रामेछाप बन्यो देशको ५३ औँ र प्रदेशको साँतौ खुल्ला दिसामुक्त जिल्ला

जेठ २७,रामेछाप । रामेछाप जिल्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । आईतबार सदरमुकाम मन्थलीमा भएको एक विशेष कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेलले रामेछापलाई नेपालका ५३ औ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेका हुन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रामेछापको आयोजनामा जिल्लालाई खुल्लादिशामुक्त भएको घोषणा गरिएको हो ।

यो संगै रामेछाप जिल्ला प्रदेश नम्बर ३ को साँतौ खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । जिल्लाको सवै स्थानीय तहका ६४ वटै वडामा करिव ४८ हजार १ सय ९२ घरमा शौचालय बनेर प्रयोगमा आएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोक बहादुर चौलागाईले जानकारी दिए । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जिल्ला खुल्ला दिशामुक्त घोषणा हुनु निकै खुशीको कुरा भएपनि जिल्ला सरसफाईको क्षेत्रमा अझै धेरै काम गर्न आवश्यक रहेको बताए ।

जिल्लाको अधिकांश ठाउँहरु सुख्खाग्रस्त रहेकाले त्यस्ता ठाउँमा पानीको व्यवस्थापन गरी बनेका सौचालयहरुको प्रयोगलाई सबैले ध्यान दिनुपर्ने उनको भनाई छ । कार्यक्रममा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि सहयोग गर्ने विभिन्न सरकरी तथा गैह्रसरकारी संस्था र विभिन्न व्यक्तिहरुलाई प्रमाणपत्रले सम्मान पनि गरिएको छ ।