मेहनतमा रमाउँदै महिला: विदेशको दु:खमा स्वदेशको मलम

Jan 24, 2019


सरिता श्रेष्ठ
धादिङ, माघ १०
जिल्लाको थाक्रे गाउँपालिका –५, सल्लेभन्ज्याङकी टुकमाया तामाङले साढे तीन वर्ष विदेशी भूमिका काम गरेर बिताइसकेकी छन् । २० वर्षको हुदाँ सानीमा नाता पर्नेसँग घरेलु कामदारका रुपमा विदेश पुगेकी थिइन् । महिलालाई नेपालबाट विदेश पठाउन गाह्रो हुने भन्दै उनी लगायतको ४/५ जनाको समूह भारत हुँदै कुबेत पुगेका थिए । घरबाट हिडेको तीन दिनसम्म साइकलको यात्रा गर्दै भारतको बम्बईमा पुगेपछि मात्र कुवेत पुगिन् । घरायासी काम बाहेक कुनै पनि नआउने उनले साढे तीन वर्ष काम गर्दा सोचेजस्तो कमाई गर्न सकेनन् ।

घर फर्किएर उनले कुखुरा र बाख्रा पालेका छन् । परिवारसँगै बसेर कमाइ गर्न पाउँदा निकै खुसी लाग्ने गरेको तामाङले बताइन् । विदेशमा खर्च गरिने पसिनाले भन्दा स्वदेशमा खर्चने पसिनाले सुख र आराम मिल्ने तामाङ बताउँछिन् ।

‘मिहेनत गर्ने हो भने नेपालमै पैसा कमाउन सकिदोरहेछ’ तामाङले भनिन्, घर नजिकै कुखुरा पालेर महिनामा ५० देखि ८० हजारसम्म कमाउने गरेकी छु ।’ उनलाई श्रीमानले पनि सहयोग गदै आइरहेका छन् । घरपरिवार चलाउनेदेखि लिएर दुई छोराहरुको पढाई राम्रैसँग चलेको छ भने कमाई गरेको पैसा जम्मा गर्दै आइरहेकी तामाङले बताइन् ।

गाँउबाट मानिस शहर आउन चाहन्छन् । शहरबाट ठुला शहर र ठुला शहरबाट राजधानी । राजधानीले मात्र मानिसका इच्छा पुरा गर्न सक्दैन अनी मानिस विदेश जानका लागि लालायित हुन्छ । तर पछिल्ला समय गाँउगाँउमा बैदेशिक रोजगारीका लागि यस्तो लहर देखिन्छ कि मानिस नजिकैको शहर देखेको हुदैन तर विदेशका जानका लागि तयार भएको हुन्छ । अधिकांशमा बैदेशिक रोजगारीको एउटा लहर नै देखिन्छ । त्यसमा पनि पछिल्लो समय महिलाहरुको आकर्षण बढी देखिन्छ । संभावना र आशाका बाटाहरुप्रति विश्वास कम भएर बाध्य भएर बैदेशिक रोजगारीमा जानु परेको यथार्थ छ ।

त्यस्तै यथार्थता थाक्रे –६ की ३० वर्षीय अन्जना कार्कीको पनि थियो । ११ वर्षको हुदाँ आमाको मृत्यु भएपछि घरको आर्थिक भार उनको जिम्मामा थुप्रियो । आर्थिक अवस्था धान्नका लागि ९० हजार तिरेर दुबईमा जाने निर्णय गरिन् । धेरै पैसा हुन्छ भन्ने प्रलोभन एकातिर थियो भने घरको आर्थिक संकट टार्नका लागि उनमा विदेशको बाटो झल्झलि हुन थाल्यो । फूफूदिदीको छोरा पर्नेले दुबई लैजाने भन्दै भारतमा लगे । स्कुल टेक्न नपाएकी उनले एकहप्तापछि मात्र आफू भारतमा रहेको थाहा पाइन् ।

चिनेजानेको कोही थिएन, हातमा सीप पनि थिएन, न भाषा बुझिन्छ न खर्च नै छ, दुबई हिडेको मान्छे भारतमा पुगेपछि उनी झस्किइन् । दुई महिनासम्म काम पाइनन् । आफूले जानेको त्यहि घरायासी काम मात्रै थियो तर भनेजस्तो पाइनन् । विस्तारै ज्यामि काम सिकिन् र छाक टार्न थालिन् । एक, दुई दिन भन्दै ६ वर्ष भारतमा बिताइन् । खासै कमाई गर्न सकिनन् । भारतकै एक रेष्टुरेण्डमा काम गर्ने केटासँग बिहे गरिन् र नेपाल फर्किइन् ।

उनलाई विदेशले समयको महत्व, परिश्रम र उपयोग बुझाएको छ । त्यहि महत्वलाई बुझदै उनले नेपाल आएर सिलाईकटाई तालिम सिकिन् । डिजाइनका कपडाहरु सिलाउन थालेपछि आम्दानी पनि हुन थाल्यो, नेपालमै रहदाँ पनि घरायासी काम गरेर पनि कमाउन थालेको उनले बताइन् । ‘६ देखि १५ हजारसम्म कमाई हुने गरेको छ’ कार्कीले भनिन्, ‘विदेशमा बगाएको पसिनाले आफूलाई भतभती पोलिरहेको छ ।’ गर्न सके नेपालमा नै सुन फल्दो रहेछ, विदेश त एक कल्पनाको बाटो मात्रै रहेको उनको भनाई छ ।

श्रीमाले दोस्रो बिहे गरेपछि उनी छोरालाई लिएर छुट्टै बसिरहेकी छन् । घरायासी काम र सिलाई गरेर उनले सन्तुष्टि लिइरहेकी छन् । पैसा कमाउन दुबई, कतार तथा मलेसिया जानुभन्दा राम्रो कमाई गाउँघरमै गर्न सकिने उनी बताउँछिन् । नआत्तिइ, धैर्य गरेमा एकदिन सफलताको शिखरमा पुग्ने उनी बताउँछिन् । सकेसम्म विदेश नजाने, गएपनि सीप सिकेर मात्र विदेश जान उनी सुझाव दिन्छिन् ।

आर्थिक स्थिति बलियो बनाउने एउटा विकल्पको रुपमा वैदेशिक रोजगारलाई लिन थालिएको छ । स्वदेशमा प्रशस्त कामको सम्भावना नदेखिएपछि पहिलो रोजाई नै वैदेशिक रोजगारमा जाने भन्ने सोचाई आम नेपालीमा आएको छ । वैदेशिक रोजगारसँगै यसका फाइदा र बेफाइदका विषयमा हामीले मसिनो गरी केलाउन भने सकिएको छैन । वैदेशिक रोजगारीका नाममा धेरै महिलाहरुले घलेलु हिंसा बेहार्नु परेको छ भने कतिपय त भनेको जस्तो काम नभेटिएका कारण विदेशी भूमिमा नै अलपत्र परेका छन् ।

धादिङको थाक्रे गाउँपालिका –२ समनटारकी सुमित्रा राई सिलाईकटाई व्यवसाय गर्दै आइरहेकी छन् । कामको खोजीमा १ वर्ष जोर्डनमा विताएकी उनी अहिले विदेशमा कमाउने भन्दा बढी घरमै बसीबसी कमाउँछिन् । विदेश गएर कमाउन नसक्ने पैसा र आत्मसन्तुस्टी उनले अहिले नेपालमै बसेर कमाउन थालेकी छन् । ‘पैसा त छँदैछ, सन्तुष्टि पनि कमाएको छु’, राईले भनिन्, ‘गाउँभरका दिदीबहिनीहरुले लगाउने कपडाको डिजाइन गरेर सिलाउने गरेकी छु ।’ खुसी खोज्न विदेश जाने होइन, राम्रो गर्न सके खुसी त झुपडीमै भेटिने उनी बताउँछिन् ।

सामान्य घर परिवारमा जन्मेकी सुमित्रा आर्थिक अवस्था टार्नका लागि विदेशीएका थिए । साथीहरुको लहैलहैमा विदेश गएका उनी सामान्य सिलाई सिकेर गएकी थिइन् तर कटिङतिर काम गर्नु परेको सुनाइन् । भनेको जस्तो काम नभएपछि एक वर्षमा नै घर फर्किइन् । घरमा आएर सिलाई कटाई तालिम लिएर आफैले व्यवसाय गर्न थालेको उनले बताइन् । ‘सिलाईकटाई तालिम लिए, अहिले आफैले व्यवसाय गर्न थालेकी छु’, राईले भनिन्, ‘महिनामा १५ देखि ३० हजारसम्म नाफा हुन्छ, एकजनालाई रोजगारी समेत दिएकी छु ।’ महिलाहरुले लगाउने हरेक प्रकारका डिजाइन सिलाएर दुई छोरीहरुलाई पढाई पनि रहेको उनले सुनाईन् ।

पैंसा कमाउनको लागि अधिकांश महिलाहरु बिभिन्न खाडीमुलक तथा अन्य देशमा जाने प्रचलन छ । कति अलपत्र परेका छन् भने कति हराएका पनि छन् । कसैले राम्रै कमाई गरिरहेका छन् भने कोही रित्तो हात फर्कनु परेको छ । अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने भन्दै केहीले स्वदेशमा नै व्यवसाय गरेर उदारणीय बनेका छन् ।

पछिल्लो समय बैदेशिक रोजगारीको लहर महिलाहरुमा बढिरहेको छ । घरदेखि नै महिला भएका कारण हुने शोषण र हिंसाका कारण तुलनात्मक रुपमा पुरुषका तुलनामा महिला कामदारहरु बढी जोखिममा रहेका छन् । कतिपय महिला घरमा विभेद, हिंसा, एकल, आर्थिक दायित्व, श्रीमान कमजोर भएका कारण बैदेशिक रोजगारीमा जान्छन् तर त्योभन्दा बढी हिंसा र शोषणको शिकार गन्तब्य देशमा हुनुपरेको अवस्था छ ।

#Women #GESI