कैलालीका किसानलाई गहुँ भित्र्याउन चटारो

Apr 16, 2021
वीरेन्द्र शाह वैशाख ०३ सुखड– कैलालीका किसानलाई गहुँ भित्र्याउने चटारो बढेको छ । जिल्लाका विभिन्न ठाउँका किसानहरू गहुँ भित्र्याउने चटारोमा लागेका छन् । कात्तिक, मङ्सिर महिनामा धान काटेपछि खेतमा लगाइएको गहुँ अहिले भित्र्याउने बेला भए पछि व्यस्त भएको देखिन्छ ।
 
पश्चिम तराईको अन्न भण्डार मानिने जिल्लाहरूमा यति खेर अधिकांश किसानहरू गहुँ काटेर भित्र्याउने चटारो बढेको छ । कोही घर परिवारकै सदस्य मिलेर परम्परागत ढङ्गले काटेर खेतमा थुपारिरहेका छन् भने कोही आधुनिक कृषि औजारको प्रयोगबाट गहुँ भित्र्याउन लागिपरेका छन् । कृषिमा यान्त्रीकरण बढ्दै गएपछि यस क्षेत्रका किसानले रिपर र कम्पाइनको प्रयोग गरी गहुँ भित्र्याउने गरेका छन् ।
 
पछिल्लो समय प्रबिधिको विकास भए सँगै कृषिमा यान्त्रीकरणको काम बढ्दै गएको छ । गाउँ घरका अधिकांश किसानहरू आधुनिक कृषि औजारको प्रयोग गरेर गहुँ भित्र्याउने गरेको जोशीपुरका किसान विनोद चौधरीले बताए । थोरै जमिन भएका किसानले हँसियाले गहुँ काट्ने गरेता पनि धेरै जसो किसानहरूले आधुनिक कृषि औजार प्रयोग गरेर गहुँ भित्र्याउने गर्ने गरेको उनले जानकारी दिए ।
 
काम छिटो छरितो हुने भएकाले किसानहरूले आधुनिक कृषि औजार प्रयोग गर्ने गरेका छन् । कैलालीमा गहुँ खेतीका लागि अनुदान तथा सिँचाइको व्यवस्था पनि गरिएपछि गहुँ खेती विस्तार हुँदै गएको छ । यो वर्ष गहुँको उत्पादन बढ्ने अनुमान कृषि ज्ञान केन्द्र कैलालीले गरेको छ । यस वर्ष गहुँ बाली राम्रै देखिएकाले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले जानकारी दिए ।
 
किसानहरूले गहुँ काट्ने काम गरिरहेको हुँदा उत्पादनको डाटा आउन केही समय लाग्ने शर्माले बताए । कैलालीमा करिब ३४ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गर्ने गरिएको छ । करिब १ लाख ८ हजार ८ सय टन गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । जिल्लाका धेरै क्षेत्रमा घर निर्माण भएर खेतीयोग्य जमिन घट्दै गएको छ । यो वर्ष सरकारले प्रतिक्विन्टल गहुँ खरिद मूल्य ३ हजार १११ रुपैयाँ निर्धारण गरेको छ ।