गाउँमै रोजगारी पाएपछि फेरियो महिलाको जीवनशैली

Jan 21, 2019

आशिष मल्ल  

डडेल्धुरा, माघ ७

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ असिग्रामकी विष्नादेवी जोशी अहिले ५६ वर्षकी हुनुभयाे । आजभोलि आलु खन्ने कामको चटारो छ उहाँलाई ।

आलु खनेरै दिनको पाँच सय रुपैयाँ कमाउँनु हुन्छ उहाँ। गन्यापधुरा गाउँपालिका वडा नम्बर १ भेटामा रहेको ठुल्खाली क्षेत्र केही वर्ष पहिले उजाड रहेको र अहिले कायापलट भई आलुु बिउ खेती भइरहेको कुरामा विष्नादेवी स्वंयम अचम्मित हुनुहुन्छ।

‘म बिहे गरेर यस ठाँउमा आउँदा पुरै डाँडा बाँझो थियो खाली घाँस मात्र थियो।’ विगत सम्झदै उहाँले भन्नुभयाे, ‘यस्तो परिवर्तन होला भनेर हामीले सपनामा पनि देखेका थिएनौँ।’

उहाँले अघि थप्नु भयाे, ‘आजभोलि तरकारी पनि प्रशस्त खान मिल्छ, दिनकै ज्यालाबाट घरको खर्च पनि चलेको छ। हामी देउरानी जेठानी मिलेर बिहानसाझ घरको काम गरेर दिनभरी यही फर्म आएर हासो–मजाक गरी काम गर्छौ, घरमा परिवार पनि खुसी छन्।’ घरआगँनमै रोजगारी पाएपछि घर खर्चको साथै बालबालिकाको पढाई खर्चको पनि जोहो भएको उहाँले बताउँनुभयाे ।

‘यो आलु फर्म नखुल्दा हामी घरमा खाली बसेका थियौ’ उहाँ भन्दा केही पर खनिएका आलु बोरामा खन्याउँदै गरेकी पद्मा अवस्थीले भन्नुभयाे–‘पहिला आफ्नै खेतबारीमा काम गरेर दैनिकी चलाउन अप्ठ्यारो भएको थियो।’ ‘आजभोलि रोजगार पाएका छाँै, कमाएको पैसाले हाम्रा छोरा छोरीलाई पढाउँछांै, औषधि खर्च पनि यहीँबाट आएको पैसाले गर्छौ, केही पैसा बचत पनि भएको छ’ उहाँले थप्नुभयाे।

उहाँ जस्तै भागेश्वर एग्रिकल्चर एण्ड लाइभ स्टक प्राइभेट लिमिटेड भेटा ठुल्खालीमा ३० जना मजदुर काम गर्छन्। ती मध्य एक अर्की हुनुहुन्छ बसन्तीदेवी अवस्थी। उहाँ पनि दिनभर त्यही फर्ममा काम गर्नुहुन्छ तर उहाँको कथा भने फरक छ।

श्रीमान विदेश गएपछि उहाँको काँधमा घरको सम्पूर्ण जिम्मेवारी आयो। भारतमा श्रीमानले कमाउने ८ हजार रुपैयाँले  घर धान्न धौ–धौ परेको थियो। उहाँले भन्नुभयाे,–‘८ हजार रुपैयाँमा घरको सरसामान किन्नु पर्ने, छोराछोरीलाई पढाउनुपर्ने झन त्यसमा कहिले विरामी पर्यो भने रुँनु नहास्नु हुन्थ्यो।’

‘घरमा बुढी सासु, तीन छोराछोरी छन्। कहिले श्रीमानले पैसा पठाउलान भनेर कुरेर बस्थ्यौं।’ उहाँले थप्नुभयाे, ‘पठाएको पैसा पनि छिट्टै सकिहाल्थ्यो, छोराछोरी पनि खाजाको लागि कहिले ५० त कहिले १०० रुपैयाँ माग्थे एकदमै असजिलो परिस्थिती थियो।’

उहाँको दैनिकी त्यसै चलिरहेको बेला गाँउमा आलु बिउखेती फर्म खुल्यो। त्यहाँ काम गर्न थालेपछि उहाँको दैनिकी अहिले परिवर्तन भएको छ। अहिले उहाँ दिनकै चार सयदेखि पाँच सय कमाउनु हुन्छ । ‘उतिबेला समस्या थियो केटाकेटीको पढाईलाई पनि असर परिरहेको थियो तर अहिले राम्रै भएको छ।’ उहाँले भन्नुभयाे, ‘बाँझो जमिन राम्रो भएको छ। हामीलाई पनि रोजगारी मिलेको छ, पैसाको त्यति समस्या छैन आजभोलि।’

गन्यापधुरा गाउँपालिका–१ भात्काँडाकी नन्दादेवी अवस्थी, बिहानै घरको काम सकाउँनुहुन्छ। अनि उहाँको दैनिक शुरु हुन्छ आलु खन्ने। उहाँकाे कमाइ पनि राम्रै छ। यहिँ काम गरेरको पैसाले उहाँकाे घरको खर्च चलिरहेकाे छ।

‘यो फर्म खुलेपछि यहाँका हामी महिलालाई रोजगारी शृजना भएको छ। यहाँ काम गरेको पैसाबाट घरखर्च र बालबच्चाको पढाइ खर्च पनि यसैबाट चालिरहेको छ।’ उहाँले भन्नुभयाे,‘आजभोलि गाउँघरमा पनि खासै काम हुँदैन। यहाँका महिलाहरु बिहान घरको काम गर्छन, त्यसपछि यहाँ आएर काम गर्दछन्। कमाइ पनि भइरहेकै छ।’

८० रोपनी जमिन भाडामा लिएर फर्म संचालन
भागेश्वर एग्रीकल्चर एण्ड लाइभ स्टक प्राइभेट लिमिटेडका प्रमुख संचालक दत्तराज अवस्थी जिल्लाभरी घुमेर आलुको बिउको समस्या देखेपछि आफूहरुले यो आलु बिउ फर्म खोलेको बताउनु भयाे । ५ जना साथी मिलेर बाँझो जमीनलाई सदुपयोग, रोजगारीको वातावरण श्रृजना तथा सम्पूर्ण जिल्लामा बिउ आलुको गुणस्तर कायम गर्ने उदेश्यले फर्म सञ्चालन गरेको उहाँको भनाइ छ।

‘ठुल्खालीमा लगभग ८० रोपनी क्षेत्रको जमीन भाडामा लिएर हामीले यो फर्म खोल्यौं। अहिले दैनिक १० देखि ३० जनाले यहाँ रोजगारी पाएका छन्।’ उहाँले भन्नुभयाे, ‘पाँच जनाले २५ लाखको लगानी गरेर यही वर्ष ५० क्वीन्टल बिउ आलु र ७ हजार दाना पीभीएस लगाएका छौँ, यो बाँझो जमिनमा यस वर्ष चाहिँ खासै फल्ला जस्तो छैन, धेरै आम्दानी हुँदैन तर जमिनअनुसार ५ सय क्वीन्टल फलेको छ।’

यस सिजनमा फलेको आलु सित भण्डारमा राखी भदौमा यहाँका किसानलाई वितरण गर्ने योजना रहेको सञ्चालक अवस्थी बताउँनुहुन्छ। लगानी उठाउन कति समय लाग्ला? भन्ने प्रश्नमा उहाँले भन्नुभयाे,–‘हामीले लगाएको लगानी त २/३ वर्षमै उठ्ला तर यस क्षेत्रका किसानलाई रोजगारी दिएका छौँ हामीलाई त्यसमा गर्व लाग्छ । दैनिक ३० जनाले काम पाएका छन् त्यो नै ठूलो कुरा हो।’

यसपछि यसै क्षेत्रमा भैँसीपालन गर्ने योजना उहाँको छ। भैँसीपालन गरेर प्राङगारिक तरकारी खेतीसमेत गर्ने उदेश्य बोकेको उहाँको भनाइ छ। सडकबाटो अप्ठ्यारो भएकाले फलेका आलु ढुवानीमा समस्या हुने तथा जगंली जनावरले समेत समस्या गर्ने गरेको उनले अन्त्यमा दुखेसो समेत पोख्नुभयाे।

#Women #GESI