रुकुममा बाल सञ्जालले धमाधम बालविवाह रोक्न थाल्यो

Jun 11, 2018

धनवीर दाहाल । रुकुम । बालबालिकाको संजालले यतिबेला रुकुममा धमाधम आफ्नो उद्देश्यमा रहेर काम गर्न थालेको छ । कुरितिको रुपमा जरो गाढेर बसेको बालविवाहलाई अन्त्य गर्न बाल सञ्जाल क्रियाशिल भएको हो । विवाह रोकथामका लागि जनचेतनामुलक कार्यक्रम तथा घरदैलो गरेपनि नरोकिएपछि विवाह हुने दिन मण्डपबाटै उठाएर आफन्तको जिम्मा लगाउने सम्मका काम गरिएको छ ।

'एकैदिन चार जोडीको विवाह रोकियो'

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकै दिन चार जोडीको विवाह रोकिएको छ । जिल्ला स्थित बाल सञ्जालले उमेर नपुगी गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो । चौरजहारी नगरपालिका-१२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवकका बीच हुन लागेको विवाहलाई रोकेर बाल सञ्जालले उनीहरुलाई आफन्तको जिम्मा लगाएको वडा नं १२ का वडाध्यक्ष एवं बाल सञ्जाल संरक्षण समितिको अध्यक्ष मनमोहन शाहले जानकारी दिनुभयो । यसै गरी यस्तै, वडा नं १४ का १८ बर्षिय युवक र सल्यान ढाकाडामकी १६ वर्षीया किशोरीका बीच भएको विवाह तथा चौरजहारी नगरपालिका-१० का किशोर किशोरीका बीच हुन लागेको विवाह समेत बाल सञ्जालले रोकेर उनीहरुका आफन्तका जिम्मा लगाइएको छ । यसैगरी वडा नं-१३ का १७ बर्षिय युवक र १७ वर्षकै युवतीका बीचको विवाह समेत बाल सञ्जालले रोकेको शाहले बताउनुभयो । उनीहरुले उमेर नपुगेर विवाह गर्न खोजेकोले रोकेर वडा कार्यालयको रोहवरमा आफन्तको जिम्मा लगाइएको हो ।
“नगरपालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउनका लागि बाल सञ्जाललाई सक्रिय पारेका छौँ,” शाहले भन्नुभयो । रुकुमेली समाज विकास केन्द्रले यस क्षेत्रमा विगत दुई वर्षदेखि बाल सञ्जाल मार्फत कार्यक्रम गर्दै आएको छ । रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले वालसंजालको यो अभियानलाई संस्थाले साथ दिने बताउनुभयो ।