जिल्ला प्रशासन ओखलढुङ्गाको २४ घण्टे हटलाईन सेवा सञ्चालन

ओखलढुङ्गा । साउन २५, २०७७ ।  जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले भदौ १ गते देखी २४ घण्टे हटलाईन सेवाको सुरुवात गर्ने भएको छ । जिल्ला प्रशासनको लामो प्रयास पश्चात नागरिकहरुको गुनासो सुन्नका लागि २४ घण्टे हटलाईन सेवा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

हटलाईन सेवा २४ घण्टा नै सञ्चालनमा आएपनि नागरिकहरुले निश्चित प्रकारका गुनासो मात्रै राख्न सक्नेछन् । जसमा शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह र विपद्सँग सम्बन्धित गुनासोहरु राख्न सकिने छ । हटलाईन सेवा सञ्चालनका लागि जिल्ला प्रशासनले दुईजना कर्मचारीको नियमित ब्यबस्था गर्ने जनाएको छ ।

हटलाईन सेवामा रातको समयमा आएका गुनासालाई रातमा सम्बोधन गर्न सकिने र पर्ने भए तत्काल र नपर्ने भए त्यसको भोलि पल्ट गुनासोको सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । नागरिकहरुको गुनासाका बारेमा जिल्ला प्रशासनको तर्फवाट भएका प्रगतीको बारेमा समेत गुनासो कर्तालाई हटलाईन मार्फत नै जानकारी गराईनेछ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नागरिकको गुनासोका आधारमा तत्काल नै जिल्ला प्रशासनले एक्सन लिनेछ ।

नागरिकको गुनासो सुन्न र आपत परेका बेलामा तत्काल उद्दारका लागि खटिन जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले ०३७ ५२०७३३ नम्बरको हटलाईन फोनको व्यबस्था गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।