दाेगडाकेदार गाउँपालिकाले छाेरी जन्माउने अामाहरूलाइ दियाे प्राेत्साहन भत्ता

Aug 6, 2018

विनोद सिंह विष्ट

श्रावण २१, बैतडी


बैतडीकाे दोगडाकेदार गाउँपालिकाले छोरी जन्म दिएका दुइ सय बढी आमाहरूलाइ प्रोत्साहन भत्ता प्रदान गरेकाे छ । गाउँपालिकाभित्र गत आर्थिकमा छोरी जन्माएका २१२ आमाहरूलाई प्रोत्साहन स्वरुप प्रतिव्यक्ति एक हजारका दरले भत्ता वितरण गरिएकाे गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो ।

गत बर्षदेखिनै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार प्रोत्साहन भत्ता दिन सुरु गरेको थियो । नेपाल सरकारले स्वास्थ्यसंस्थामा अाएर सुत्केरी भएबापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप चार सय रुपैयाँ दिँदै आएकोमा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप एकहजार रुपैया प्रोत्साहन भत्ता दिन सुरु गरेको हो ।

छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो । 'हाम्रो समाजमा अझै पनि छोरा र छोरीमा विभेद गरिन्छ', उहाँले भन्नुभयो, 'हाम्राे याे प्रयासले छोराछोरी बीचको विभेद अन्त्य हुने विश्वास लिएका छौं ।'

छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा समानता कायम गर्नका लागि छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको उहाँको भनाई रहेको छ ।

दोगडाकेदार गाउँपालकाले छोरी जन्मिदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको स्थानिय कुत्ती भुलले बताउनुभयो । 'श्रीकोट स्वास्थ्य चौकीमा मेरो छोरी जन्मिदा थप एकहजार पाए', उहाँले भन्नुभयो, 'पैसा कमै भएपनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो ।'
छोरा जन्मिदा मात्रै खुसी हुने नेपाली समाजमा गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी भनेर गरिने विभेदमा कमी आउने श्रीकोट स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी ईन्चार्ज तथा अहेब प्रेम बहादुर चन्द बताउनुभयो । 'गाउँपालिकाले गरेको यो कार्यले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यलाई पनि खतरा हुँदैन', उहाँले भन्नुभयो, 'स्वास्थ्य क्षेत्रको विकासका लागी दोगडाकेदार गाउँपालिकाले गरेको यो कार्य निकै सर्हानिय ।'
गर्भाअवस्थामै छोरी भए गर्भ फाल्ने तथा भु्रणहत्यामा कमी ल्याउनका लागी गत भदौवाट प्रोत्साहन दिने निर्णण गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । महिलालाई हेर्ने दुष्टिकोण परिवर्तन गर्न यस्तो निर्णय गरिएको हो ।
छोरी जन्मिदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।