छाउगोठमै छन् छोरीबुहारी

सुर्खेत,  माघ १५

पञ्चपुरी नगरपालिका–६ कि कल्पना विक २८ वर्षकी हुनुभयाे । उहाँकाे अहिले ४ छोरी र २ छोरा छन् ।

उहाँ १४ वर्षको उमेरमै आमाबुबाले कल्पनाको विवाह गरिदिए । १५ वर्ष पुगेपछि महिनावारी सुरु भयो । पहिलो पटक महिनावारी हुँदा उहाँ घरपरिवार र आफन्तबाट पाँच दिनसम्म ओडारमा लुक्नुभयाे । नन्दहरूले उनलाई खाना लिएर दिन्थे, फर्किएर आइहाल्थे ।

पहिलो पटक महिनावारी भएपछि घरपरिवार, आमाबुवा र दाजुभाइबाट लुक्नुपर्ने चलन थियो । पाँच दिन पूरा भएपछि उहाँलाई सुनपानी छरेर आउन दिइयो । पछि घरदेखि केही टाढा छाउगोठ बनाइयो । त्यसपछि हरेक महिना महिनावारी हुँदा उहाँ नियमित रूपमा छाउगोठमा बस्दै आउँनुभयाे । बिहे गरिसकेपछि पनि उहाँको छाउगोठको बसाइँ रोकिएन ।

कल्पना मात्र होइन पश्चिम सुर्खेतका अधिकांश छोरी–बुहारीहरू अहिले पनि छाउगोठमै छन् । कतिसम्म भने छाउगोठमुक्त घोषणा गरिएका क्षेत्रमा समेत महिलाहरू पुनः छाउगोठमै फर्किएका छन् । साविकको बावियाचौर गाविसलाई वि.सं. २०६८ साल जेठमा छाउपडीमुक्त घोषणा गरिएको थियो । तामझामका साथ गरिएको घोषणा घोषणामै सीमित बनेको छ । त्यही क्षेत्रका महिलाहरू महिनावारी हुँदा छाउगोठमा बसिरहेका भेटिन्छन् ।

छाउपडी प्रथा मुक्त भएको सात वर्ष बितिसक्दा पनि यहाँका महिलाहरू छाउगोठ बस्न छोडेका छैनन् । अभियानका क्रममा गोठहरू भत्किए पनि सोचाइमा परिवर्तन आउन नसक्दा अहिले महिलाहरू कपडाका पालहरू लगाएर बाहिर बस्न बाध्य छन् । ‘पहिला त छाउगोठ थियो, संस्थाका मान्छे आएर भत्काइदिए’ कल्पनाले भन्नुभयाे, ‘छिमेकीको कुखुराको खोरमै छाउगोठ छ तर हामीलाई त्यहाँ बस्न दिंदैनन् ।’

छाउगोठमै भेटिएकी कल्पनाले जस्तोसुकै अवस्था भए पनि महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको बताउनु भयाे । ‘तीन दिनसम्मको लामो झरीमा पनि यसरी बसेको छु’ उहाँले भन्नुभयाे, ‘रातभर छाता ओढेर बसें, कपडा सबै भिजेर लगाउनै नमिल्ने भएका छन् ।’ महिनावारी हुँदा देउता रिसाउने डरका कारण पनि महिलाहरू छाउगोठमा बस्न बाध्य भएका छन् । ‘यसरी घरबाहिर बस्न मन त कहाँ लाग्छ र ?’ उहाँले भन्नुभयाे, ‘घरमा गए देवता बिग्रने भन्ने डर, नजाउँ भने यस्तो छ अवस्था । कहिले केटाकेटी खाना पकाएर दिन्छन्, कहिले भोकै भोकै बस्छु ।’

पञ्चपुरी नगरपालिकाकी उपप्रमुख मुक्ति रेग्मी पुरीले पश्चिमी क्षेत्रमा छाउपडी समस्या विकराल बन्दै गएको भन्दै यसलाई अन्त्य गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरू नगरपालिकाले सञ्चालन गर्ने बताउनु भयाे । ‘परम्परागत बुझाई र सोचका कारण यो समस्या यथावत छ, यसलाई हटाउनका लागि सोच परिवर्तन गर्नुपर्छ’, उहाँले भन्नुभयाे, ‘अब जसले यस्ता प्रथाहरूकायम गर्छ त्यस्ता व्यक्तिलाई नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चितसँगै कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्दछ ।’

पश्चिम सुर्खेतको पनि दलित समुदायमा छाउप्रथा अझ बढी देखिएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ६ मा ८० प्रतिशत दलितहरूको बस्ती छ । जहाँ छाउप्रथा अझ व्याप्त भएको स्थानीयबासिन्दाहरू बताउँछन् । पञ्चपुरी नगरपालिका वडा नम्बर ६ की वडा सदस्य अनिता विकले छाउपडी प्रथा अन्त्य गर्नका लागि सोचमा परिर्वतन ल्याउन जरुरी रहेको बताउँनुहुन्छ । ‘एक/दुई दिन रमझम कार्यक्रम गरेर क्षणिक परिवर्तन हुने हो, यहाँ सोच परिवर्तनको आवश्यकता छ’ उहाँले भन्नुभयाे । पछिल्लो पुस्ताले छाउपडीलाई हटाउनका लागि प्रयास भए पनि पुराना पुस्ताबाट अस्वीकार भएकै कारण समस्या भइरहेको उहाँकाे भनाइ छ । ‘अहिलेका कसैले पनि छाउपडी मान्नुपर्छ भन्दैनन् तर के गर्नु तिनै घरमा सासु ससुरा लगायत अभिभावकहरू छन् उनीहरूका लागि पनि छाउगोेठमा बस्नुपर्छ’ उहाँले भन्नुभयाे ।

‘आफूलाई त घरभित्र नै बस्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ’ पञ्चपुरी नगरपालिका वडा नम्बर ६ कि अमरा विक भन्नुहुन्छ ‘तर के गर्नु घरमा सासु ससुराले पहिलादेखि चलेको चलन बिग्रियो भने देउता रिसाउँछन् भन्नुहुन्छ, बाहिर बस्न बाध्य छौँ ।’ सोही ठाउँकी चन्द्रा विक पनि छाउगोठमा बस्न आफ्नो रहर नभइ बाध्यता रहेको बताउँनु हुन्छ।