आफ्नो भुमिकालाई बलियो बनाउनुपर्नेमा काभ्रेका अधिकांश स्थानिय तहका उपप्रमुखहरुको जोड

Mar 3, 2018

माघ २८/धुलिखेल,जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतमले उपप्रमुखको भुमिकालाई बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पारस्परिक जवादेहिता कार्यक्रम अन्तर्गत सामुदायिक सारथीको आयोजना तथा हेड नेटवर्क (शिक्षा, स्वास्थ्य, कृषि र विपद् ब्यवस्थापन संजाल)को संयोजनमा धुलिखेलमा गरिएको पुनर्निर्माण सम्बन्धि गुनासो व्यवस्थापन समिति गठनको लागि सरोकारवालाहरुसंगको संयुक्त बैठकमा बोल्दै उपप्रमुख गौतमले राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्न गराउन उपप्रमुखको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । साथै उहाँले राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराएर आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाई सुशासन स्थापित गराउन उपप्रमुखको भुमिका महत्वपूर्ण रहने बताउनुभयो ।
कार्यक्रमा धुलिखले नगरपालिकाका उपप्रमुख विमला शर्माले जनताको अपेक्षा अनुसार सबै काम गर्ने वातावरण बनाउन अझै केहि समय लागे पनि न्याय सम्पादन गर्न, समाजको समृद्धि र विकासका लागि पर्ने बताउनुभयो ।
महाभारत गाउँपालिकाका उपप्रमुख चेत कुमारी माझीले भौगोलिक रुपमा जिल्लाको विकट क्षेत्रमा रहेर काम गरिरहेको भएपनि कार्यसम्पादनमा ढिलाई हुन नदिन आफु सचेत रहेको बताउनुभयो ।
बेथानचोक गाउँपालिकाका उपप्रमुख सरिता लामिछानेले योजना छनौटका चरणहरुमा विशेष ध्यान पुर्‍याउन सके पछिका दिनमा अपजस खानु नपर्नेमा जोड दिँदै शुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काम गरिरहँदा निति र कार्यविधिमा रहेर काम गर्ने हो भने सहज ढंगबाट काम सम्पादन गर्न सकिने र भुकम्प पिडितको गुनासो व्यवस्थापन गर्न वडास्तर र गाउँपालिकास्तरमा गुनासो व्यवस्थापन समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नमोबुद्ध नगरपालिकाका उपप्रमुख राममाया तामाङ्गले नागरिक समाजस‌ंग सहकार्य गर्ने भुमिका उपप्रमुखको प्राथमिकताको क्षेत्र भएको हुँदा नगरपालिकामा शुसासनका क्षेत्रमा काम गर्ने सम्बन्धित संघसंस्थाको सहकार्यको आवश्यकता भएको बताउनुभयो ।
मण्डन देउपुर नगरपालिकाका उपमुख निर्मला शाहीले वर्तमान समयमा कर्मचारी र जननिर्वाचित प्रतिनिधिको विचको सुमधुर सम्बन्ध स्थापित गर्न सकेमा शुसासन कायम गर्न सजिलो हुने बताउनुभयो ।
जिल्ला समन्वय अधिकारी कोमलप्रसाद धमलाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुँदै जनताको हितलाई सर्वोपरी मानी सहभागितामूलक, पारदर्शी, स्वच्छ, सक्षम, उत्तरदायी, प्रभावकारी, निष्पक्ष र विधिसम्मत शासन सञ्चालन गरि सुशासन कायम गर्न उपप्रमुख माथि ठुलो जिम्मेवारी र अवसर रहेको बताउनुभयो ।
कार्यक्रममा हेड नेटवर्कका जिल्ला संयोजक भोजराज तिमल्सिनाले सुशासन कायम गर्न स्थानिय तहले छुट्टै कार्ययोजना बनाएर अघि बढ्ने हो भने मात्र अपेक्षा अनुसारको काम गर्न सकिने बताउनुभयो ।
पत्रकार महासंघका कोषाध्यक्ष कपिल कोईरालाले स्थानिय निकायका जनप्रतीनीधी र संचार क्षेत्रको सुमधुर सम्बन्ध स्थापित गर्न सके सुशासन कायम गर्ने कार्य सहज हुने बताउनुभयो ।
स्थानिय सरकार र जनप्रतिनिधि आईसकेको अवस्थापमा जिल्ला तहदेखि, गाउँपालिका, नगरपालिकामा जन निर्वाचित उपप्रमुखहरुले आफ्नो भुमिकालाई अझ बलियो बनाएर काम गर्न, शुशासन कायम गर्न, भुकम्प पिडितका गुनासोहरुलाई सम्बोधनका लागि निर्माण भएको पुनर्निर्माण सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७४ लाई कार्यान्वयन गर्न पहल गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको सामुदायिक सारथीका जिल्ला संयोजक राजाराम गौतमले जानकारी दिनुभयो ।