ का सावित्रा गौतम, वडा नम्बर ८ का रमला पन्त र वडा नम्बर ९ का भिम नाथ चौलागाई छन् ।

स्थिानीय बाख्रा पालक किसानहरुलाई उन्नत जातको बोयर बोकाबाट प्रजनन् गराउन समेत पालिकाले अनुरोध गरेको छ । बोका प्रजनन् गराएर नस्ल सुधार गरेवापत पचास रुपैंया मात्र लिन पाउने गरी बोका पालक किसान संग सम्झौता  समेत भएको प्रमुख प्रशासकिय अधिकृत लामाले बताउनुभयो ।