काभ्रेको मण्डनदेउपुरमा बाढीका कारण क्षति

Aug 6, 2020

लगातार परेको वर्षातका कारण काभ्रेको मण्डनदेउपुर नगरपालिकाको विभिन्न वडाहरु जोखिममा परेका छन् । गएरातीको पहिरोले नगरपालिकाको वडा नं ६ मा दुई घरमा क्षती पुगेको छ । गोठ पनि पुरिएकाले सबै पशुचौपाय मरेको नगरपालिकाका प्रबक्ता डिल्लिप्रसाद आचार्यले बताउनुभयो । यस्तै सिपाघाटमा एक घरमा क्षती पुगेको छ । उहाँका अनुसार मानविय क्षती भने भएको छैन ।

बाढीले वडा नं ११जैशिथोक र पाँचखाल नगरपालिका जोड्ने चाखोलाको पक्की पुल पनि भत्काएको छ । पुल भत्किएपछि स्थानियवासीलाई वार पार गर्न र तरकारी, दुध लगायत अन्य सामाग्री ढुवानी गर्न समस्या भएको छ । सोही वडाको तरकारी संकलन केन्द्र पनि पुर्ण रुपमा क्षती पुगेको वडा अध्यक्ष माधव प्रसाद न्यौपानेले बताउनुभयो । नगरपालिकाको अन्य वडाहरुका सडक भासीने र भत्किने क्रममा रहेको बताईएको छ । इन्द्रावती, ढाडखोला, चाखोला लगायतका खोलामा बाढी आउदाँ किनारामा रहेको धान खेतमा बाढी पसेको छ । बाढीले वडा नम्बर ६, ७, ८ र ९ को खेत पुरिएको छ ।

किसानले लगाएको सयौं रोपनी धान खेत र तरकारी बाली नष्ट भएको छ । चाखोलामा आएका बाढीका कारण वडा नम्बर ११ मा रहेको पुलमा समेत क्षति पुगेको छ । यस्तै वडा नम्बर १, ५ र १० मा पहिरोका कारण बस्तीनै जोखिममा परेको नगरप्रमुख टोकबहादुर वाइवाले बताउनुभयो । वडा नम्बर ५ को करिब २५ घर उच्च जोखिममा परेका छन् । बाढीले पुर्याएको क्षतीको सबैे विवरण संकलन कै क्रममा रहेको प्रबक्ता आचार्यले बताउनुभयो ।