कृषक ठग्ने कृषि प्राविधिकलाई ६ महिना जेल सजाय !

ओखलढुङ्गा जिल्ला अदालतले कृषक ठग्ने कृषि प्राविधिकलाई ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगा अन्तर्गत खिजीफलाटे कृषि सेवा केन्द्रका तत्कालlन प्रमुख सिंहेश्वर महतोलाई उक्त फैसला सुनाएको हो । जिल्ला अदालत ओखलढुंगाले कृषकलाई ठगी गरेको अभियोगमा कृषि सेवा केन्द्रका तत्कालीन प्रमुख महतोलाई ६ महिना कैद र २० हजार रुपैँया जरीवानाको फैसला सुनाएको छ ।

कृषि सेवा केन्द्र प्रमुख महतोले कृषकसँग विभिन्न वहानामा धोका दिइ ठगी गरेको ठहर गर्दै जिल्ला न्यायधीश कैलाश केसीको एकल इजलाशले हालै उक्त फैसला सुनाएको हो । सेवा केन्द्रमा कार्यरत रहँदा अलैँची खेती गर्ने कृषकहरुलाई तालिम सञ्चालन गर्ने भनि कृषि वन तथा वातारण समितिबाट १० हजार रुपैँया लिएका थिए ।

त्यस्तै तरकारी खेतीका लागि योजना पारिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग २ हजार रुपैँयाका दरले १०-१० हजार रुपैँया गरी २० हजार रुपैँया लिएको देखिएकाले मुलुकी ऐनको ठगी महलको ४ नम्बर अनुसार ६ महिना कैद र विगो अनुसार जरिवाना फैसला भएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

आफुहरुलाई प्रलोभनमा पारि ठगी गरेको भन्दै कृषकहरुले २०७३ साल भदौ २१ गते जिल्ला अदालत ओखलढुङ्गामा मुद्दा दर्ता गराएका थिए । सोही अनुसार जिल्ला अदालत ओखलढुंगाले उक्त मुद्दामा सुनुवाइ गर्दै गत माघ १७ गते सो फैसला गरेको हो । महतो हाल सप्तरी जिल्लामा कार्यरत रहेका छन् ।

सामुदायिक संचारकर्मी विएन श्रेष्ठबाट

Member Comment