गाउँका नेताहरू

May 18, 2020

एक्कैछिन है!

शीर्षकमा  नेता देख्ने बित्तिकै तपाईले के सम्झिनु भयो ?  बद्मासी , भ्रष्टाचार, भाषण  धेरै र काम थोरै गर्ने, आश्वासनको पोका देखाउँदै लोभ्याउने तर त्यो पोका छुन नदिने मान्छे ?

हैन हैन, तपाई यस्तो कुरा आफ्नो दिमागमा नल्याउनुस् । म यस्ता नेताहरूसँग भेट गराउँदैछु । जो भाषण गर्न जान्दैनन्, भ्रष्टाचार, बद्मासी के हो थाहा पाउँदैनन् । आश्वासन देखाउँदैनन् । तर आफ्नो गाउँको लागि र आफ्नो लागि राम्रो के हुन्छ सल्लाह गरेर समूहलाई मिलाउँछन् र समूहमा मिल्छन अनि काम गर्छन् ।

सबैभन्दा पहिला रोल्पाकी काजल थापा मगरसँग भेटौं है त ।

काजल, यो नाम सुन्ने बित्तिकै तपाईको दिमागमा के आयो कुन्नि ?  पङ्तिकारको दिमागमा चाँहि भारतीय अभिनेत्री काजल आएर एक फन्को नाँचेर गईन् । अनुमानले जिज्ञासा फुत्कायो । 

“काजल जीको परिवार पहिला इन्डिया बस्थ्यो?”

जवाफ आयो “हो ।”

“त्यहि त उहाँको नाम काजल रहेछ ।”

“हो हो ।”

हजुर, रोल्पाकी काजल थापा मगर । उमेरले २४ हिउँद र बर्खा काटिसकेकी तर भोगाईले त्यो भन्दा धेरै घामपानी सहेकी त्रिवेणी गाउँपालिका ७ की मगर । बिहानै पाँच/ साढे पाँच बजेतिर उठेपछि काजलको  दैनिकी सुरु हुन्छ । “सुरुमा  गाईवस्तुका लागि स्याउला काट्न जंगलतिर जान्छु, घर आएपछि खाना पकाउँछु, खान्छु, खुवाउँछु अनि अफिस जान्छु । दिनभरी अफिसमा काम गरेपछि साँझ फर्किएपछि पसलमा कोही छैन भने पसल हेर्छु नत्र घरको अरु काम गर्छु  र सुत्ने बेला एकछिन पढ्छु ।” एकै साँसमा काजलले सुनाउनुभयो ।

तपाईहरुले थाहा पाईहाल्नु भयो उहाँकै भनाईबाट कि उहाँ कार्यालयका काम गर्नुहुन्छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालयमा गरिबी निवारण तथा सहरी विकास मन्त्रालय अन्तर्गतको परियोजना, गरिबसँग विश्वेश्वर कार्यक्रमको सामाजिक परिचालकको रुपमा । उहाँको घरमा एक भाई, एक, बहिनी , श्रीमान र ४ वर्षका छोरा छन् । पसल पनि छ । उहाँ स्नातक तेश्रो वर्षमा अध्ययन गर्दै हुनुहुन्छ । यी सबै जिम्मेवारीका बीच पनि उहाँले थुर्पा रेडियो  श्रोता समूहको सहजकर्ता भएर काम गर्दै हुनुहुन्छ ।

“यति व्यस्त हुनुहुन्छ समूहका लागि समय कसरी मिलाउनु हुन्छ त?”

 

   “सबै मिलाउने हो । समूहको बैठकको लागि अगडि नै मिलाउने बाँकि काम पनि मिलाउने अनि गर्ने ।” 

 

  •    थुर्पा रेडियो श्रोता समूहकी सहजकर्ता काजलले साँच्चै समूह मिलाउनु भएको छ । समूहसँगै गाउँ मिलाउनु भएको छ । १५ जना      सदस्य रहेको समूहका सबै सदस्यहरूलाई आ ­–आफ्नो जिम्मवारी छ । जिम्मेवारी अनुसार आफ्नो घर नजिकैको सार्वजनिक निकायको सेवा प्रवाह,  त्यहाँको  काम कारबाहीकाे पारदर्शिता, जवाफदेहिताको बारेमा अनुगमन, निगरानी र खबरदारी गर्छन् ।  आफ्ना ठाउँका ती कुराहरु सबै  सदस्यहरूले समूहमा ल्याउँछन् र छलफल गर्छन् अनि सुधार गर्नुपर्ने रहेछ भने सुधारका पहल गर्छन् ।

        रेडियो श्रोता समूहको पहलमा  त्रिवेणी गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले नागरिक वडापत्र राख्यो, स्वास्थ्य चौकीले सूचना पाटि राख्यो, निस्ल्क पाइने औषधीको नाम नेपालीमा लेखेर टाँसियो, सरकारी कार्यालय तथा सरकारी विद्यालयमा सिसि  टिभी क्यामेरा राखियो, विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी जडान जस्ता काम भए । 

              समूहको अगुवाई गरिरहेकी काजलले बुझ्नु भएको छ ; समूहका सबै सक्रिय भएपछि आफू पनि सक्रिय भईन्छ । काम  गर्न हौसला बढ्छ । एउटा सक्रिय भएको देखेर अर्को पनि सक्रिय हुन्छ अनि सबै सक्रिय हुन्छन् ।  समूहका लागि आउने  तालिम, स्थानीय तहका बिभिन्न निम्तोमा पालैपालो जाने  गर्नाले पनि समूह सक्रिय हुने अनुभव उहाँको छ ।

“यो कसरी? ”

 “ कार्यक्रममा जानुपरे पछि हाम्रो समूहले के गरिरहेकाे छ ? बैठक कहिले बस्यो ? बैठकमा के निर्णय भयो ? हाम्रो समूहले के     गरेको छ ? भन्ने कुरा सबैले चासो राख्छन् । थाहा पाउन खोज्छन । आफ्नो ठाउँमा सक्रिय हुन्छन् ।” भौगोलिक हिसाबले टाढा-टाढा   रहेको रोल्पाका टोल तथा बस्तीहरूमा सबै सदस्यहरू आ-आफ्नो ठाउँमा सक्रिय भएर जिम्मेवारी अनुसार काम गर्दा  आफ्नो समूहका सबै सदस्य सक्रिय हुने र आफूलाई पनि नेतृत्व गर्न सहज हुने उहाँको भनाई छ । सच्चा नेतृत्वकर्ताले आफ्नो समय मिलाउने, आफ्ना समूहका सदस्यहरू मिलाउने र आफ्नो काम गर्ने तरिका मिलाउँछ, जुन  काम काजल गरिरहनु भएको छ ।

काजल वडा कार्यालयमा काम गर्नुहुन्छ । वडा कार्यालयमा आउने सेवाग्राहीहरू सुरुमा उहाँ सितै सोध्छन्, सहयोग माग्छन् । कामका लागि  आएकालाई उनीहरूको कामका लागि प्रक्रिया बुझाउने, निवेदन केही लेख्नु परे लेखिदिने लयायतका सबै काम गरिदिनु  हुन्छ । सेवाग्राहीहरू प्राय वडा सचिवको हस्ताक्षर गराउन मात्रै वडा सचिव कहाँ पुग्छन् । 

            स्थानीय तहमा पर्ने कामको बारेमा होस् की सार्वजनिक निकायमा हुने कामकारबहीमा कसरी सहभागी हुने भन्ने बारेमा रेडियो श्रोता समूहका सहकर्मी मात्रै हैन गाउँका अरू मान्छेहरू पनि उहाँलाई नै सोध्छन् । केही नयाँ काम गर्नुप¥यो भने काजललाई नै अघि सार्छन् । उसो त रेडियो श्रोता समूहमा नेतृत्व गरिरहेकी उहाँकी बहिनी चाँदनीको बिहे भएपछि समूह सहजकर्ताको जिम्मेवारी  लिँदा उहाँले केही महिना मात्रै काम गर्ने सर्तमा लिनु भएको थियो । तर, अहिले न उहाँलाई छोड्न मन लागेको छ न त समूहका साथीहरुले नै छोड्न दिन्छन् । जनप्रतिनिधिले स्थानीय तहको हरेक कार्यक्रममा बोलाउँछन् । केही निर्णय गर्नुप¥यो भने वडा कार्यालयले समूहकाे कुरा पनि सुन्छ र निर्णय गर्छ ।

“तपाई आफूलाई सफल नेता मान्नु हुन्छ?”

“खै? तर मैले भनेपछि सबैले मान्नु हुन्छ । केही कुरा अनुरोध गरें भने नाँई भन्नु हुन्न । ।”

अहिले उहाँ आफ्नो गाउँघरमा स्थानीय तहमा के भैरहेको छ? स्थानीय तहको गतिबिधिमा किन चासो राख्ने जस्ता कुरा बुझाउनु हुन्छ । स्थानीय तहको योजना छनौट प्रक्रियामा सहभागी हुन भन्नुहुन्छ । त्यसको अगुवाई गर्नुहुन्छ । गरिबी निवारण, आर्थिक विकास, दिगो विकास लगायतको क्षेत्रमा काम गर्ने रुडास नामक स्थानीय गैर सरकारी संस्थाको उपाध्यक्ष समेत उहाँलाई चुनिएको छ । यसरी, आठ वर्ष अघि बुवा र ७ महिना अघि आमा बितेपछि एक भाई र बहिनीको जिम्मेवारीसँगै आमाले चलाईरहेको पसल, घरव्यवहार, छोराको स्यहार, कार्यालयको जिम्मेवारी पूरा गरिरहेकी काजल बि.एड तेश्रो वर्षमा अध्ययन गर्दै हुनुहुन्छ । व्यवहारिक ज्ञान मात्रै नभएर शैद्धान्तिक ज्ञान पनि चाहिने रहेछ भन्ने लागेपछि उहाँले केही वर्षको अन्तरालमा फेरि पढाईलाई निरन्तरता दिनु भएको हो । अहिले उहाँ गाउँकी ‘नेता’ हुनु भएको छ ।

अब लागौं कैलालीतिर । प्रेम चौधरीलाई भेट्न ।

भर्खरै गाउँ विकास समिति स्तरिय बाल क्लवका संयोजक हुनुभएको थियो उहाँ । गाविसको एउटा कार्यक्रममा बोलाईएको थियो । कार्यक्रममा परिचयको क्रम सुरु भयो । सबैले पालैपालो आफ्नो परिचय दिए । उहाँको पालो आयो । उठ्नुभयो र भन्नुभयो “नमस्कार मेरो नाम मसुरिया चौधरी।”

सबैजना गलल्ल हाँसे । सबै जना हाँस्नुको कारण थियो मसुरिया उहाँको नाम नभएर गाउँको नाम हो र उहाँको नाम प्रेम चौधरी । आत्तिएको बेला हडबडिमै उहाँले आफ्नो ठेगानालाई नाम बताउनु भएको थियो । कार्यक्रम सञ्चालकले सुरु सुरुमा यस्तो हुन्छ भनेर सजिलो बनाई दिन खोजे तर, कार्यक्रम भरी उहाँलाई असहज लागिरह्यो ।

     त्यो कार्यक्रमबाट फर्किएपछि प्रेमलाई बोल्न जान्नुपर्छ भन्ने लागिरह्यो । उहाँ बाख्रा चराउन जाँदा सबैभन्दा ठूलो बाख्रालाई प्रमुख अतिथी बनाउनुहुन्थ्यो, अरु बाख्रालाई अतिथी मान्नुहुन्थ्यो र कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो । यसरी अभ्यास गर्दागर्दै कार्यक्रममा मज्जाले बोल्ने हुनु भयाे ।   गाउँमा तीन वर्षको एउटा परियोजना आयो र लकस्टार रेडियो श्रोता समूह गठन गरियो । साझा सवाल, साथीसँग मनका कुरा लगायतका रेडियो कार्यक्रम समूहमा बसेर सुन्न थाल्नुभयो । कार्यक्रम सुन्दा सुन्दै महसुस भयो ; रेडियो कार्यक्रमले सूचना दिने रहेछ र आफैसँग सूचना भएपछि बोल्न आउँदो रहेछ । मान्छे भन्दा पछि उससँग भएको सूचना बोल्छ भन्ने थाहा पाएपछि उहाँले परियोजना सकिएपछि पनि रेडियो कार्यक्रम सुन्न छाड्नु भएन । यसैबीच जिल्लामा सखी एफएम खुलेपछि केही समय संवाददाता भएर काम गर्नुभयो । केही समयमा रेडियो बन्द भएपछि यो यात्रामा पूर्णविराम लाग्यो । तर, उहाँको रेडियो रहर मरेको थिएन ।

             यस्तैमा फेरि गाउँमा आयो अर्को परियोजना, पारस्परिक जवाफदेहिता र गठन गरियो मसुरिया रेडियो श्रोता समूह । सहजकर्ता हुनुभयो प्रेम चौधरी । यो परियोजना अन्तर्गत उत्पादन हुने रेडियो कार्यक्रम साझा बोली सुन्ने र छलफल गर्ने गर्दागर्दै स्थानीय तहका धेरै सवालका बारेमा थाहा भयो । देश संघीयतामा गएका बखत् सुरु भएको याे कार्यक्रम निक्कै उपयोगी त लाग्यो नै, आफ्नो समूह सहित रेडियो कार्यक्रम सुनेर आफूले धेरै कुरा बुझ्नुभयो र बुझाउनु भयो । रेडियो श्रोता समूह मार्फत साथीहरुसँगै बाल विवाह विरुद्धको, स्थानीय तहको निर्वाचनका बेला भोट हाल्ने बिधि लगायतको बारेमा सडक नाटक प्रस्तुत गर्नुभयो, स्थानीय स्तरका बिभिन्न सवालमा जनप्रतिनिधिहरुसँग छलफल गर्नुभयो, स्थानीय तहको योजना छनौट प्रक्रिया, सार्वाजनिक सुनुवाई, सार्वजनिक परीक्षण जस्ता कार्यक्रममा सहभागी हुन थाल्नु भयो । 

           २०७३  सालको माघ १ गते गाउँमा भलमन्सा (थारू समुदायको गाउँमा नेतृत्व गर्ने मुख्य व्यक्ति) चयन गर्न कार्यक्रम भैरहेको थियो । कार्यक्रमका सञ्चालक हुनुहुन्थ्यो प्रेम चौधरी । भलमन्सा को हुने भन्ने बारेमा छलफल भैरहँदा एकजना कसैले प्रेमको नाम लियो । त्यसपछि धेरैले ताली बजाए र दुईचार जनाले नाक खुम्च्याए । धेरैको तालीको अगाडि दुईचार जनाको नाक खुम्च्याई काम लागेन । प्रेमलाई महसुस भयो रेडियो श्रोता समूहको नेतृत्व गर्दा गर्दै उहाँ भित्रको नेता अर्थात नेतृत्व गर्ने क्षमता अरूले देख्न थालिसकेका रहेछन् । त्यतिबेला २१ वर्षका उहाँले २ वर्ष भलमन्सा भएर गाउँको नेतृत्व गर्नुभयो । धेरै योजनाहरू ल्याउनु भयो । ती योजनाको उपभोक्ता समितिमा आफू पनि बस्नुभयो र अरुलाई पनि बसेर काम गर्न प्रोत्साहन गर्नुभयो ।

         गाउँको डुवान क्षेत्रमा तटबन्ध निर्माण लागि १२ लाखको योजना, एैठाँ गाउँको करिब ४ किलोमिटरको बाटो ग्रावेलका लागि बजेट प्रेमकै पालामै बिनियोजन भयो र काम सम्पन्न भयो भने गाउँमा लक्षित वर्गका लागि कार्यक्रम पनि आउन थाल्यो ।  गाउँका मानिस स्थानीय तहको योजना छनौट प्रक्रियामा सहभागी हुन थाले । उहाँले हास्दै सुनाउनु भयो “यो भन्दा अघि गाउँमा योजना छनौट प्रक्रिया के हो भन्ने नै थाहा थिएन ।” उहाँले थप्नुभयो “कोरोनाका बेला दैनिक ज्यालादारी मजदुरहरुलाई खाद्यान्न दिने सुनेपछि केही व्यक्तिहरु अस्ति मेरो घरमा आएर माग्नुभयो । मैले वडा कार्यालयमा निवेदन लेख्नुपर्छ भनेर लखिदिएँ ।” कोरोनाको बेला मात्रै हैन ।  विद्यालयमा छात्रवृत्ति पाइन्छ, योजना छनौटमा हामीले कार्यक्रम माग गर्न पाउँछौं भन्दै कुरा बुझाउने, त्यसमा सहजीकरण गर्ने र सँगसँगै स्थानीय तहसँग समन्वय गर्ने काम पनि उहाँ गर्नुहुन्छ । जनप्रतिनिधिहरूसँग राम्रो चिनजान र सम्बन्ध छ । स्थानीय तहको हरेक कार्यक्रममा उहाँ र उहाँको मसुरिया रेडियो श्रोता समूहलाई निम्तो आउँछ अनि सहभागी गराईन्छ । अहिले ७ महिनादेखि वल्र्ड भिजन नाम संस्था अन्तर्गत उहाँ सामाजिक परिचालक भएर काम गरिरहनु भएको छ । यो काम गरिरहँदा पनि उहाँ जो कोहिलाई भन्न छुटाउनुहुन्न “रेडियो कार्यक्रम सुन्नु, हामीलाई धेरै चाहिने कुरा आउँछ।”

           स्नातकको अन्तिम वर्षमा अध्ययन गर्दै गरेका प्रेम भन्नुहुन्छ आफ्नो व्यक्तित्व विकास गर्न मौका खोज्नुपर्छ, अघि सर्नुपर्छ, जिज्ञासु हुनुपर्छ, सिक्नुपर्छ र निरन्तरता दिनुपर्छ । उहाँको एउटा बुझाई र संकल्प पनि छ, आफू चढेको भ¥याङको पहिलो खुड्किलो बिर्सन हुन्न र मेरो समुदायको लागि केही राम्रो गर्छु आफ्नो तर्फबाट । आफ्नो समूहको तर्फबाट ।

अब म तपाईलाई पाल्पाकी टुकामाया थापासँग भेटाउँछु है । 

भर्खर भर्खर स्थानीय निकायहरु स्थानीय तह भएका थिए । पाल्पाकाे तिनाउ गाउँपालिकाले लक्षित वर्गको लागि बजेट छुट्याएको थिएन । टुकामाया थापा सहजकर्ता रहको अर्घाछाप रेडियो श्रोता समूहलाई लाग्यो किन होला त लक्षित वर्गका लागि बजेट नछुट्याएको, पहिला त छुट्याउँथ्यो । सबैले वडाध्यक्षलाई सोध्ने विचार गरे र सोधे । वडाध्यक्षले अब लक्षित वर्गका लागि बजेट छुट्टिदैन भने । सबैलाई लाग्यो वडाध्यक्षले भनेपछि ठिकै होला । तर, त्यसको केही दिन पछि उनीहरूले रेडियो कार्यक्रम साझा बोली सुनेर थाहा पाए लक्षित वर्गका लागि बजेट नछुट्टिने हैन आवश्यकता अनुसार स्थानीय निकाय हुँदा छुट्याइने गरेको ३५ प्रतिशत भन्दा पनि धेरै छुट्याउन सक्ने रहेछ स्थानीय तहले । यहि सूचनाको आधारमा समूहका सदस्यहरू स्थानीय तहमा गएर कुरा राखेपछि लक्षित वर्गको लागि बजेट छुट्टियो । त्यसपछि लाग्यो टुकामाया थापा र अरूलाई पनि सबै काम कुरोको लागि थाहा पाउन आवश्यक छ ।

              त्यसपछिका दिनमा थापाकै अगुवाईमा समूहका  सबैलाई नियमित रुपमा रेडियो सुन्न भेला गर्ने, छलफल गर्ने, स्थानीय तहमा क–कसले के कसरी सोधखोज गर्ने हो जिम्मेवारी बाँडफाँड गर्न थालियो । सबै सदस्यहरु पनि यसमा सक्रिय हुन थाले । रेडियो श्रोता समूह बाहेक पहिला आफू आवद्ध रहेको महिला समूह, वन उपभोक्ता समूह मार्फत बिभिन्न कार्यक्रममा सहभागी हुँदा फेरि टुकामाया थापालाई लाग्यो थाहा पाएपछि कुरा बोल्न, सहि गलत भन्न सकिने रहेछ ।

             योजना छनौट प्रक्रियाको बेला बिभिन्न गाउँमा बिभिन्न योजनाहरू परे । टुकामाया थापाहरूको टोलमा कुनै योजना परेन । उहाँहरूले थाहा पाउनु भयो अर्को गाउँमा महिलाहरूका लागि पनि बिभिन्न कार्यक्रम आएको रहेछ तर उहाँहरूको गाउँमा केही पनि योजना परेन । त्यसपछि उहाँहरुले भन्नुभयो महिलाका लागि छुट्याइएको बजेट हामीलाई पनि देऊ, योजना हामीलाई पनि चाहिन्छ । स्थानीय तहले अर्को गाउँमा परेको महिलाको २ वटा कार्यक्रम मध्ये एउटा कार्यक्रम टुकामाया थापाहरूको टोलका महिलाका लागि पा¥यो । अनि फेरि टुकामाया थापाले थाहा पाउनु भयो बोलेपछि काम पनि हुने रहेछ ।

                   सुरुमा थाहा पाउनु पर्ने रहेछ, थाहा पाएपछि बोल्नुपर्ने रहेछ र बोलेपछि काम हुन रहेछ भन्ने कुरा थाहा पाउँदा पाउँदै     टुकामाया थापाले अर्को कुरा पनि थाहा पाउनु भयो । उहाँले नेतृत्व गर्न सक्नु हुन्छ भन्ने कुरा। उहाँले भनेको समूहको साथीहरुले मान्छन्  भन्ने कुरा। जनप्रतिनिधिसँग उहाँले आफ्नो कुरा राख्ने र जनप्रतिनिधिलाई सहमत गराउन सक्नु हुँदो रहेछ भन्ने कुरा । यो यस कारण पनि लाग्यो कि उहाँलाई  अरू समूहको पनि नेतृत्व गर्नुस् भन्न थालियो । स्थानीय तहले कार्यक्रममा बोलाउन थाल्यो । निर्णय प्रक्रियामा सहभागी गराउन थाल्यो । उहाँ अहिले रेडियो श्रोता समूहको सहजकर्ता मात्रै नभएर वडास्तरिय महिला समूहकी सचिव, शिद्धबाबा स्वावलम्वन बचत तथा सहकारी संस्थाकी अध्यक्ष र सामुदायिक वन समन्वय समितिको सह–सचिव हुनुहुन्छ ।

           उहाँ अहिले बिभिन्न समूहहरूलाई, आफ्नो गाउँठाउँ र टोलका महिलाको नेतृत्व गर्नुहुन्छ । यो कसरी सम्भव भयो ? भन्ने प्रश्नमा उहाँको जवाफ छ ; गर्दागर्दै, सिक्दासिक्दै । यो भन्दै गर्दा उहाँले नीतिको कुरा थाहा दिने रेडियो कार्यक्रम साझा बोलीलाई जस दिन छोड्नु हुन्न । राम्रो नेता बन्नलाई के गर्नुपर्ने रहेछ त ? भन्ने सवालमा उहाँको जवाफ छ “स्वार्थ छाड्न सक्नुपर्ने रहेछ । पहिला म भन्दा अरूका लागि सोच्न सक्नु पर्ने रहेछ । सबैको लागि राम्रो कुरा सोच्न सक्नु पर्ने रहेछ अनि जो पछाडि छ, उसलाई आगडि आउन वातावरण बनाउनु पर्ने रहेछ ।”

              अहिले उहाँको समूहका महिलाहरु आत्मनिर्भर भएका छन् । उहाँको टोल अर्घाछाप, च्याउ पकेट क्षेत्र भएको छ । खानेपानीको समस्या हटाउन पहल भैरहेको छ । विद्युतको सुविधा थिएन समूहकै पहलमा विद्युतको सुविधा भयो । यति मात्रै हैन स्थानीय सेवा प्रदायक निकायको सेवा प्रवाहको बारेमा पनि निगरानी गर्ने, अनुगमन र खबरदारी गर्ने काम पनि टुकामायाको समूहले गर्छ । स्थानीय स्वास्थ्य चौकी साँझ ५ बजेसम्म खुल्नुपर्नेमा दिउँसो १/२ बजे नै बन्द गर्ने, स्वास्थ्यकर्मी नहुने, नि: शुल्क पाईने औषधी धेरै लगेको भनी हस्ताक्षर गराउने तर थोरै दिने गर्ने काम भएको थाहा पाएपछि यस विषयमा स्वास्थ्य चौकी, स्थानीय तहका जनप्रतिनिधि सबैको बीचमा कुरा राखेपछि यो समस्या समाधान भएको जस्ता  धेरै उदाहरण  छन् ।

           १९ वर्षको उमेरमा बिहे भएकी टुकामाया अहिले ३८ वर्ष पुग्नु भयो । बिहे गर्दा आईए पास गरेकी टुकामायालाई नेतृत्व गर्दागर्दै, कुराहरु बुझ्दा बुझ्दै पढाईको महत्व लाग्यो र फेरि स्नातकमा भर्ना हुनुभयो र अहिले पढ्दै हुनुहुन्छ । श्रीमान र दुई छोरीकको सहयोग अनि समूहका सबै जनाको माया, सहयोग र विश्वासले उहाँलाई काम गर्न प्रेरित गर्ने गरेको उहाँ बताउनु हुन्छ । उहाँका लागि आफ्नो समूह र स्थानीय जनप्रतिनिधिले गरेको विश्वास सबै भन्दा ठूलो हो । यो विश्वासको कदरको लागि उहाँ आफ्नो नेतृत्व जिम्मेवारी पूर्वक निभाउने कोशिसमा हुनुहुन्छ ।

गाउँका नेताहरू, जो नेतृत्व गरिरहेका छन् तर आफूलाई नेता ठान्दैनन ।  न उनीहरुको कुनै ठूलो स्वार्थ छ न त ठूलो चाह । आफ्नो जिम्मेवारी निष्ठा पूर्वक निभाउँछन् । काम गरिरहेका छन्  र ती कामलाई काम हैन, जिम्मेवारी र कर्तव्य सम्झिन्छन् । फलेको बृक्ष ननुहेको कहाँ छ र?