सार्वजनिक सुनुवाईका क्रममा नगरपालिकाको १२ बुँदे प्रतिबद्धता

ओखलढुंगा जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले सेवाग्राहीहरुलाई दिँदै आएको सेवाको गुणस्तर सुधार गर्दै पारदर्शिता र जवाफदेहिता बढाउने प्रतिबद्धता ब्यक्त गरेको छ । गत माघ १७ गते बुधवार रुम्जाटारमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका क्रममा नगरपालिकाले १२ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै सो प्रतिवद्धता ब्यक्त गरेको हो ।

नगरपालिकाले विकास निर्माणलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षका सबैखाले विकास योजनाहरु फागुन मसान्तभित्रै सम्झौता गरिसक्ने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । त्यस्तै सबै वडा कार्यालयहरुमा इन्टरनेट सेवा जडान गर्ने, नगरपालिकाको आर्थिक श्रोत बृद्धि गर्न पेश्की र बेरुजु शून्य बनाउने र एकिकृत सम्पत्ति कर व्यवस्थित बनाउने प्रतिबद्धता पनि नगरपालिकाले गरेको छ ।

सामाजिक सुरक्षा भत्ता पाउनेहरुको फोटोसहितको अभिलेख राख्ने, स्वास्थ्य र शिक्षाको गुणस्तरियता कायम गर्ने, रुम्जाटार विमानस्थलमा उडान नियमित गर्न पहल गर्ने, भूकम्पपीडितले अनुदान प्राप्त गर्न भएका कठिनाई समाधान गरी अनुदान सहजताका साथ उपलब्ध गराउने, निर्माण सम्पन्न भई अनुदान नपाएका घरहरुको सुधार गरी अनुदान उपलब्ध गराउन पहल गर्ने र विद्युतिय नागरिक बडापत्र राख्ने लगायतका प्रतिबद्धता समेत नगरपालिकाले गरेको छ ।

पारस्परिक जवाफदेहिता परियोजना मार्फत ईन्सेकसंगको सहकार्यमा आयोजना गरिएको सार्वजनिक सुनुवाईपछि नगरपालिकाले यस्तो प्रतिबद्धता सार्वजनिक गरेको हो । सार्वजनिक सुनुवाईपछि जारी गरिएको प्रतिबद्धतापत्रमा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। सार्वजनिक सुनुवाइमा संघीय व्यवस्थापिकाका सांसद यज्ञराज सुनुवार, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त लगायतका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको समेत उपस्थिती थियो ।

सामुदायिक संचारकर्मी विएन श्रेष्ठबाट

 

Member Comment