चाउमिन उद्योगबाट आन्तमनिर्भर बन्दै बाबियाचौरका महिला

जगतदल जनाला विक

सुर्खेत,४ मंसिर । कुनै समय घरको चुलोचौकोमा मात्र सीमित हुने पञ्चपुरी नगरपालिका–५ की भावना रावल अहिले महिला उद्यमीका रुपमा परिचित छिन् ।

उनी अहिले दिदीबहिनी चाउमिन उद्योग सञ्चालक समितिकी अध्यक्ष हुन् ।२०६९ सालमा ६ जना महिलाले ‘आवाज’ संस्थाबाट तालिम लिएपछि २०७१ सालबाट दिदिबहिनी चाउमिन उद्योग सञ्चालनबाट महिलाहरूले मनग्य आम्दानी गर्न सफल भएका छन् ।

रावलसहित अन्य ६ जनाको समूहमा व्यवसाय सञ्चालन गरेका उनीहरूले सबै खर्च कटाएर मासिक ८० हजारसम्म खुद नाफा कमाउने गरेको उद्योग सञ्चालक समितिकी अध्यक्ष समेत रहेकी रावलले बताइन् ।

‘पहिला–पहिला घरायसी काममा व्यस्त, श्रीमान् भारतमा गएर काम गर्नुपर्ने, दैनिक घर खर्च चलाउन मुस्किल पर्ने हामीलाई आजभोलि घरखर्च चलाएर नियमित बचत गर्नमा सहयोग पुगेको छ,’ अध्यक्ष रावलले भनिन्,’ आजभोलि सबै खर्च कटाएर मासिक ८० हजार रुपैयाँसम्म बचत हुने गरेको छ ।’

दैनिक डेढ क्विन्टल चाउमिन उत्पादन गरी पश्चिमका पञ्चपुरी, बराहताल र चौकुनेमा समेत पठाउने गरेको उनीहरूको भनाइ छ । आवाज संस्थाबाट तालिम लिएका उनीहरूले मेडेप र आस्था संस्थाबाट विभिन्न समयमा तालिम, उपकरणहरू समेत सहयोग लिएर काम गरिरहेका छन् । उद्योगका लागि जग्गा भाडामा लिएर आफ्नै भवन बनाएका उनीहरूले केही समयपछि आफ्नै जग्गा खरिद गरी भवन निर्माण गर्ने र बजार क्षेत्र पनि बढाउने योजनामा छन् ।

यहाँ उत्पादन हुने चाउमिन प्रतिकिलो ८० रुपैयाँका दरले बिक्री हुने गरेको छ । अहिले उक्त उद्योगमा ८ जना महिलाहरूले रोजगारी पाएका छन् ।

बिहान ४ बजे नै ताजा चाउमिन उत्पादन गरेर ९ बजेसम्म सबै ठाउँ पुर्‍याउने गरेका छन् । कोरोना महामारीका कारण उनीहरूको उद्योगलाई केही समस्या परे पनि विस्तार उनीहरू पुरानै स्थितिमा पुग्ने गरी उत्पादनलाई वृद्धि गरेको सञ्चालक समितिकी सचिव उषा बलामीले बताइन् ।

आम्दानीको रकमबाट बराबर बाँड्ने र दैनिक २ सय रुपैयाँ उद्योगको नाममा सहकारीमा बचत समेत गर्ने गरेका छन् । चाउमिन ताजा र भनेकै समयमा पसलमा पुर्‍याउने गरेका उनीहरूले प्रतिकिलो ८० रुपैयाँको दरले बिक्री गर्ने गरेका छन् ।

दैनिक ४ किलोबाट उत्पादन सुरु गरेका उनीहरूले आजभोलि डेढ क्विन्टलसम्म उत्पादन गर्दा पनि ग्राहकको मागअनुसार पुर्‍याउन सकेका छैनन् ।

लकडाउनका कारण उद्योगमा परेको असरका बारेमा स्थानीय सरकारले समेत चासो नदेखाएको उनीहरूको गुनासो छ ।

महिला तथा युवा उद्यमीहरूलाई स्थानीय तथा प्रदेश सरकारले पनि विभिन्न सहयोग र प्रोत्साहनका कार्यक्रम ल्याए उनीहरूलाई थप हौसला मिल्ने स्थानीय तेजबहादुर रोकायले बताए ।

उनीहरूले प्रत्येक पसलहरूमा मासिक एकमुष्ट रूपमा नै रकम उठाउने गरेका छन् । अहिले उद्योगमा भावना रावल, लक्ष्मी रम्फेली, उषा बलामी, कल्पना बरै, शर्मिला पुन र निर्मला तारामीले आफैँ उत्पादन गरेर बजारसम्म पुर्‍याउने काम गरिरहेका छन् ।