उपचार नपाई नवजात शिशुको मृत्यु भएकाे अभिभावककाे दावी

Jun 9, 2019

तपेन्द्र कुँवर
जेठ २६, अछाम

कमलबजार नगरपालिकामा उपचार नपाई एक नवजात शिशुको ज्यान गएको छ । कमलबजार नगरपालिका वडा नम्बर ७ सेराका नन्दकला र प्रेम प्रसाद भाट दम्पतीको नवजात शिशुको वडा नम्बर ८ मा रहेको स्वास्थ्य चौकी ढाँकुमा ज्यान गएको हो ।

सुत्केरी ब्यथा लागेकी ३२ बर्षीया नन्दकला आज बिहान ९ बजे स्वास्थ्य चौकीको प्रसुती केन्द्रमा पुग्नुभएको थियो । २४ सै घण्टा प्रसुती सेवा उपलब्ध सूचिकृत संस्थामा २ जना अनमी भएपनि एक जना तालिम गर्न कमलबजार गएको तथा एक जना घरमा गएकाले नन्दकलाले उपचार पाउन नसकेको श्रीमान प्रेम प्रसाद भाटले बताउनु भयो ।

प्रसव पीडामा रहेकी नन्दकलाले मृत अवस्थामा शिशुको जन्म दिएकी हुन । “घरमा रहेकी अनमी लक्ष्मी विष्टलाई फोन गरी आईदिन अनुरोध गरेका थियौँ” प्रेम प्रसादले भन्नुभयो – “अनमीले अहिले आफु खाना पकाउन लागेको र बर्थिङ सेन्टरमा आउन नसक्ने बताईन्, मेरो छोरोको ज्यान गयो र श्रीमतिको स्वास्थ्यमा थप जटिलता आयो ।” भाट दम्पतीका यसअघि २ छोरी रहेका छन् ।

बच्चा पेटमा उल्टो रहेकाले समेत समस्या भएको आफन्तले जनाएका छन् । हाल स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहत रहेकाले कर्मचारी व्यवस्थापनको काम पनि स्थानीय तहले नै गर्ने स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपट ढुंगानाले बताउनु भयो । कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टले कर्मचारीको व्यवस्था भएको र ढिलो पुर्याएका कारण बच्चाको ज्यान गएको बताउनु भयो । घटना भएको खबर पछि ईलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी टोली परिचालन भई घटनाबारे जानकारी लिएको अछाम प्रहरीले जनाएको छ । जिल्लाका कतिपय स्वास्थ्य संस्थामा अनमी एवं कर्मचारी भएपनि व्यवस्थापन हुन नसक्दा स्थानीय सेवाबाट बञ्चित हुने तथा ज्यानै जाने समस्या भोग्न बाध्य छन् ।