मल्लोढोलेका पहिरो प्रभावित परिवारलाई राहत वितरण

Aug 12, 2019

जयराज अवस्थी

श्रावण २७, बैतडी 

बैतडीको सुर्नया गाँउपालिका वडा न. ८ को मल्लोढोलेका पहीरो प्रभावित परीवारलाइ रहात वितरण गरीएको छ । सतबाँझ श्रीभावर सडकबाट खसेको पहिरोले विस्थापित भएका ५ परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले तत्कालिक राहत वितरण गरेको रेडक्रसका मन्त्री रमेश भण्डारीले जानकारी दिनुभयो ।

पहिरो प्रभावित परीवारहरुलाइ त्रिपाल, कम्बल, भाँडाकुँडा लगायत गैरखाद्य राहत सामग्री वितरण गरिएको भण्डारीले जानकारी दिनुभयो । सुर्नया ८ का अम्मरसिंह बोहरा, धौलसिंह बोहरा, लालबहादुर बोहरा, महावीर बोहरा र डम्मर बोहराको परिवारलाई राहत वितरण गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । पहिरोले उनिहरुको घरमा क्षति पुर्याएपछि अहिले पाँचै परिवार अहिले छिमेकीको घरमा बाँस बसीरहेका छन् । पहिरोबाट रमेश बोहराको परिवार पनि प्रभावित भएकाले उहाँको परिवारलाई पनि राहतका लागि पहल गर्ने रेडक्रसका मन्त्री भण्डारीले बताउनुभयो ।

यसैबीच पहिरो प्रभावित मल्लोढोलेमा गाउँपालिका, प्रहरी र रेडक्रसको टोलीले संयुक्त रुपमा अनुगमन गरेको छ । सतबाँझ –श्रीभावर सडकखण्ड अन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालय सम्मको सडकका कारण खसेको पहिरोले सो क्षेत्रका ६ परिवारलाई विस्थापित गरेको र अन्य २३ भन्दा बढी परिवार पहिरोको जोखिममा रहेको गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । सडककै कारण ६ परिवार प्रभावित भएकाले उनीहरुको व्यवस्थापनका लागि सबै सरोकारवालाहरुसंग छलफल गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।

उक्त पहिरोका कारण मल्लोढोलेमा खानेपानीको समेत अभाव भएको छ । पहिरोले खानेपानीको मुहान र पाइपहरु बगाउँदा खानेपानीको समस्या भएको स्थानीय नागरीकहरुले बताएका छन् ।