स्थानीय सभाका उपसमितिकाे पुनर्गठन

सिन्धुली, माघ २६

गोलन्जोर गाँउपालिका ५ रतनचुरा सिन्धुलीमा शुक्रबार स्थानीय सभाको उपसमितिहरुकाे पुनःगठन गरिएको छ । मानव अधिकार सचेतना विकास केन्द्र हुराडेक नेपाल दोलखाद्वारा सिन्धुली जिल्लामा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सन्चालन भएको स्थानीय सभाका उपसमितिहरुकाे पुर्नगठन गरिएको हो ।


शिक्षा, स्वास्थ्य, कृषि र विपद् व्यवस्थापनसम्बन्धी ४ ओटा बिषयमा उपसमितिहरु गठन गरिएको छ  । स्वास्थ्यमा केशब बरालको संयोजकत्वमा ५ सदस्य, शिक्षामा डम्बर बिक्रम बस्नेतको संयोजकत्वमा पाँच सदस्य, कृषिमा चुडाराज शर्माको संयोजकत्वमा पाँच सदस्य र विपद् व्यवस्थापन सम्वन्धी गोविन्द लुङङ्गेलीको संयोजकत्वमा पाँच सदस्य रहने गरी स्थानीय सभाको उपसमिति पुनःगठन गरिएको हो ।

४ ओटै उपसमितिले शुक्रबार नै बिषयगत रुपमा गोलन्जोर गाँउपालिका ५ मा देखिएका समस्याहरु माथि छलफल गरेको छ । छलफलबाट आएको समस्याहरु प्रस्ताव गरी वडा कार्यलयलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । गोलन्जोर गाँउपालिका ५ मा स्वास्थ्यको सवालमा छलफल गर्दा स्वास्थ्य बिमामार्फत जनताले उपयुक्त सेवा नपाएको, स्वास्थ्य सेवा प्रदानमा भवनको अभाब भएको, सामुदायिक स्वाथ्य ईकाईमा कर्मचारी औषधी अभाव लगायतको समस्या आएकोले वडा कार्यलयमा ध्यानाकर्षण गराउने लिखित निर्णय भएको हो ।

शिक्षामा, दरवन्दीअनुसार शिक्षक नगुगेको, निशुल्क शिक्षा प्रभाबकारी नभएको, सरकारले शिशु कक्षादेखि ५ कक्षासम्म बिद्यार्थीको लागि गरेको खाजाको व्यवस्था प्रभाबकारी नभएको, विद्याालयमा भौतिक संरचानाको अभाव भएको, जनता मावि खनियाखर्क गत वर्ष एसईईमा निल गएको जस्ता शिक्षामा व्यापक सुधार गर्न पर्ने भएकोले वडालाई ध्यानाकर्षण गराउने निर्णय गरेको स्थानीय सभा उपसमितिका शिक्षा संयोजक डम्बर बिक्रम बस्नेतले बताउनुभयो । 

कृषिमा दक्ष कृषि प्राविधिकको अभाव, तरकारी, फलफूल जस्ता कृषकले उत्पादन गरेका कृषि जन्य सामग्री  बेच्नको लागि बजार व्यवस्थापनको अभाव पालिकाले कृषकहरुको लागि दिने कृषि अनुदान, कृषि सूचना, कृषकसम्म आईनपुगेकोले सम्बन्धित निकाय वडा कार्यलयमा नै ध्यानाकर्षण गराउने निर्णय गरेको कृषि उपसमितिको संयोजक चुडाराज शर्माले बताउनुभयो ।

विपद् व्यवस्थापनसम्बन्धी, भूकम्प प्रतिरोधि घर निर्माण कार्यमा ढिलाई भएको भूकम्प पीडितले पाउने अनुदान किस्ता समयमा नै नपाएको, जोखिमयुक्त बस्तीहरुलाई व्यवस्थित नगरेको, ऐलानी जग्गामा घर हुनेहरुको लागि  घर बनाउन समस्या भएको जस्ता विषयमा गोलन्जार गाँउपालिका ५ का वडा अध्यक्षलाई ध्यानाकर्षण गराउने लिखित निर्णय भएको छ । गोलन्जोर गाँउपालिकामा गठन भएको स्थानीय सभाको उपसमितिले यस्ता विषयगत सवालहरुलाई कार्यन्वयन गर्ने समुदायमा निरन्तर पैरवीसमेत गर्ने बताएका छन् ।