गाउँमै प्राविधिक शिक्षा

भगीरथ अवस्थी

बैतडी, असाेज २२ गते 

जिल्लाको दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोलाका पुष्कर भट्ट जेटीए पढेर संघसंस्थामा काम गर्दै हुनुहुन्छ । प्राविधिक शिक्षा पढ्नका लागि आर्थिक अभाव हुँदा उनले आफ्नो पढाईलाई अघि बढाउन सक्नुभएकाे थिएन । तर गाउँकै मणिलेक माविमा चालु शैक्षिक सत्रबाट आइएस्सी एजीको पढाई शुरु भएपछि उहाँ पनि भर्ना हुनुभएकाे छ । उहाँले भन्नुभयाे ‘आर्थिक अभावमा आफ्नो पढाईअघि बढाउन नसकेकाहरुका लागि गाउँमै प्राविधिक शिक्षाको पढाई हुन थालेपछि सजिलो भएको छ । प्राविधिक शिक्षा पढ्ने धोको पनि पुरा हुँदैछ । हामी जस्ता गाउँघरका विद्यार्थीहरुलाई सजिलो भएको छ ।’
बझाङ जिल्ला घर भएका अर्जुन खड्का सुख्खा फलफूल विकास केन्द्रमा प्राविधिक सहायक पदमा कार्यरत हुनुहुन्छ । सरकारी जागिरे भएपनि उनको पनि आइएस्सी एजी पढ्ने ठूलो धोको थियो । कार्यालय नजिकैको विद्यालयमा आइएस्सी एजीको पढाई हुन थालेपछि उनी पनि भर्ना हुनुभएकाे छ । उहाँले भन्नुभयाे ‘सरकारी काम छोडेर अन्यत्र गएर पढ्न सकिने स्थिती थिएन् । गाउँमै प्राविधिक शिक्षाको पढाई हुनथालेपछि मलाई पनि सजिलो भएको छ ।’

ग्रामीण क्षेत्रका नागरिकको प्राविधिक शिक्षामा पहुँच पुर्याउनका लागि विद्यालयमा तीन बर्षे आइएस्सी एजीको पढाई शुरु गरेको मणिलेक माध्यमिक विद्यालय गुरुखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनराज भट्टले बताउनु भयाे । उहाँले भन्नुभयाे ‘हामीले गाउँमै प्राविधिक शिक्षा पढ्न पाउने बालबालिकाहरुको चाहनालाई मध्यनजर गरेर आइएस्सी एजीको पठनपाठन कार्य शुरुवात गरेका हौं । गतसाल रामलीला महोत्सवको आयोजना गरेर केही रकम संकलन गरेका थियौं । स्थानीयहरुको सक्रियतामा विद्यालयमा प्राविधिक शिक्षा शुरुवात गर्न सफल भएका छौं ।’

मणिलेक मावि गुरुखोलामा मात्रै आइएस्सी एजीका लागि ४० विद्यार्थीले पढ्न पाउनेछन् । आर्थिक अभावमा अन्यत्र जान नसक्ने विद्यार्थीहरुलाई पनि गाउँमै प्राविधिक बिषयको पढाई हुन थालेपछि सजिलो भएको विद्यालयका प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताउनु भयाे । उहाँले भन्नुभयाे ‘खास गरेर हाम्रो समाजमा अझै पनि छात्राहरुलाई बाहिर पठाउने चलन छैन् । गाउँमै प्राविधिक शिक्षाको पठनपाठन हुन थालेपछि छात्राहरुको समेत प्राविधिक शिक्षामा पहुँच पुगेको छ ।’

मणिलेक मावि जस्तै जिल्लाका दर्जन बढी विद्यालयमा विभिन्न विधाका प्राविधिक बिषयहरुको पठनपाठन हुन थालेपछि विद्यार्थीहरु खुसी भएका छन् । आफ्नै गाउँमा प्राविधिक शिक्षा पढ्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको देहीमाण्डौंकी सरस्वती बोहराले बताउनु भयाे । उहाँले भन्नुभयाे ‘कक्षा १० उत्तीर्ण गरेर प्राविधिक शिक्षा पढ्न तराईका जिल्लामा जान सक्ने अवस्था थिएन् । गाउँकै विद्यालयमा आइएस्सी एजी पढ्न पाउँदा निकै खुसी लागेको छ ।’
देहीमाण्डौंकै रेनुका पन्त पनि आफ्नै गाउँको विद्यालयमा प्राविधिक शिक्षा पढ्न पाउँदा निकै खुसी देखिनु हुन्छ । उहाँले भन्नुभयाे ‘हामी छोरी मान्छेहरुलाई झन् सजिलो भएको छ । गाउँमै प्राविधिक शिक्षा पढ्न पाउँदा खुसी भएका छौं । प्राविधिक शिक्षा हाँसिल गरेपछि हामी पनि आफ्नो खुट्टामा उभिन सक्छौं ।’