उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव

Jan 30, 2018

उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीहरु मर्कामा परेका छन । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको भए पनि हालसम्म तीनजना विशेषज्ञ डाक्टर मात्रै रहेका छन ।

अस्पतालमा भएका डाक्टर पनि बढी समय विदामा रहने गर्दा उपचारमा झनै समस्या हुने गरेको छ । विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित ७ नम्बर प्रदेशका अन्य छवटा पहाडी जिल्लाका बिरामीहरु उपचारका लागि अञ्चल अस्पताल धनगढी तथा नेपालगञ्ज लगायत भारत जान बाध्य भएका छन ।

हाल अस्पतालमा हाडजोर्नी, स्त्रीरोगसहित एकजना एम.डि.जि.पी डाक्टर रहेका छन । दरबन्दीअनुसारको डाक्टरका लागि सरकारसँग पटक पटक आग्रह गरेको भए पनि विशेषज्ञ डाक्टर नपठाउँदा उपचारमा समस्या भइरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेलले बताउनुभयो ।

बालरोग विशेषज्ञ डाक्टर नहुँदा उपक्षेत्रीय अस्पतालमा एकवर्ष पहिले स्थापना भएको एन.आइ.सि.यु सेवासमेत सञ्चालनमा आउन सकेको छैन । एन.आइ.सि.यु सेवा सञ्चालन नहुँदा यस क्षेत्रमा जन्मेदेखि २८ दिनसम्मका बिरामी बच्चाको उपचारका लागि नेपालगञ्ज वा धनगढी जानुपर्ने बाध्यता रहेको छ । दरबन्दी अनुसारका चिकित्सक नआउँदा यो क्षेत्रका बिरामी तथा सर्वसाधारणले समस्या भोगिरहेका छन । सुदुरपश्चिमका सातवटा पहाडी जिल्लाका नागरिकहरुलाई सेवा दिने उदेश्यले विक्रम संवत २०७० सालमा डडेल्धुरामा उपक्षेत्रिय अस्पतालको स्थापना भएको हो ।

सामुदायिक संचारकर्मी माधवी भट्टबाट

Member Comment