सञ्चार गृहका लागि खोज पत्रकारिता जरुरी

Mar 15, 2019

ललितपुर, चैत १ – देशमा रहेका सञ्चार गृहका लागि खोज पत्रकारिता जरुरी रहेको अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले बताउनुभयो ।

अन्नपूर्ण पोष्ट दैनिकको समाचार कक्षको अवलोकनका लागि पुगेका मोफसलमा कार्यरत ११ जना पत्रकारको टोलीलाई समाचार कक्षको जानकारी दिँदै उहाँले मिडिया हाउसमा खोज पत्रकारिता गर्ने पत्रकारको सङ्ख्या न्यून भएको बताउनुभयो ।

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकले खोजमूलक समाचार लेखन गर्न चाहाने पत्रकारलाई सहयोग गर्ने र गर्दै आएको जनाएको छ । संस्थागत रूपमा खोज पत्रकारिता गर्नका लागि मिडियाहरूले सहयोग गर्दै आएका छन् । तर सोचे जस्तो पत्रकार तथा समाचार उत्पादन सकेको छैन् ।

खोज पत्रकारितामा समय धेरै लाग्ने, खर्च पनि बढी लाग्ने र बढी जोखिममा पर्ने भएकाले साधारण समाचार लेख्ने आदत बसेको उहाँको भनाइ थियो । विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा पैरबी तथा खोज पत्रकारिता गरिरहेका पत्रकारहरू समाचार कक्षको अवलोकन गर्ने क्रममा बिहिबार टोलीले अन्नपूर्ण पोष्टको अवलोकन गरेको थियो ।

५ दिनसम्म सञ्चालन हुने तालिममा यसअघि कान्तिपुर र खोज पत्रकारिता केन्द्रको समाचार कक्षको अवलोकन गरिसकिएको छ ।
तालिमको पहिलो सत्रमा खोजपत्रकारिता सम्बन्धी आधारभूत ज्ञान, खोज पत्रकारितामा विषय उठान, खोज पत्रकारिताका पक्ष, लेख्ने तरिका, सम्भावना र चुनौती, प्रमाण सङ्कलन लगायतका बारेमा सैद्धान्तिक सीप दिइने छ भने दोस्रो सत्रमा कुनै एक मिडियाको समाचार कक्षमा अवलोकन गराउन लगिने छ ।