मण्डनदेउपुर नगरपालिकाका ५ सय विद्यार्थीलाई रेडियो वितरण, बैकल्पिक सिकाईमा मद्दत पुग्ने विश्वास

Jun 26, 2020

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरपालिका भित्र रेडियो नभएका विद्यार्थीलाई रेडियो सेट वितरण गरेको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी रेडियो नभएका विद्यार्थीलाई रेडियो दिएको हो । इको हिमाल नेपाल र नगरपालिकाले विद्यार्थीलाई रेडियो संयुक्तरुपमा वितरण गरेका हुन् ।

इको हिमाल नेपालकै आर्थिक सहयोगमा नगरपालिकाले असार ३ गतेबाट ३ वटा रेडियो मार्फत ६ देखि १० कक्षा सम्मको कक्षा सञ्चालन गर्दै आएको छ । नगरपालिकाले ५ सय जना विद्यार्थीलाई रेडियो वितरण गरेको शिक्षा शखाका अधिकृत लोकेन्द्र विष्टले जानकारी दिनुभयो ।

नगरपालिकाले रेडियो मार्फत अंग्रेजी, नेपाली, गणित, सामाजिक र विज्ञान गरी जम्मा ५ वटा विषयको पठनपाठन गर्दै आएको छ । नगरपालिकामा जम्मा ५ हजारको संख्यामा विद्यार्थी छन् । नगरपालिकाले नगरभित्रका बालबालिकालाई बैकल्पि पठनपाठनलाईसहज हुने सञ्जारका माध्यमको तथ्याङ्क संकलन गरेको थियो ।

जसमा रेडियो सबैको पहुँचमा रहेको र रेडियो नभएका विद्यार्थीको संख्या निकै काम रहेकाले रेडियो शिक्षा रोजेको अधिकृत विष्टले बताउनुभयो । नगरपालिकाले कम्तिमा १० जनाको समूह बनाएर टोल सिकाई केन्द्रको समेत स्थापना गरेको छ । रेडियोबाट शिक्षकले दिएको गृहकार्य टोल सिकाई केन्द्रमा पुगेको शिक्षकले चेकजाँच गर्ने गरेका छन् ।