सुत्केरी महिलालाइ खान दिइदैन दुधदही

ममता भट्ट
बैशाख २९, डडेल्धुरा

डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका क्षेत्र भित्रै सुत्केरी महिलालाई गाईभैंसीको दूध नदिइने गरेको पाइएको छ । सुत्केरी महिलालाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैसीलाई रोग लाग्ने रुढीवादी परम्परा समाजमा विद्यमान रहेको छ ।

अमरगढी नगरपालिक स्वास्थ्य शाखाको आयोजनामा आइतबारदेखि सुरु भएको ३ दिने पोषण तालिममा सहभागी भएका स्वास्थ्यकर्मीले सदरमुकाममै सुत्केरीले पोषणयुक्त खानेकुरा अन्र्तगत दूध दहि नपाउने गरेको बताएका छन । सुत्केरी महिलाका लागि अत्यावश्यक पोषणयुक्त खानेकुरा उनिहरुले नपाएको सहत्रलिङ स्वास्थ्य चौकी राइकी अनमी तुलसी भट्टले बताउनु । 

‘गाँउ तिर त धेरै छ तर यही नगरपालिका भित्र समेत सुत्केरीलाई घरमा पालेको गाइभैसीको दूध दिइँदैन ।’ भट्टले भन्नुभयाे–‘बरु उनिहरुले दुध बजारमा लगेर बेच्छन तर गाई बिग्रीन्छ भनेर सुत्केरी भएकी बुहारी–छोरीलाईु दूध खुवाउँदैनन ।’ ‘हामीले सुत्केरीलाई पोषणयुक्त खानेकुरा खुवाउनु भनेर सम्झाई बुझाई गरेर पठाउछौ तर घरमा गएर उनिहरुले त्यसो गर्दैनन’ भुमीराज स्वास्थ्य चौकीकी अनमी शान्ति भट्टले भन्नुभयाे ।

‘नगरक्षेत्र भित्रनै सुत्केरीलाई घरको तल्लो तलामा रहेको गोठमा राखिन्छ, कतिपय ठाँउमा त गाईभैसीको गोठमा समेत राखिने गरिन्छ ।’ माथिल्लाे तलामा राखे देउता रिसाउँछन भन्ने भनाइ रहेकाले यस्तो परम्परा कायम रहेको बुझाइ छ ।

सुत्केरी महिलालाई पोषणयुक्त खानेकुराबाट बञ्चित गर्दा बालबालिकामा कुपोषण देखिने अमरगढी स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले बताउनुभयाे । महिला सुत्केरी हुँदा झन बढी मात्रामा पोषीलो खानेकुरा आवश्यक पर्ने उहाँको भनाइ छ ।

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाका २६ जना बालबालिकामा कडा कुपोषण देखिएको एक तथ्याङ्कले देखाएको छ । नगरपालिको पछिल्लो तथ्याङ्कअनुसार नगरपालिकाभित्र रहेका ५ वर्षमुनिका २ हजार ४ जना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने २३५ बालबालिकामा मध्य शीघ्र कुपोषण देखिएको अमरगढी स्वास्थ्य शाखा प्रमुख पनेरुले जानकारी दिनुभयाे ।